नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेले बहुमतको सरकार बनाउने बताएको छ ।
शनिवार सुनसरीको दुहबीमा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई विकास र समृद्धितर्फ अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् । गठबन्धन सरकारले एक वर्षमै देशलाई कङ्गाल बनाउन लागेको अध्यक्ष ओलीको भनाई थियो ।
एमालेको सरकार बनेपछि लिम्पियाधुरा लिपुलेक, कालापानी सहितको हाम्रो भूभाग फिर्ता लिने प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले बताए । ‘रोकिएका विकास निर्माणका कार्यलाई सुचारु गराएर देशलाई समृद्ध बनाइने छ’ उनले भने । ‘सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले दुई पटक जितेर पनि हार्नुपरेको छ ।’
प्रहरी प्रशासन, राज्य शक्तिको दुरुपयोग गरेर बाकस साटेर, धाँधली गरेर, चौधरीलाई जित्दा जित्दै हराएको उनको भनाई थियो ।
उनले राष्ट्रसेवक कर्मचारीलाई निष्पक्ष हुन आग्रह गर्नुका साथै पार्टीका कार्यकर्तालाई जनताले दिएको मतको सुरक्षा गर्न निर्देशन दिए । उनले भने–‘जनताले दिएको मतको सुरक्षा गर्न एमाले कार्यकर्ता गड्यौलो जस्तो बन्ने होइन यसो छुने बित्तिकै लुसुक्क पछि सर्ने, दुई वटा दाँत भएको कहिले काहीँ डस्ने खालको हुनुपर्यो ।’
एमाले केन्द्रीय सदस्य भगवती चौधरीले आफूले दुई पटक निर्वाचनमा जितेर पनि अनेक जालझेल र षडयन्त्र गरेर हराइएको बताए । सुनसरी–३ का जनता परिवर्तन, विकास र समृद्धिको पक्षमा रहेको हुनाले विकास र समृद्धिको नेतृत्वका लागि एमालेलाई जिताउन यहाँका जनता मङ्सिर ४ को पर्खाइमा रहेको बताए ।
दुई हजारभन्दा बढी एमाले प्रवेश
कार्यक्रममा अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट एमाले प्रवेश गर्ने व्यक्तिहरूलाई स्वागत गरे ।
आज काँग्रेस नेता अशोक केसी, अमडुवाका पूर्व गाविस अध्यक्ष रामसेवक यादव, अमडुवाकी पूर्व वडाध्यक्ष शोभादेवी ऋषिदेव लगायत दुई हजार भन्दा बढी मानिस एमाले प्रवेश गरेका छन् ।
एमाले विकास प्रेमी पार्टी
तीस वर्ष लामो जन्जिर तोड्दै ३६ वर्षको काँग्रेस राजनीति परित्याग गरी एमाले प्रवेश गरेको नवप्रवेशी अशोक केसीले बताए ।
साबिकको सोनापुर गाविस नेपाली काँग्रेसको सभापति रहेका केसीले राष्ट्रप्रेमी ऐतिहासिक व्यक्तित्व केपी शर्मा ओलीबाट खादा लगाई एमाले प्रवेश गर्न पाउँदा आफूलाई गर्व लागेको उनले बताए ।
एमाले जत्तिको विकास प्रेमी र शक्तिशाली पार्टी कुनै पनि नरहेको केसीको भनाई थियो । तीस वर्षसम्म एकै जना व्यक्तिलाई जिताए पनि सुनसरी– ३ ले विकासमा गति लिन नसकेको उनको भनाई थियो ।