नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री र लेखक आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक सार्वजनिक भएको छ। शुक्रवार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा लेखक आमाबुबा लगायत केन्द्रस्तरीय नेताहरुको उपस्थितमा पुस्तक लोकार्पण गरिएका हुन् ।
जनविचार पब्लिकेसनद्वारा प्रकाशित पुस्तकमा मन्त्री पोखरेलले विभिन्न समयमा लेखेका वैचारिक लेख समावेश छन्।
पुस्तकबारे पूर्वराजदूत निलाम्बर आचार्यले टिप्पणी गर्नेछन्। पुस्तकका बारे जानकारी गराउँदै लेखक पोखरेलले पुस्तकका ६ वटा खण्ड रहेको बताए ।
उनले आफ्नो लेखकीयमा जीवन भोगाइका स्मरण गरेका छन्‚‘सधैँ सहयोगी बनेर सघाउने मेरो हजुरबुबा जगन्नाथ पोखरेल म जेल पर्दाको पीडामा हाँसिहाँसी मृत्युवरण गर्नभयो । मेरो परिवारलाई पीडा माथि पीडा थप्दै पञ्चायती शासकहरूले मेरी आमा रनधाता पोखरेल, बुबा इन्द्रप्रसाद पोखरेल र श्रीमती मिठु पोखरेललाई धम्क्याउँदा पनि सहज ढङ्गले ूउसले सबैलाई बराबरी न्याय हुनुपर्दछ र पञ्चायतको स्थानमा बहुदल हुनुपर्दछ भनेको न हो, कसैको ज्यान त मारेको होइन निु भनेर प्रतिवाद गरे । कहिल्यै निरंकुशतन्त्रसँग झुकेनन् । मेरा परिवार जसले सबै खाले बाधालाई आत्मसात् गरेर म हिँडेको कम्युनिस्ट आन्दोलनको बाटोमा भरोसा र विश्वासको साथै योग्य कमरेड भएर पार्टी काममा लागे । भूमिगत बेलाको पार्टी र पार्टी नेतृत्वलाई जोगाउने आश्रयदाता मात्र नबनी मेरो परिवार पार्टी निर्माणको असली हकदार र मेरो राजनीतिक जीवनको थाग्रो बन्नुभयो । उहाँहरूको प्रेरणा तथा सहयोगले म आज यो समाजमा सत्य र निष्ठाको बाटोमा अविचलित भएर हिँड्न सकेको छु । उहाँहरू प्रति गर्व गर्दै हार्दिक नमन गर्दछु ।
उहाँहरूकै कारणमा नै मेरो अस्तित्व अडेको छ । राजनीतिक र सांगठानिक जीवनमा प्रेरणा सहयोग प्रदान गर्ने धेरै कमरेडहरू हुनुहुन्छ । २०३४ सालदेखि नै उहाँहरूको सहयोग सहकार्य र हातेमालो गर्दै राजनीतिक परिवर्तनको यात्राको ४५ वर्ष बितेको छ । यस अवधिमा धेरै सङ्घर्ष भोगाई, यातना, जल जीवन सहितको यात्रामा पञ्चायतको अन्त्य, राजतन्त्रको अन्त्य, नेपालको संविधान २०७२ को निर्माण, घोषणामा सहभागी र नेतृत्व गर्न पाएको छु । मेरा नेताहरू, सहयोद्धा कमरेडहरू र दोलखाली जनताको साथ, सहयोग, प्रेरणा र समर्थनले यात्राको या विन्दुमा आइपुगेको छु । ’
पुस्तकमा विशेष गरी राजनीतिक र आर्थिक विषयलाई केन्द्रमा राखेर लेखिएका लेख समावेश छन्। दोलखामा एमालेको राजनीति, दोलखाको विकासमा भएका प्रयास, अन्य राजनीतिक दलसँग एमालेको सम्बन्धलगायत पक्षलाई पनि पुस्तकमा उजागर गरिएको छ।
गोविन्द दुलालले सम्पादन गरेको ३९२ पृष्ठको पुस्तकमा ७२ लेख समेटिएका छन्। पुस्तकको सर्वाधिकार प्रकाशन संस्थालाई दिएको छ ।
प्रकाशन संस्थाले लेखक पोखरेललाई अभिनन्दन पनि प्रदान गरेका छन् ।