विभेदरहित समाज निर्माणका खातिर समानताका पक्षमा धेरै लामो समयदेखि नेपाली जनताले रगत बगाउँदै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा भएका जनताका बलिदानी आन्दोलनका कारण यति बेला देशमा गणतन्त्र समेत स्थापना भैसकेको अवस्था छ । यहाँसम्म आई पुग्दा नेपाली समाजमा जरो गाडेर बसेका बिबिधखाले विभेदहरू अन्त्यका निम्ति राज्यको तर्फबाट थुप्रै नियम कानुनहरू निर्माण भए । सयौँको सङ्ख्यामा सरोकारवाला सङ्घसंस्थाहरू स्थापना भए । राजनैतिक दलका प्रतिबद्धताहरु आए । चुनावी घोषणापत्रहरूमा लिपिबद्ध गरिए । राजनैतिक नाराहरू बने । तर अपशोच ती सबै कागजमा, भाषणमा, नारामा, चुनावी मुद्दामा मात्र सीमित रहे । अन्ततः विभेद, असमानता ज्युँ का त्युँ रह्यो ।
र त यति बेला बोक्सीको आरोपमा महिलाहरू हिंसाको सिकार भइरहेका छन् । दाइजो नल्याएको निहुँमा प्रताडित भइरहेका छन् । छोरा नपाइदिएको निहुँमा बुहारी भएका नाताले सामाजिक, पारिवारिक हिंसाको सिकार भइरहेका छन् । अहिले पनि उनीहरू आर्थिक, सामाजिक, सांस्कृतिक आदी विविध अधिकारहरू बाट वञ्चित छन् । महिला भएका नाताले दोस्रो दर्जाको नागरिकको हैसियतमा बाँच्न बाध्य छन् उनीहरू । त्यसै गरी जातीय विभेद जस्ताको तस्तै रहेको छ । दलित भएका नाताले धारा, इनार छोएको निहुँमा, मन्दिर प्रवेश गरेको निहुँमा यातना भोग्नु परिरहेको छ । अहिले पनि अन्तरजातीय विवाह गरेका कारण परिवारबाट, समाजबाट, गाउँबाटै विस्थापित हुन परिरहेको छ । निर्गाध कुटाई खान परिरहेको छ । यसै गरी वर्गीय विभेद जस्ताको तस्तै छ । कारखाना मालिकले मजदुरमाथि हेर्ने दृष्टिकोण, गर्ने ब्यबहार उस्तै छ । जमिनदारले किसानमाथि गर्ने ब्यबहार पनि उस्तै छ । धनिले गरिबमाथि गर्ने ब्याबहारमा कुनै परिवर्तन आएको छैन । यस्ता थुप्रै विबेधहरु छन्, जो गणतन्त्र स्थापनापछि पनि जस्ताको तस्तै रहेको छ ।
त्यसमा पनि महिलामाथि गरिने विभेद परिवारभित्र झनै विकराल रहेको पाइन्छ । पतिले पत्नीमाथि, सासूले बुहारीमाथि, छोरा र छोरी बिच, छोरी र बुहारी बिचको विभेद अझै पनि आंशिक रूपमा बाहेक अन्त्य हुन सकेको छैन । सासू भएका नाताले बुहारीले मैले जे भने पनि मान्नै पर्छ । पति भएका नाताले मैले जे भने पनि पत्नीले मान्नै पर्छ, बुहारीले मुख लाग्नु हुन्न, पत्नीले मुख लाग्नु हुन्न, सहेर बस्नुपर्छ भन्ने मानसिकता ऐले पनि जस्ताको त्यस्तै रहेको छ । परिवारभित्र, समाजमा व्याप्त यो विभेद, असमानतालाई अहिलेका स–साना बालबालिकाले समेत महसुस गर्न थालेका छन् । यस सन्दर्भमा केही दृष्टान्तहरू यहाँ प्रस्तुत गर्न आवश्यक ठाने ।
एक वर्ष अगाडीको कुरा हो, एक दिन मेरी ६ वर्षकी नातिनीले घरमा सवै जना बसिरहेका र हजुरआमाले मात्र काम गरिरहेको देखेर आफ्नी आमासँग प्रश्न गरिन– ‘ममी तपाईँहरू सबै बसिरहने, अनि हजुरआमाले मात्र किन काम गरिरहेको ?’ त्यसपछि उनकी ममी नाजवाफ भइन । नजिकै बसेका हामी सबै मौन रह्यौँ । यसै गरी पोहोर दसैँमा म बसद्वारा काठमाडौँबाट पनौती गइरहेको थिएँ । बस यात्रुले खचाखच भरिएको थियो । बनेपा पुग्नै लाग्दा मेरो अगाडीको सिटमा आमाको काखमा बसिरहेकी अन्दाजी ६÷७ वर्षकी एक जना नानीले आफूनजिकै उभिएकी दिदीलाई सङ्केत गर्दै आफ्नी आमासँग अनुरोध गरिन—‘ममी दिदी काठमाडौँ देखी उभिएरै आउनु भएको छ । दिदीले बस्न पाउनु पर्दैन । हामी उठिदीउ्रं र दिदीलाई हाम्रो सिटमा बस्न दिऊँ ।’ त्यसपछि उनकी आमा नाजवाफ भइन । बरु दिदीले ‘ नानी ओर्लने बेला भयो, अब एकै छिन हो तिमीहरू बस’ भनेर बहिनीको चित्त बुझाइन । त्यस्तै एक पटक पनौतीबाट बसमा काठमाडौँ आइरहँदा आमासँगैको खाली सिटमा बसिरहेको एउटा अन्दाजी ७÷८ वर्षको बच्चा(छोरा) लाई बसको स्टाफले ठुलो मान्छेलाई ठाउँ छोडिदेऊ भनिरहँदा उक्त बालकले आमासँग प्रश्न ग¥यो–‘ ममी सिटमा बस्ने केटाकेटीहरूको अधिकार हुँदैन ? ठुला मानिसहरूको मात्र अधिकार हुन्छ ?’ त्यसपछि आमाको जवाफ थियो–‘ सिटमा बसेपछि पैसा लाग्छ बाबु ’ फेरी उसले प्रतिप्रश्न ग¥यो–‘ तपाईँको पैसा तिर्दा मेरो तिर्न मिल्दैन ?’ त्यसपछि आमाले उसलाई धेरै जान्ने न हो भनेर गाली गर्न थालिन र उ बोल्न छाड्यो ।
यसले के पुष्टि गरेको छ भने अहिलेका बालबालिकाहरू यति सचेत भैसकेका छन् की अधिकार के हो, परिवारमा, समाजमा मानिस, मानिसबिच किन विभेद भइरहेको छ,असमानता बढिरहेको छ सबै थाहा पाउने भैसकेका छन् । यो सकारात्मक पक्ष हो । यसले समाज परिवर्तनको दिशामा गइरहेको सङ्केत दिइरहेको छ । एउटा कुरा के सत्य हो भने जतिसुकै व्यवस्था परिवर्तन भएता पनि जबसम्म मानिसको सोच,संस्कार,बुझाई, ब्याबहार, आनीबानी, मानसिकता परिवर्तन हुँदैन तबसम्म केही हुने वाला छैन । यो विद्यमान परिस्थितिले प्रमाणित गरेको यर्थाथ हो । त्यसैले कमसे कम पनि बालबालिकाको जति सोच, बुझाई, मानसिकता बनाउन सक्यौँ भने पनि समाजमा व्याप्त विद्यमान विभेद, असमानताको अन्त्य हुने निश्चित छ । यसका लागि बालबालिकाहरूबाटै भए पनि सिक्ने हो कि ?