मङ्सिर ४ निर्वाचन : दोलखामा गठबन्धनबाट काँग्रेसको भागमा कति ? आकाङ्क्षी आधा दर्जन बढी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
161 Shares
काठमाडौं

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बढिरहेको  छ। निर्वाचन नजिकिँदै गर्दा दोलखामा पनि चुनावी माहौल तातिरहेको छ ।

दोलखामा काङ्ग्रेसबाट उम्मेदवारको आकाङ्क्षी देखिएका ७ जना रहेका छन् ।  केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पार्टीका समानुपातिक सांसद जिपछिरिङ लामा‚ कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पार्टी जिल्ला सभापति बर्मा लामा, बागमती प्रदेशका कार्य सम्पादन समिति सदस्य प्रभुराम श्रेष्ठ, पूर्व सभापतिहरू ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का रहेका छन् । उनीहरू सबैको दाबी सङ्घीय सांसदका लागि हुन् ।

सांसद लामाले आफू चुनाव नलड्ने बताउँदै आएका छन् । दोलखाको संसदीय राजनीतिमा जनमतको हिसाबले पार्टीभित्र सबैभन्दा लोकप्रिय रहेका उनलाई निर्वाचन लड्न नेता र कार्यकर्ताको भने दबाब रहेका छन् ।

नेविसंघ भित्रको विवाद, विश्व विद्यालयहरूमा चलेको विद्यार्थी आन्दोलनको व्यवस्थापनमा भूमिका खेलेका कुन्दनराज काफ्ले दोलखामा युवाहरू माझ लोकप्रिय छन् । जिल्लावासी र कार्यकर्ताको काममा उतिकै सक्रिय रहेका उनी सङ्घीय सांसदको सशक्त दाबेदार हुन् ।

सक्रिय सञ्चारकर्मी एवं पार्टी केन्द्रीय सदस्य शिवाकोटी प्रतिनिधि सभाको उम्मेदवारका लागि बलियो दाबेदार हुन् । लामो समयको पेसागत राजनीतिबाट भूगोलको राजनीतिमा जोडिएको ‘फ्रेस अनुहार’ सँगै उनले टिकट पाउनुपर्ने कार्यकर्ताहरू दाबी गर्छन् । गगन थापाको निकट र देउवासँग नजिक रहेकाले उनले केन्द्रबाट टिकट लिएर आउने अनुमान सबैले गरेका छन् ।

जिल्लामा ३० वर्षपछि काँग्रेसलाई स्थानीय चुनावबाट पहिलो दल बनाएको, २०७४ को प्रतिनिधि सभा चुनावको तुलनामा करिब १३ हजार मत बढाएकोले पनि पार्टीका जिल्ला सभापति लामाको बलियो दाबेदार रहेको छ । माओवादी र एमाले बिच गठबन्धन हुँदा २०७४ को निर्वाचनमा लामा दोलखा ‘क’ बाट प्रदेश सभा निर्वाचनमा होमिएका थिए । यस्तै सोही वर्षको मेलुङ गाउँपालिका अध्यक्षसमेत उम्मेदवार पाएका उनले झिनो मतान्तरले पराजित भएका थिए ।

लामा पछिल्लो समय पार्टी सभापति देउवा सहितका नेताहरूसँग पटक पटक भेटेर दोलखालाई कांग्रेसको भागमा पार्न दबाब बढाउँदै आएका छन् ।

प्रतिनिधि सभाको टिकटका दाबेदारमा प्रभुराम श्रेष्ठ पनि रहेका छन् । व्यवसायिक पृष्ठभूमिका उनी समाजसेवाका कारण जिल्लाभर चर्चित छन् । सामाजिक गतिविधि र दोलखाको पार्टी राजनीतिभित्र शक्तिशाली बन्दै गएसँगै उम्मेदवार बन्ने शत प्रतिशत रहेको उनको आङ्कलन छ ।

यस्तै निवर्तमान सभापति ताराबहादुर कोइरालाले समेत निर्वाचनमा सशक्त दाबेदार प्रस्तुत गरेका छन् । पार्टीको चार पटक जिल्ला सभापति बनेका उनी जनमतका हिसाबले लोकप्रिय रहेका छन् ।  उनी कोइराला समूहका निकट हुन् ।

यसै गरी प्रतिनिधि सभाको टिकटका लागि  पूर्व जिल्ला सभापति खड्का पनि दाबी गर्दै आइरहेका छन् ।

उनी २०७४ को सङ्घीय निर्वाचनमा माओवादी र एमालेबिच गठबन्धन हुँदा पार्टीबाट सङ्घीय सांसदको उम्मेदवार बनेका थिए । उनी भन्छन्‚‘ अप्ठ्यारो परिस्थितिमा आफूलाई पार्टीले उभ्याइएको तर अहिले गठबन्धन भई सहज बेलामा आफूले टिकट पाउनुपर्ने दाबी छ ।’

दोलखामा काँग्रेसको भागमा सङ्घीय सांसद पर्दा जिपछिरिङ लामाले निर्वाचन उठ्न चाहेमा उनले टिकट पाउने सहज अनुमान कतिपय जिल्ला नेताहरूले गर्ने गरेका छन् ।

दोलखामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा र प्रदेश सभामा दुइटा रहेका छन् ।

यस्तै यसवर्षको निर्वाचनमा सत्तासँग गठबन्धन गरिरहेका माओवादी र काँग्रेसले दोलखाबाट काँग्रेसको भागमा कुन सभाको टिकट पाउने ? त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन तर  आकाङ्क्षीमा भने आधा दर्जन बढीको रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका