‘उल्टो सुल्टो’ ले पूरा गरे २ सय भाग‚ यसरी मनाए खुसीयाली

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
182 Shares
काठमाडौं

नेपाली टेलिचलचित्र ‘उल्टो सुल्टो’ ले प्रसारणको २ सय भाग पुरा गरेको उपलक्ष्यमा कलाकार तथा शुभचिन्तकहरूबिच खुसीयाली साटासाट गरेका छन् । शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले खुसीयाली साटासाट गरेका हुन् ।

कार्यक्रममा निर्देशक तथा कलाकार रबी डङ्गोलले सबैको साथ सहयोगले हामी आज २ सय भागसम्म आइपुग्न सफल भएको बताए । उनले आफूहरूको सानो कोसिसलाई निरन्तर साथ र हौसला प्रदान गर्ने मिडियाहवका सञ्चालक सोम धिताललाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।उनले दर्शकहरूको साथ सहयोग रहे टेलिफिल्मले अझै धेरै सफलता प्राप्त गर्न सक्ने बताए ।

यस्तै कलाकार एवं कार्यकारी निर्माता बालदिप राईले आरोह अवरोह पार गर्दै टेलिफिल्मलाई २ सय भागसम्म पुर्‍याउन सफल भएको बताए । उनले विविध बाधा अड्चनबिच पनि आफूहरूले निरन्तर टेलिफिल्म छायाङ्कन र प्रसारण गर्दै आएकोले पनि आफूहरूलाई सफलता मिलेको बताए ।

यस्तै कलाकार निशा पाख्रिनले आफू केही भागको लागि भनेर यस टिमसँग अनुबन्ध भएको तर पछि टिम एकदमै राम्रो लागेकोले निरन्तर काम गरेको बताइन् । आफ्नो कलाकारिता यात्रामा उल्टो सुल्टोले नयाँ पहिचान दिएको पाख्रिनको भनाई थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा निर्देशक श्याम राई, कलाकार पल्पसा डङ्गोल, कलाकार श्री प्रसाद थापालगायतले टेलिफिल्म निर्माण टिमलाई सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपालका वरिष्ठ तथा चर्चित कलाकारहरूको सहभागिता रहेको थियो ।

टेलिफिल्ममा रबी डङ्गोल, बालदिप राई, सुवास गजुरेल, श्याम राई, निशा पाख्रिन, सुशीला निरौला, सुनिता श्रेष्ठ, रक्षा गुरागाईँ, मनोज तामाङ, मुकेश हमाल, मिना लामालगायतका कलाकारको अभिनय रहेका छन् ।

दिलीप बिष्टको छायाङ्कन रहेको टेलिफिल्म हरेक शनिवार बेलुकी रमाइलो टेलिभिजन र मिडियाहवको अफिसियल युट्युब च्यानल मार्फत प्रसारण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका