नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा सङ्घीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएको छ । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत सोमबार नगराइनमा आयोजित आमसभामा उहाँले सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको बताए ।
उपसभापति निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि सङ्घीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसकेको बताए । उनले सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत असन्तुष्टि व्यक्त गरे । वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ थियो ।
‘नेपालमा अब कुनै मधेशवादी पार्टी छैन । सबैले आ–आफ्नो दलको नामबाट मधेश शब्द हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी भनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ’, उनले भने । प्रदेश २ को नाम मिथिला-भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने निधिको धारणा थियो ।