श्री एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा हवाइभाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
घटस्थापनाको दिन अर्थात् आगामी १२ गतेदेखि लागू हुने उक्त सहुलियत ७५ वर्ष उमेर पुगेका नेपालीले पाउनेछन् । कम्पनीका प्रबन्धक
अनिल मानन्धरका अनुसार ८५ वर्ष उमेर पुगेका नागरिकले थप सहुलियत पाँच सय रुपैयाँमै यात्रा गर्न पाउनेछन् । बाँकी हवाइ भाडा र इन्धन चार्ज छुट हुने कम्पनीले जनाएको छ ।
७५ वर्ष पुगेकाको हकमा भने हवाइ भाडामा ५० प्रतिशत छुट भए पनि इन्धन चार्ज र करमा छुट नपाइने कम्पनीले जनाएको छ ।
यात्रा गर्ने व्यक्तिले अफ्नो उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेस गरी यो सुविधा लिन पाइने कम्पनीले जनाएको छ । सहुलियत टिकट एयरलाइन्सको बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेबसाइटबाट मात्र उपलब्ध हुनेछ ।
एप वा वेबसाइटबाट खरिद गरेका टिकटहरुको हकमा चेक इनका बखत उमेर खुल्ने आधिकारिक प्रमाण पेश गर्नु पर्ने र नभएमा वा प्रमाणमा उमेर ७५ वा ८५ भन्दा कम भएमा उडान अनुमति नदिइने पनि कम्पनीले जनाएको छ ।
यसअघि नेपाल वायुसेवा निगमले पनि ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा विमान सेवा प्रदायकहरुलाई ज्येष्ठ नागरिकलाई हवाइ भाडामा आधा छुट दिन आग्रह गरेका थिए ।