नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज भएको भेटमा नेपाल र छिमेकी मित्रराष्ट्र चीनबिचको परम्परागत सुमधुर सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो ।
भेटवार्तामा चीनको राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष लीले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको बताए । अध्यक्ष लीले नेपाली भूमि अन्य कुनै पनि मुलुकको विरुद्धका गतिविधि हुन नदिने नीतिका लागि नेपाललाई धन्यवाद दिएको भेटवार्तामा सहभागी एमाले का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा।राजन भट्टराईले बताए ।
उनले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको कार्यकालमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि निर्वाह गरिएको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै राष्ट्रपति सीको नेपाल भ्रमणका समयमा गरिएका सम्झौताहरू कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको स्पष्ट गरे । साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन गर्नका लागि पनि चीन प्रतिबद्ध रहेको बताए ।
भेटवार्तामा उनले राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना सन्देश सम्प्रेषण गरिएको थियो ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिमा मित्रराष्ट्र विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याए ।
अध्यक्ष ओलीले स्वतन्त्र र सार्वभौम मुलुक नेपालको परराष्ट्र नीतिको आधार असंलग्नता रहेको स्पष्ट गर्दै चीनको विकास र प्रगतिमा खुसी व्यक्त गरे ।
अध्यक्ष ओलीले नेपाल र चीनबिचका सीमा नाका खोल्ने निर्णयप्रति खुसी व्यक्त गर्दै यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरे ।
उनले छिमेकी मित्रराष्ट्र चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई छिटै स्वदेश फर्काउन सहयोगका लागि आग्रह गरे । अध्यक्ष ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे ।
चिनियाँ जनकाँग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, परराष्ट्र मामिला विभाग प्रमुख डा।राजन भट्टराई, केन्द्रीय सदस्य कृष्ण केसी, पेम्वा लामा, डा। भीष्म अधिकारी, डा।अन्जान शाक्य र लक्की शेर्पा थिए ।