तामाङ चलचित्र सङ्घको २७ औँ प्रदर्शन दिवस तथा तथा टिएफआर सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । बिहीबार सम्पन्न कार्यक्रममा सेमरी छोरङानका कलाकार रोज मोक्तानलाई सम्मान गर्दा निर्देशक स्वर्गीय जयनन्द लामाप्रति श्रद्वासुमन (मौनधारण) समेत नगरेको भन्दै अपमान भएको गुनासो आएका छन् ।
यसमा स्व. लामाप्रति अपमान भएको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै दुखेसो पोखेका छन् ।
तामाङ पत्रकार सङ्घ बागमती प्रदेशका अध्यक्ष एवं सञ्चारकर्मी अर्जुन पाख्रिनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्‚‘तामाङ चलचित्र सङ्घको ‘प्रदर्शन दिवस’ भव्य रूपमा सम्पन्न भयो भन्ने लाग्छ । प्रदर्शन दिवस हेरियो, देखियो र महसुस गरियो ।
विशेष गरी तामाङ भाषा, संस्कृति, कला, मिथक, अभिनय, मौलिकता, इतिहासलाई प्रखर रूपमा प्रस्तुत गर्ने तामाङ चलचित्रले आज २७औँ दिवस मनाउँदै गर्दा गर्वले आम पाठक दर्शक, श्रोता र कलाकारको छाती स्वाभाविक रूपमा फराकिलो हुन्छ नै र हुनु पर्छ । सम्मान र प्रतिष्ठा आफैमा उच्चो शब्द हो । तर संस्थागत विकास र व्यवहारले लय समाउन सकेन भने खास ठोस सन्देश नदिन पनि सक्छ । तामाङ जातिको मर्मज्ञ, विशिष्ट, प्रतिष्ठित सङ्गीत प्रिय कलाकारहरूले गरेको कार्यक्रम अझ भव्यतासँगै ऐतिहासिक हुनु पर्छ जसले रजत जयन्तीको अर्थ सदैव जीवन्त राख्न सकोस् ।
आजको भव्य समारोह, २०५२ साल भदौ १६ गते स्व।जयनन्द लामाले निर्देशन गर्नु भएको ऐतिहासिक ‘सेमरी छोरङान’ प्रदर्शनी कै कारण मनायौँ । तर, आदरणीय जीवन्त कलाकार स्व। जयनन्द लामाको तस्बिर कहीँ देखिएन । न दर्शकदिर्घा न विशिष्ट व्यक्तित्वहरूको दीर्घामा नै देखियो ।
कार्यक्रममा सानदारका साथ छातीमा हात राखेर राष्ट्रिय गीत गायौँ । यसपछि स्व। जयनन्द लामा प्रति श्रद्धा सुमन हुन्छ, होला भन्ने अपेक्षा थियो । तर, भूल भएको पनि हुन सक्छ भन्ने लाग्यो । तर, देखिएन, डम्फूरेले आफ्नो प्रस्तुति राख्नु भयो । स्वागत नृत्य पनि रोमाञ्चक शैलीमा आयो । तर, जयनन्द लामाको त्यो श्रद्धा सुमनको कार्य तालिका आएन ।
यति मात्रै होइन, संस्थागत पहिचान,वरियताक्रम, मर्यादा र पदीय भूमिका पनि बुझ्न नसक्ने कलाकारहरूले तामाङ भाषा, संस्कृति, कला, मौलिकता, पहिचानलाई कसरी प्रवर्द्धन गर्न सक्छ ?? लास्सो फ्याफूल्जी ।। यो अवसरमा स्व।जयनन्द लामा दाइ प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु ।।’
यस्तै अध्यक्ष पाख्रिनको स्टाटसालाई मेन्सन गर्दै तामाङ कलाकार सङ्घका निवर्तमान अध्यक्ष सञ्जीव वाइबाले लेखेका छन्‚‘ज्ञान , अनुभव र उचित सल्लाहको कमी भएकोले हुनसक्छ पत्रकार महोदय ! किनकि सबै मानिस सबै कुरामा पूर्णता हुन्न र काम गर्दै गर्दा कमजोरी त अवश्य हुन्छन् नै तर ईतिहासको स्मरण गरिरहँदा र उत्सव मनाईरहंदा इतिहासकारलाई नै भुलेको सत्य हो भने चाहिँ त्यो अक्षम्य गल्ती हो । त्यही बेला यो सुझाव दिएको भए अर्थपूर्ण हुन्थ्यो तर सिसी जिन्छी …… मान बिबाह्राङ ताजी ।’
यस्तै कार्यक्रममा भएका गल्तीलाई लिएर सङ्घका अध्यक्ष कुमार मोक्तानसँग फोन सम्पर्क गर्दा उनले स्वर्गीय जयनन्द लामालाई मौन धारण नै गरेर सम्झिनु आवश्यक नरहेको बताए ।
उनले भने‚‘हामीले सेमरी छोरङानका कलाकारलाई ‘जयनन्दश्री रजत सम्मान’ गरेर नै सम्झेका छौँ । त्यसो हुँदा आजको कार्यक्रम उत्सवमय हुँदा उल्लासमयमा किन दुखततिर फर्किनु भनेर मौन धारण नगरेको हो ।’
अध्यक्ष मोक्तानका अनुसार स्व. जयनन्दलाई बाहिर राखेर कुनै पनि काम गर्न नसक्ने बताए । उहाँलाई संस्थागत नाम दिएकै छन्‚ पटक पटक मौन धारण नै गरेर सम्झिनुपर्ने आवश्यक नरहेको उनको भनाइ थियो ।