दोलखाको चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ३ जनामा डेङगु सङ्क्रमित बिरामी पुष्टि भएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये तीन जनामा डेङगु सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर ७ का एक जना महिला, एक जना पुरुष र एक जना बच्चामा गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका एमडिजिपि डाक्टर विनोद दंगालले जानकारी दिए । उनका अनुसार सङ्क्रमण पुष्टि भएका तीनै जनाको पशुपति चौलागाईं अस्पतालमा उपचार भइरहेको छ ।
एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुआती लक्षण हुन् । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।
डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने पर्ने स्वास्थ्यकर्मीहरूको भनाई रहेको छ ।