कोभिड–१९ का कारण पहिलो लहर सुरु भएपश्चात् भएको झन्डै ३/४ महिना लामो लकडाउनका बेला खान नपाएर भोकले छटपटाइरहेका मेरो आफ्नै घर र नजिकैको छिमेकको घरमा रैथाने बस्ने गरेका परेवाहरूको सन्दर्भलाई लिएर एउटा लेख लेखेको थिएँ । यति वेला परिस्थिति बदलिएको छ । केही समय यता कोरोनबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भइरहेको भएता पनि विगतमा झैँ गइभिर प्रभाव परेको अवस्था छैन । यद्यपि सावधानी अपनाउनुपर्ने कुरामा हेलचेक्र्याइँ गर्नु भने हुँदैन ।
आज पनि पुनः म एउटा अशक्त वा अपाङ्ग परेवाको कथा र व्यथालाई समेटेर यो लेख लेख्न गइरहेको छु । मेरो घर जोडिएको छिमेकीकोमा टपमा वासस्थान बनाएर बस्ने र आहारा खानका लागि मेरो घरको छत र टपमा पनि आउने गरेको एउटा परेवा छ, जसको एउटा खुट्टा मात्र रहेको छ । दुई वटामध्ये एउटा खुट्टामा झन्डै १ वर्ष अगाडी चङ्गाको माड लगाएको धागो बेरिएको थियो । छिमेकी र हाम्रो परिवारले उक्त परेवालाई समातेर खुट्टामा बेरिएको धागो निकालिदिनका लागि धेरै पटक प्रयास गर्यौं । पटक पटकको प्रयासबाट पनि हामी असफल भयौँ । दुर्भाग्यवश हामी उसलाई सहयोग गर्न वा अपाङ्ग हुनबाट बचाउन असफल भयौँ । आहारा दिएर झुक्क्याएर समात्न खोज्दा पनि सकिएन ।
हामीसँग त चेतना, बुद्धि, विवेक सवै थोक छ र पनि हामी त्यो परेवाजती पनि सहनशील र धैर्यवान् हुन सकेका छैनौ । हामीलाई ईश्वरले सबै कुरा दिएर पनि केही नभएका जस्ता भएका छौँ ।
दिनप्रतिदिन धागो उसको खुट्टामा गाडिँदै गइरहेको थियो । बढ्दै गइरहेको उसको पिडाले हामीलाई पनि पिडा बोध भइरहेको थियो । उसको पिडा हाम्रो पनि चिन्ताको विषय बनिरहेको थियो । तर के गर्ने ? त्यो उसको पिडालाई चिसो मन बनाएर टुलुटुलु हेर्नुको विकल्प पनि त थिएन । जब धागो भित्र भित्र गाडिन थाल्यो, उ छटपटिँदै अर्को सध्य खुट्टा र चुच्चोको सहयोगले धागो निकाल्ने प्रयास गर्न थाल्यो । उ जति प्रयास गर्थ्यो उति धागो कस्सिँदै जान्थ्यो र खुट्टा काटिँदै जान्थ्यो । अन्ततः उसको एक्लो प्रयास असफल भयो र लामो समयपश्चात् उसको खुट्टा चुँडिएर गयो । उ पूर्णरुपमा अपाङ्ग भयो ।
सायद चेतना भएको भए र मानिसप्रतिको उसको डर, त्रास, भय नभइदिएको भए ऊप्रतिको हाम्रो सद्भाव, सहयोग, करुणा पक्कै पनि कामयाब बन्थ्यो होला । अर्को कुरा चेतना भइदिएको भए त उसका पनि परिवार थिए होलान् । साथीभाइ थिए होलान् । उनीहरूले पनि पक्कै सहयोग गर्थे होलान् । तर विडम्बना सहयोग गर्ने कुरा त परै जाओस् उल्टै उसलाई अरू परेवाहरूले लखेट्ने, खेद्ने काम गरिरहेका हुन्छन् । कति पटक त अरूले खेद्दै गर्दा मैले धपाइदिएको छु ।
यति वेला उ केवल एउटै खुट्टाको सहाराले बाँचिरहेको छ । कमजोरलाई दपेट्ने, हेप्ने प्रवृत्ति उसको समूहमा पनि रहेको छ अन्य प्राणीहरूमा झैँ । उसलाई आहार खान दिइँदैन । सबलाङ्गहरुले, बलियाहरूले उसलाई लखेट्छन् । तर पनि उच्च मनोबलका साथ उसका अरू साथीहरूसँग भिड्दै, लड्दै आहारा खाइरहेको हुन्छ । त्यति मात्र होइन, निहुँ खोज्न आउनेहरूलाई लखेटिरहेको पनि हुन्छ ।
यो एरियाबाट उ धेरै टाढा गएको देखिँदैन । सायद अन्यत्र अपरिचित स्थानमा जाँदा असुरक्षित महसुस हुने भएर पनि होला । अर्को कुरा एउटा खुट्टाले मात्र भर नदिने भएकोले उड्नका लागि ब्यालेन्स नमिल्ने भएका कारण पनि टाढासम्म नउडेको हुन सक्छ । प्रायः दिनभर रातभर एउटै स्थानमा उभिइरहेको हुन्छ । केवल एउटा खुट्टाको सहाराले । सायद एउटा खुट्टाले बस्न असहज भएर पनि होला । हिँड्न त्यति सहज छैन उसलाई । लरखराउँदै हिँड्छ । आहारा खाँदै गर्दा उभिन नसकेर लरखराउँदै लडिरहेको हुन्छ ।
यसरी उसलाई उभिन असहज छ । बस्न असहज छ । उड्न असहज छ । आहारा खान असहज छ । कति कठिन छ उसको जीवनयात्रा ? कति सङ्घर्षसँग बाँचिरहेको छ उ ? अपाङ्ग भएका कारण कुनै समय पनि दुस्मनको सिकार हुन सक्छ उ । कति धरापमा छ उसको जिन्दगी । र पनि परिस्थितिसँग पौंठाजोरी खेल्दै, जुध्दै, चुनौतीहरूको सामना गर्दै जीवन सङ्घर्ष हो, सङ्घर्ष हो जीवन भन्ने सार्वभौम सत्यलाई आत्मसाथ गर्दै सत्तिससाल झैँ उभिएर बाँचिरहेको छ उ । सायद मान्छे भइदिएको भए सहन नसकेर आत्महत्या गरिसक्थ्यो होला ।
हो, अव हामी मानवले यो अपाङ्ग परेवाबाट बाँच्न सिक्नुपर्ने भएको छ । हामीसँग त चेतना, बुद्धि, विवेक सवै थोक छ र पनि हामी त्यो परेवाजती पनि सहनशील र धैर्यवान् हुन सकेका छैनौ । हामीलाई ईश्वरले सबै कुरा दिएर पनि केही नभएका जस्ता भएका छौँ । हामी सङ्घर्ष गर्न चाहँदैनौ । चुनौतीहरूको सामना गर्न चाहँदैनौ । किनकि हामीले मानव हुनुको महत्त्व बुझ्न सकेका छैनौ । र त मूल्यवान् जीवनलाई सानातिना अप्ठ्याराहरूमै सिध्याईदिन्छौं । इच्छा र चाहनाहरू सहजरुपमा उपलब्ध हुन सकेनन् भने, आफूले भनेकोजस्तो भएन भने अप्रिय निर्णय लिन पुग्छौँ । त्यसर्थ अपाङ्ग परेवाबाट सङ्घर्ष गरी बाँच्ने तरिका सिकौँ । प्रतिकुलतालाई अनुकूलतामा बदलेर बाँच्न सिकौँ ।