गोकर्णेश्वर पनि अघि बढ्यो अवैध संरचना हटाउन‚ जोरपाटीको डिजिटल बोर्ड हटाइयो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
काठमाडौं

गोकर्णेशेवर नगरपालिकाले पनि व्यवस्थित नगर बनाउन अवैध संरचना हटाउन सुरु गरेका छन् । नगरपालिकाले जोरपाटीमा रहेका डिजिटल होर्डिङ बोर्ड हटाएका छन् ।

नगर प्रमुख दीपककुमार रिसालका अनुसार अनधिकृत संरचना हटाउने अभियानले सार्वजनिक स्थलमा बनेका घर टहरा‚ बाटो बिचमा बनेका पोल र छरिएका तारहरू व्यवस्थित हुनेछ ।

यस्तै नगरपालिकाको वडा नं ४ ले बुधवार सूचना जारी गरी सात दिनभित्र मापदण्ड विपरीत रहेका सबै घरको छाना‚ टहरा हटाउन निर्देशन गरेका छन् ।

सूचनामा लेखिएको छ‚‘गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को क्षेत्र भित्र आफ्नो घर, टहरा, पसल, कवल, र सटर भन्दा बाहिर पाली निकाल्ने, फुटपाथमा पसल राख्ने, सिडीमा पसल राख्ने र घरको छतबाट पाइप हाली पानी बाटोमा झार्ने र वर्क सप राखी बाटोमा मोटरसाइकल धुने जस्ता कार्यहरू वातावरण प्रतिकुल र मापदण्ड विपरीत हुने भएकाले यस्ता कार्यहरू आजको मितिले ७ दिन भित्र खाली गर्न तथा हटाउन यो ७ दिने सूचना प्रकाशित गरिन्छ ।’

नगर वडाध्यक्ष जयराम महतले दिएको जानकारी अनुसार अटेर गरी हटाउने तथा खाली गर्ने कार्य नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही तथा जरिवाना समेत गरिने बताए । उनले भने‚‘ यदि यो सूचना अटेर गरेमा ३ दिनको सूचना जारी गरिनेछ । र त्यो पनि अटेर गरेमा पूर्ण एक्सनमा जानेछ ।’

यस्तै नगरप्रमुख‚ उपप्रमुख लगायतका टोलीले केही अघि नगरपालिकाले सडक व्यवस्थित गर्नको लागि जोरपाटी चोकदेखि दक्षिण ढोकासम्म र जोरपाटी देखि बेशीगाउँ सम्म स्थलगत अनुगमन गरेका थिए ।

नगरपालिकाले सडक पेटीमा राखेका पसलका समान, गाडा, अव्यवस्थित होडिङ बोर्ड, बिजुलीका तार केवल तारहरूलाई समेत हटाउने कार्य गरेको छ भने जहाँ पयो त्यही रोक्ने यात्रु बाहक सवारीलाई पनि निश्चित ठाउँमा मात्र रोक्ने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया