राष्ट्रसङ्घ भन्छन्: मानव विकास पछाडि फर्कियो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
7 Shares
काठमाडौं

संयुक्त राष्ट्रसङ्घले यो साता जारी गरेको मानव विकास सूचकाङ्कमा नेपाल १४३ औ स्थानमा छ। यसमा नेपालले ०.६०२ अङ्क पाएको छ जसको अर्थ नेपाल मध्यम मानव विकास भएको देशको श्रेणीमा पर्छ। सन् २०१८ मा नेपालको अङ्क ०.६०१ थियो भने सन् २०१९ मा ०.६११ पुगेको थियो तर कोभिड महामारीका कारण आम मानिसको स्वास्थ्य, शिक्षा र जीवनस्तरमा नराम्ररी प्रभावित भएका कारण सन् २०२० मा त्यो अङ्क ०.६०४ मा झरेको थियो भने सन् २०२१ मा ०.६०२ मा झर्‍यो।

विश्वका १९१ देश र क्षेत्रका लागि जारी गरिएको यो मानव विकास सूचकाङ्क ( ह्युमन डेभपलपमेन्ट इन्डेक्स- एचडीआई ) मा उत्तरी छिमेकी चिन ७९ र दक्षिणी छिमेकी भारत १३२औँ स्थानमा छन्। दक्षिण एसियामा भुटान १२७ मा बङ्गलादेश १२९ पाकिस्तान १६१ स्थानमा रहेको छ।

स्मरणीय के छ भने नेपाल वा भारत मात्रै होइन विश्वका ९० प्रतिशत देशको स्थिति यस पटक सार्वजनिक गरेको मानव विकास सूचकाङ्क (एचडीआई) मा खस्केको देखिएको छ। यसले विश्व दिगो विकास लक्ष्य हासिल गर्न एक पटक पछि परेको प्रस्ट देखाउँछ।

संयुक्त राष्ट्रसङ्घले जारी गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार पछिल्लो ३२ वर्षमा पहिलो पटक यस सूचकाङ्कमा यस्तो गिरावट आएको हो। प्रतिवेदनका अनुसार पछिल्लो दुई वर्षयता विश्वभर स्वास्थ्य, शिक्षा, आम्दानी र जीवनस्तरमा ह्रास आएको छ। वास्तवमा मानव विकासको प्रगति पाँच वर्षको गिरावटसँगै २०१६ को स्तरमा फर्किएको छ।

रिपोर्टका अनुसार कोभिड–१९ सँग सम्बन्धित कारकहरू, युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तन र वातावरण यसका लागि जिम्मेवार छन्। यी सबै मिलेर मानिसको जीवनमा ठुलो प्रभाव पारेको छ र मानव विकासमा दशकौँको प्रगतिलाई उल्ट्याएको छ। प्रतिवेदनका अनुसार राजनीतिक, आर्थिक र जलवायु सम्बन्धी सङ्कटले कोरोनाबाट पीडित जनतालाई मौका दिएको छैन।

यस सम्बन्धमा युएनडिपीका प्रशासक अचिम स्टेनर भन्नुहुन्छ, “विश्व एकपछि अर्को सङ्कटबाट पार पाउन सङ्घर्ष गरिरहेको छ। हामीले दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र ऊर्जा सङ्कट देखेका छौँ, जबकि हामीले जीवाश्म इन्धनलाई अनुदान दिने जस्ता द्रुत समाधानहरूमा ध्यान केन्द्रित गरेका छौँ, यी तत्काल राहतले दीर्घकालीन प्रणालीगत उपायहरूको मार्गमा बाधा पुर्‍याइरहेको छ।”

मानव विकास सूचकाङ्कले मानव विकासका तीन प्रमुख आयाम, स्वस्थ र दीर्घायु, शिक्षामा पहुँच र जीवनको गुणस्तरलाई मापन गर्छ। यी चार प्रमुख सूचकहरूको आधारमा गणना गरिन्छ: औसत आयु, औसत विद्यालय शिक्षा, विद्यालय शिक्षाको अपेक्षित वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय।

यी तीन प्रमुख आयामहरूलाई हेर्दा, मानव विकास सूचकाङ्कमा हालै आएको गिरावटका लागि औसत आयु कम हुनु नै मुख्य रूपमा जिम्मेवार छ। तथ्याङ्कअनुसार २०१९ मा विश्वव्यापी रूपमा मानिसको औसत उमेर ७२.८ वर्ष रहेको थियो भने २०२१ मा १.४ वर्षले घटेर ७१.४ वर्षमा झरेको छ।

यस हिसाबले नेपालीको औसत आयु ६८.४ वर्ष पुगेको छ भने औसत विद्यालय शिक्षा १२.९ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ५.१ वर्ष मात्र छ। अर्कोतर्फ हाम्रो देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब ३ हजार ८ सय ८७ डलर छ जबकि भारतमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब ६ हजार ५ सय ९० डलर रहेको छ। नेपाली महिलाको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ३ हजार ६ सय ७७ डलर छ भने नेपाली पुरुषको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४ हजार ९५ डलर छ।

विश्वका अन्य देशको कुरा गर्ने हो भने यो वर्ष स्विट्जरल्याण्ड कूल ०.९६२ अङ्कसहित मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा रहेको छ। जहाँ औसत आयु 84 वर्ष हो। अर्कोतर्फ, शिक्षाको कुरा गर्ने हो भने, एक व्यक्तिले औसतमा १३.९ वर्ष शिक्षा लिन्छ भने विद्यालय शिक्षाको आवश्यक वर्ष १६.५ वर्ष हुन्छ। त्यस्तै, त्यहाँको औसत व्यक्तिको कुल राष्ट्रिय आय ६६ हजार ९३३ अमेरिकी डलर छ।

यसको विपरीत, दक्षिण सुडान यस सूचकाङ्कमा सबैभन्दा तल्लो तहमा १९१ औँ स्थानमा पुगेको छ। दक्षिण सुडानमा, औसत आयु ५५ वर्ष हो, जबकि औसत व्यक्तिको कुल राष्ट्रिय आय केवल ७६८ अमेरिकी डलर छ। त्यस्तै दक्षिण सुडानमा औसत बालबालिका ५.७ वर्षमा विद्यालय जान्छन्।

विश्वव्यापी रूपमा, कतिपय देशहरूमा जनजीवन सामान्य अवस्थामा फर्किँदै गए पनि कतिपय देशको अवस्थामा अझै पनि उल्लेखनीय परिवर्तन भएको छैन। यससँगै मानव विकासमा असमानताको खाडल फराकिलो भएको छ। सन् २०२१ मा महत्त्वपूर्ण आर्थिक सुधार भए पनि विश्वका धेरै देशहरूमा स्वास्थ्य सङ्कट गहिरिएको छ। यी दुई वर्षमा, विश्वका दुई तिहाइ देशहरूले जन्मको आयुमा थप कमी रेकर्ड गरेका छन्।

महामारीले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई मात्र हानी पुर्‍याएको छैन, यसले अर्थतन्त्रलाई पनि ध्वस्त पारेको छ। जसका कारण लैङ्गिक असमानता पनि बढेको छ। उल्लेखनीय कुरा के छ भने यस अवधिमा विश्वव्यापी लैङ्गिक असमानता ६.७ प्रतिशतले बढेको छ।

प्रतिवेदनका अनुसार विगत एक दशकदेखि मानिसमा तनाव, उदासी, क्रोध र चिन्ता बढ्दै गएको छ, जुन अहिले कीर्तिमानी स्तरमा पुगेको छ। अनिश्चितताले भरिएको यस्तो संसारमा यी अन्तर सम्बन्धित चुनौतीहरूको सामना गर्न हामीलाई विश्वव्यापी एकताको भावना चाहिन्छ।

आवरण: मधेस प्रदेशका एक मुसहर बालक। तस्बिर: राजेश घिमिरे

आइएनएस-स्वतन्त्र समाचार

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका