एकतर्फ सत्ताधारी गठबन्धनमा हानथाप क्रमिक रूपमा बढ्दै गएको छ। अर्कोतर्फ एमालेलाई भने मधेसी कार्यकर्ताको सङ्ख्या बढाउन भ्याइनभ्याइ छ। चुनावी सरगर्मी बढ्दै जाँदा ओली मधेसी पहिरनमा सजधज हुँदै मधेस दौडमा व्यस्त हुनुहुन्छ र यसले उहाँको धपेडी बढेको छ।
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुबैलाई भने नेता कार्यकर्ता जोगाउन निकै हम्मे परेको छ। जसको मुख्य कारण हो- मधेसी दल छाड्नेहरूको लर्को । पाँच वर्ष अघि मधेसमा प्रवेश निषेध गरिएका एमाले अध्यक्ष ओलीलाई अहिले जनकपुरदेखि वीरगन्ज र विराटनगरसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिँदै छ।
मधेसमा लोकतान्त्रिक धारको रूपमा रहेको सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेसमा गठबन्धनको अंशबन्डाले पनि ‘प्रवेश निषेध’ जस्तै अवस्थामा छ। नेपालको सबै प्रजातान्त्रिक आन्दोलन र चुनावमा मधेसको आफ्नै खालको इतिहास रहेको छ। खास गरेर भारतको उत्तर प्रदेश र बिहारको सीमासँग जोडिएकाले पनि मधेसमा प्रजातान्त्रिक विचारको प्रवाहले गर्दा काँग्रेसको पकड रहँदै आएको थियो तर यस पटकको चुनावी प्रवाह उल्टो धारमा बग्ने आसले पनि मधेसमा एमाले हौसिएको भनाइ नेताहरूको छ।
कम्युनिस्ट, मधेसी र काँग्रेसको गठबन्धनले स्थानीय चुनावमा देखाएको परिणामपछि विभिन्न कोणबाट आगामी चुनाव केन्द्रित बहसहरू भइरहेका छन्। देशमा वर्षौँदेखि सुशासन नकारात्मक दिशामा छ र यसको प्रवृत्ति मौलाउँदो छ। मुद्दाविहीन चुनावी गठबन्धनलाई पनि अगामी चुनावमा नीति बिना अगाडि बढेका राजनीतिक दलहरू भनेर आलोचना भइरहेको छ।
त्यति मात्र होइन राजनीतिक नेतृत्वमा न्यूनतम नैतिकता र जबाफदेही नहुँदा विकृत अभ्यासले निरन्तरता पाइरहेको; मधेस आन्दोलनमा मधेसी, थारु र जनजाति लगायतका पछाडि पारिएकाको सवाल सत्ताको चाहनाले ओझेल परेको; र चुनाव सङ्घारमै आई पुगुन्जेलसम्म राजनीतिक दलहरू एजेन्डाविहीन भएको आरोप पनि छ।
विगतको निर्वाचनभन्दा यस पटकको चुनावी परिवेश फरक रहेको विश्लेषक चन्द्रकिशोर बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ- ‘दलहरू एजेन्डाविहीन छन्, वैचारिक प्रतिस्पर्धा वा ठोस नीतिगत विकासका एजेन्डा भन्दा पनि सत्तामा पुग्ने होडमा छन्, सत्ताधारी गठबन्धन होउन् वा प्रतिपक्ष दुवै जसरी पनि सत्ता हत्याउने रणनीतिमा छन्।’
गठबन्धनको अंशबन्डाले व्यक्तिगत राजनीति जोगाउने ध्याउन्न हुँदा एमालेतिरको आकर्षण मधेसमा देखिएको उहाँको बुझाइ छ। ‘एमाले जसलाई पनि भित्र्याउन लागि परेको छ तर त्यो कत्तिको परिणाममुखी हुन्छ भन्नेचाहिँ आउने समयले नै बताउँछ।’ उहाँको भनाइ थियो- ‘क्वालिटी भन्दा क्वान्टिटीमा जोड दिइएको देखिन्छ त्यसले चुनावमा कत्तिको असर गर्छ त्यो त आउने समयले नै निक्यौल गर्छ।’
वर्तमान समयमा मधेसमा खुम्चँदै गएको काँग्रेसलाई स्थापनाकालदेखि २०५१ साल अघिसम्म हेर्दा मधेसमा गौरवपूर्ण इतिहास देखिन्छ।
२०४७ सालदेखि गत चुनावसम्म मधेसमा प्रजातान्त्रिक धारको मत बढी रहेको चुनावी आँकडा देखिन्छ। चाहे त्यो नेपाली काँग्रेसले पाएको मत होस् अथवा उसले गुमाउँदा राप्रपा वा मधेसी दलले पाएको होस्।
स्थानीय चुनामा देखिएको मतले पनि एमालेलाई मधेसमा उत्साहित बनाएको वीरगन्जका पूर्व मेयर विजय सरावगीको भनाइ छ। उहाँ भन्नुहुन्छ- ‘पहिला समग्र मतसंख्यामा अगाडि रहँदै आएको काँग्रेसलाई गठबन्धनले पछि परेको छ, त्यस्तै एमाले हारे पनि कुल मतमा अगाडि हुनुले एमाले ठुलो पार्टी हो भन्ने निश्चित गरेको छ। ’
काँग्रेस र मधेसको सम्बन्ध ऐतिहासिक रूपमा रहिआएको छ। मधेसका जिल्ला भारतसँग जोडिएको हुनाले पनि भारतीय स्वतन्त्रता आन्दोलनले राजनीतिक चेत तराई–मधेसमा पसेको थियो। यसपालिको गठबन्धनले भने पार्टीको सङ्गठनलाई कमजोर पार्ने कार्य गरेको नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीको भनाइ छ। पाँच दलीय गठबन्धनको कारण स्थानीय चुनावदेखि प्रदेश र संघीयसभाको धेरै क्षेत्रहरू काँग्रेसले गुमाउनु परेको हुँदा कार्यकर्तामा ठुलो आक्रोश र निराशा छाएको द्विवेदीको आरोप छ। उहाँ भन्नुहुन्छ- ‘काँग्रेसको प्रजातान्त्रिक आधार नै कार्यकर्ता हो, चुनावी भूमि छोड्दै जाने हो भने सङ्गठन निश्चय नै कमजोर हुन्छ, फलस्वरूप कार्यकर्ताले विद्रोह गर्न पनि सक्छन्।’
नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको बुझाइ भने फरक छ। दलगत गठबन्धन समयको माग भएको उहाँ बताउनु हुन्छ ‘न्यूनतम सहमतिमा चुनाव लड्दा पार्टीको विचारमा कुनै असर पर्दैन, राजनीति आस्था र विचारको लागि गर्ने हो। त्यसमा पनि नेका समुद्र हो- जसले छोडेर जान्छ उसले आफ्नो इतिहास समाप्त गर्ने मात्र हो।’
मधेसमा निर्वाचन भएपछि सत्ताको राजनीतिक दलदलमा फस्दै जाँदा आन्दोलनको पाँच वर्ष भित्रै मर्म समाप्त हुने अवस्थामा पुगेको छ। जो मधेस आन्दोलनमा होमिए, कुटिए, दमनका क्रममा अङ्ग र परिवारका आत्मीय सदस्यसमेत गुमाए ती सर्वसाधारण भने अहिले ठगिएको महसुस गरिरहेका छन्। विगतमा मधेसमारा ओलीको नारा लगाउनेहरू अहिले जयगान गाउँदै हिँडेका छन्। ओलीबाट फुलमाला लगाउँदै पार्टी प्रवेशको हानथाप गरिरहेका छन्।
क्षेत्रीय, जातीय वा धार्मिक नारा लामो समयसम्म टिक्न नसक्ने कुरा भएको नेका सभापति क्षेत्रीको भनाइ छ। एमालेमा प्रवेश गर्नेहरू अधिकांश चुनावै पिच्छे पार्टी फेर्ने मोबाइल नेता भएको सभापति क्षेत्रीको आरोप छ। उहाँहरू घुम्ती शिविर जस्तै टिकट, सत्ता र स्वार्थको राजनीतिमा मात्र लागेकाले अहिले एमालेतिर होमिएको हो।