प्रतिनिधिसभाको चालू ११ औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए ।
नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
यससँगै चालू प्रतिनिधिसभाको कार्यकाल पनि आजै राति १२ बजेदेखि स्वतः समाप्त हुने भएको छ ।
राजनीतिक घटनाक्रम र उत्पन्न विभिन्न परिस्थितिका कारण अनेक आरोह–अवरोह पार गर्दै र कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद्ले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेको हो ।
विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक विघटन भएको यो प्रतिनिधिसभा दुवै पटक सर्वोच्च अदालतको फैसलाबाट पुनः स्थापित भएको थियो ।
शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।