तातोपानी नाका छिट्टै सञ्चालनमा आउने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडौं

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच नयाँ वानेश्वस्थित सङ्घीय संसद् भवनमा मङ्गलवार भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चांग्शुको प्रतिनिधि मण्डललाई सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् भवन बानेश्वरमा स्वागत गरेका थिए ।

सङ्घीय संसद् भवन बानेश्वरमा आजै सुरु भएको दुई पक्षीय वार्तामा राष्ट्रिय सभाको प्रतिनिधि मण्डलको तर्फबाट सभामुखले नेतृत्व गरिएको थियो । त्यस्तै चिनियाँ पक्षबाट राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चांग्शुको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी भएको थियो ।

नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डलमा देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा। वेदुराम भुसाल, प्रमीला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा। विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिव लगायतका पदाधिकारी सहभागी थिए ।

उक्त अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको बिचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय सभाका अध्यक्षले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबिच भएका समजदारीहरुको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको र चीन नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेकोले नेपालको संवृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएको थियो । उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाएको थियो ।

विगतमा भएको बेल्ट एन्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ-काठमाडौ­) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरूले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरू पुनस्संचालन तथा चाडबाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गरेका छन् । यसै गरी चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्षले समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वासन दिएको थियो ।

दुई पक्षीय वार्ता करिब एक घण्टा चलेको थियो । आपसी छलफलको अन्तमा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदान प्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवै तर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो ।

तपाईको प्रतिक्रिया