सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी : राष्ट्रपति भण्डारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
तस्बिर : फाइल

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जिम्मेवार र मर्या्दित प्रेसले मात्रै समृद्ध र समुन्नत समाज निर्माणका लागि महत्वपूर्ण योगदान गर्नसक्ने बताइन् ।

राष्ट्रपति भण्डारीले लोकतन्त्र स्थापना र सामाजिक परिवर्तनका लागि प्रेसले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकोमा उच्च प्रशंसा गर्दै तल्लो तहका जनताको आवाज मुखरित गर्न प्रेसले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनीले स्वतन्त्र प्रेसको अवधारणाले लोकतन्त्र, मानवअधिकार, महिला बालबालिका, शान्ति र सहिष्णुतालाई थप बढावा दिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले प्रेस क्षेत्र जनतालाई सुसूचित गराउने महत्वपूर्ण माध्यम भएकाले यसबाट गलत सूचना प्रवाह भए सही सूचना प्राप्त गर्ने नागरिकको हक कुण्ठित हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिनसमेत आग्रह गरिन् ।

स्वतन्त्र प्रेसको लक्ष्य समुन्नत समाज निर्माण गर्ने नै भएको सन्दर्भमा वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार क्षेत्रले पनि महत्वपूर्ण योगदान गर्ने उहाँको भनाइ थियो । वर्तमान विश्वसामु रहेका अवसर र चुनौतीलाई सम्बोधन गर्न आमसञ्चार जगत्को ठूलो जिम्मेवारी थपिएको महसुस आफूले गरेको उनीले बताइना् ।

राष्ट्रपति भण्डारीले तीव्ररूपमा भइरहेको जलवायु परिवर्तन र वातावरण असन्तुलनले प्राकृतिक प्रकोप बढेर जनधनको क्षति हुन पुगेको विषयलाई समेत प्रमुख प्राथमिकतामा राखेर हेर्न सञ्चार जगतलाई आग्रह गरिन् । उनीले सो अवसरमा प्रेस काउन्सिल स्थापना गर्न र आजको अवस्थासम्म ल्याउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पत्रकारिता विगतमा अनेकन रूपमा अगाडि बढ्दै आएको भए पनि पछिल्ला दिनमा वास्तविक पत्रकारिताको दिशामा केन्द्रित रहेको बताए ।

सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक हो भन्ने बहस भइरहेको उल्लेख गर्दै उनले स्वतन्त्रताको सीमा नहुने भए पनि मर्यादाको भने सीमा हुने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले सरकारले आम सञ्चार ऐन, मिडिया काउन्सिल विधेयकजस्ता महत्वपूर्ण विधेयक ल्याएर यस क्षेत्रको मर्यादा, व्यावसायिकता र आर्थिक सुरक्षाको विषयमा समेत काम गरिरहेको बताए । सरकारले स्वतन्त्र प्रेसको बढावाका लागि विज्ञापन विधेयक ल्याइसकेको उल्लेख गर्दै उहाँले व्यावसायिक स्वतन्त्रताबिना स्वतन्त्र प्रेसको परिकल्पनासमेत हुननसक्ने भएकाले त्यसतर्फ सरकार लागेको स्पष्ट पारेको थियो ।

मन्त्री बाँस्कोटाले सो विधेयक राष्ट्रपति कार्यालयमा आउने क्रममा रहेको र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे ।

सरकारले उज्यालो र सकारात्मकताको यात्रा शुरु गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रमले स्वतन्त्र, मर्या्दित, विश्वसनीय र व्यावसायिक पत्रकारिताको नयाँ युग शुरु गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलको भूमिका र आजै सार्वजनिक भएको पत्रकार आचारसंहिताको विषयमा जानकारी दिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका