‘सपना र सङ्घर्ष’ का कथाहरूबारे 

काठमाडौं

पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको एउटा सानो गाउँबाट आएको भुँइमान्छे म । कुखुरे बैंश सुरु हुँदै थियो जीवनमा । गाउँबाट राजधानी छिर्दा एसएलसीको परीक्षा दिएर हिँडेको थिएँ । पास नहुने कुराको चिन्ता थिएन, डिभिजन के आउँछ भन्ने मात्र थियो । जे होस्, एसएलसी पास भइएछ । काठमाडौँ आएर ल क्याम्पसमा पढाई सुरु गरियो । त्यसपछि त काठमाडौँको सडकमा सङ्घर्षका कथा सुरु भइहाल्यो । नाप्दानाप्दै काठमाडौँका सडकहरूमा धेरै जुत्ता र मोजाहरू फाटे । खान बस्नको चिन्ता थिएन । ठुलो दाजुले दुःखले आर्जेको सानो टाउको लुकाउने ठाउँ छँदै थियो । २०३६ सालदेखि ०४२/४३ सालसम्म काठमाडौँका सडक र भित्ताहरू प्रहरीको आँखा छल्दै यिनै हातहरूले रङ्गाए । यही विद्यार्थी कालमा त हो, प्रहरीको दमन भोगियो, जेल र हिरासतको अनुभव पनि गरियो । सहरका चोकचोकमा कोणसभाहरू कति गरिए कति । पर्चा र पोस्टरहरू कति छरिए र कति टाँसिए, हिसाब नै छैन ।

सङ्घर्षले नै जीवनलाई चिनाउँदो र उठाउँदो रहेछ । झन्डै साढे चार दशक काठमाडौँको सडकमा बेहिसाब फाटेका जुत्ता र मोजाहरूले आज मलाई जिस्क्याई रहन्छन्, ‘तिमी राता मान्छे बन्यौ त ?’ सपना एकातिर र जीवनका बाध्यताहरू अर्कातिर थिए । बाँच्नु र सपना पूरा गर्नु फरक फरक कुरा थियो । पचासको दशकपछि वर्ग सङ्घर्ष एउटा उचाइमा उठ्यो, उठाइयो । मेरा सपनाहरू पनि त्यही वर्ग युद्धसँग बुर्कुसी मार्दै थियो तर बिचमै बाढीले मोड बदल्यो, खोला अर्कैतिर लाग्यो । मेरा सपनाका बिरुवाहरू झाँङिन नपाउँदै अनायासै नदी किनारको ढिस्को जस्तै ढल्यो । कसैले उठाउने कोसिससम्म नि गरेन त्यसलाई । लाखौँ करोडौँ उत्पीडित जनताको सपना, त्यो बेवारिस बन्यो । अहिले त्यो आन्दोलन केवल सपनाको आन्दोलन थियो कि ? हामी उपयोग मात्र भएका थियौँ ? या त्यो फगत एउटा भेल थियो ? वा हामीले नै विषय ठिकसँग पर्गेल्न जानेनौ ? सर्वत्र प्रश्नहरू उठेका छन् । तर मलाई लाग्छ: ‘यो त जीवनको यात्रा जस्तै हो । जसरी जीवनले बाँच्नको लागि नमरुन्जेल निरन्तर सङ्घर्ष गर्नुपर्छ, त्यसरी नै उत्पीडित जनताको, न्याय र सत्यको लडाई पनि त्यस्तै हो । त्यसले त झन् बढी निरन्तर लडिरहनु पर्छ । किनकि समाजमा जबसम्म लोभी पापी र दम्भीहरू रहन्छन्, लडाई निरन्तर चलिरहन्छ ।’

लगभग ४ महिना भएछ अहिले यो किताब ‘सपना र सङ्घर्ष’ बजारमा आएको । किताबमा मैले मेरै ‘सपना र सङ्घर्ष’ का कथाहरू लेखेको हुँ । आफैले जीवनमा देखेका सपना र बाटामा छोडेका डोबहरू सँगालेको हुँ । म कुनै पढन्ते विद्धान होइन, न कुनै लेखक वा साहित्यकार नै । तर म आफूलाई आफैले जरुर एक सामाजिक अभियन्ता ठान्छु । मुख्य त जनताको सामाजिक न्याय र राजनीतिक अधिकारको लडाइँमा म निरन्तर छु । मैले यही आन्दोलनमा चार दशक समय बिताएको छु । अहिले त न विचार, न मुद्दा । रङ खुइलिएका पार्टीहरूको पछि लागेर हिँड्न मनले मान्दै मान्दैन । म त विभेदले भरिएको यो वर्गीय समाजलाई निवर्गीय बनाउन हिँडेको मान्छे, म डुबूँ कसरी त्यहीँ ?

थाहा छ, जसले पनि बलेकै आगो ताप्ने हो । तै, यो बिचमा दुई जना साथीहरूले मेरो किताबको लामै समीक्षा लेखिदिनु भएछ । धन्य हो, मेरो किताबले पनि पढ्ने मान्छे त पाएछ, खुसी लाग्यो । अनि सामाजिक सञ्जालतिर पनि हालिदिनु भएछ । एक छिनमा संसारभर फैलियो । डिजिटल युगको नाफा यही त हो भन्ने लाग्यो । धेरैले चासो दिनु भयो । तर दुनियाँले कति पढे र पढ्ने होलान्, थाहा छैन । लेखन मिठो नमिठो कस्तो भयो ? त्यो पनि मलाई थाहा छैन । समीक्षक मित्रहरूले कतै फुल्याउनु र कतै खुइलाउनु भएछ । त्यसलाई स्वाभाविकै ठानेँ, समीक्षा भनेकै त्यहीँ त हो । समीक्षाका लागि समीक्षक मित्रहरूलाई धेरै धेरै साधुवाद छ ।

यतिले मेरो ‘सपना र सङ्घर्ष’ को कथा सकियो त ? होइन, कथा त अब पो सुरु हुन्छ । अहिले फर्केर हेर्दा कति छुटेछन्, कति भुलिएछन् र कतिलाई अटाउन सकिएनछ । नसकिँदो रहेछ नि जिन्दगीका कथाहरू एकएक गरेर भन्न । हाम्रो दिल र दिमाग पनि हिउँदे पहाडी झर्ना, खोल्साको पानी जस्तो सङ्लो कहाँ छ र ? अनि कम्प्युटरमा सेभ गरे जस्तो खोजेको कुरा टक्कै कहाँ भेटिन्छ र ? आत्मकथा लेख्दा कपालको रौँ केलाए झैँ केलाउनु पर्छ, नहतारिईकन एकएक गरेर जिन्दगीका उपयोगी कथाहरू । कतिलाई लाग्छ, भुँईमान्छेको कथा नै के हुन्छ र पढ्नु ? तर कथा त उनैको हुन्छ, जसले एकछाक खान र एकआङ ढाक्नको लागि पनि जिन्दगी दाउमा लगाउनु पर्छ । र, पनि जीवनको एउटा सुन्दर इतिहास बनाउँछ । बगाउनु त हेपेकै खोलाले बगाउने हो नि, जहाँ कुन बेला भेल उर्लिन्छ र पहिरो खस्छ, पत्तै हुँदैन ।

सारमा, यो लामो लकडाउनले उब्जाएको जिन्दगीको कथा हो । यो लकडाउनमा कोठाभित्र गुम्सिएर पलपल गम्दै, सम्झँदै, आफै भत्कँदै, फेरि गम्दै लेखिएको जिन्दगीको व्यथा हो । लकडाउनका बेलामा यसरी खुम्चिन बाध्य भयौ कि हामीलाई कसैले कोठामा बाहिरबाट ताल्चा मारेर गएको छ । गाइने दाइको गीत सम्झन्छु ‘संसारै लगाए ताला, गरिबले के खाला ?’ मान्छेबाटै मान्छे भाग्नुपर्ने अवस्था थियो । डाक्टरसमेत अछुत ठान्थे बिरामीलाई । टोलमा त्यस्ता बिरामी त के, डाक्टरै खेदिन्थे । आफन्तको लाससम्म हेर्न नपाएर भक्कानिँदै रुनुपर्ने समय थियो त्यो । लाखौँलाख मानवले अनाहकमा जीवन गुमाए । कम दर्दनाक थिएनन् ती दिनहरू । त्यो संसारले नै भोग्यो तर,

कसले सोच्यो र ? दिनदिनै बनि गरेर खानेले के गरी खायो होला ?
कसले देख्यो र ? सँगसँगै मृत्यु र भोक उसले कसरी जियो होला ?  

समाजमा रहेको घोर अँध्यारो चिरेर एक दिन ‘घामजुन’ चुम्ने या ‘समतामूलक’ समाज बनाउने सपना हो यो । यात्रा जारी छ । हो, यसैको खोजी हो, ‘सपना र सङ्घर्ष ।’ एक जना भुँईमान्छेको कथा ।

त्यही महाव्याधिले थुनिनुपरेको बाध्यताको बिच मैले कलम उठाएँ । थोत्रे कम्प्युटरको अघि बसेर म घोत्लिएँ, गमिए र जमेको हिउँ झैँ त्यहीँ चिसिएँ । तर जम्नु थिएन मलाई । सम्झिएँ, अब आफ्नै कथा लेख्छु । आफ्नै जिन्दगीको, आफैले छाडिआएको समयको कथा । के भर छ र जिन्दगीको ? अनि सम्झेँ, यो जिन्दगीको ६ दशक त्यसै बितेका छैनन् । हर क्षण, हरदिन सङ्घर्षमा, सडकमा बितेका छन् र त्यसले एउटा सानो भए पनि पहाडको निर्माण गरेको छ । कहिले विद्यार्थी आन्दोलन, कहिले मिसन पत्रकारिता, कहिले मानवअधिकार आन्दोलन त कहिले सामाजिक आन्दोलनको भारी बर्षौंबर्ष बोकियो । जिन्दगी त एउटा यात्रा न रहेछ । कहिले जीवनमा घनघोर बादल लाग्यो कहिले घाम । कहिले झरी त, कहिले हुरी बतास । सब सह्यो यसले । दौडँदा दौडँदै जिन्दगीले थुप्रै कालखण्डहरू गुजा¥यो । यी नै आँखाले ती सब देख्यो, भोग्यो र अनुभूत गर्‍यो । त्यही त हो मेरो जिन्दगीको कथा । आफैले भोगेको, आफ्नै जिन्दगीको कथा ।

अनि जोडेँ, गाउँघरको कथा, बाल्यकाल र किशोरावस्थाको कथा । ६, ७ कक्षा पढ्दै गर्दाका तीतामिठा, रमाइला जीवन भोगाइका कथाहरू लेखेँ । आफैलाई उटपट्याङ लाग्थ्यो, तर ती त बुढेसकालका खजानाहरू पो रहेछन् । अनि बटुलेँ र पोको पारेँ आफ्नै बाल्यकाल, किशोरावस्था र बैशालु उमेरका आगो ओकल्ने र छहारी दिने बर पिपलका प्रेमिल कहानीहरू ।

म कक्षा ९, १० मा पढ्दै गर्दा एक पटक राल्फाली टोली भोजपुर जिल्लाको सदरमुकाम पुगेका थिए । उनीहरू गाउँगाउँ पुगेर जनताका गीतहरू गाउँथे र जनतालाई जागृत गराउँदै हिँड्थे । गाउँका गाउँ मान्छेहरू हुलका हुल बाँधेर आएका थिए टुँडिखेलमा । मञ्जुल राल्फा बेजोडको भूमिका कस्थे, मान्छेका मनै चरक्क पार्ने गरेर । मान्छेहरू उनको भूमिका र राल्फाली टोलीको गीत सुनेर त्यहीँ धुरुधुरु रोए । त्यसले गहिरो छाप छोड्यो मभित्र । त्यही बेला घरमा दाजुहरूले लुकाई लुकाई ल्याउनु हुने माओका राता किताबहरू, त्यो खोजी खोजी पढेँ । हो, त्यहीँ बेला मभित्र लुसुक्क निवर्गीय समाज बनाउने ‘कम्युनिस्ट’ बन्ने सपना पस्यो । सानो उमेरमै ‘राता मान्छे’ बन्ने धुन सवार भइहाल्यो ।

काठमान्डु आएपछि २०३६ सालको विद्यार्थी आन्दोलनले मलाई झपक्क समातिहाल्यो । राजधानी सहरमा आएर ‘पढेर गरिखाला’ भनेको, छोरोमा आन्दोलनको भूत सवार भएको देखेर आमाले एक दिन भन्नु भयो, ‘जस्तो बाउ त्यस्तै छोरा । किसान सङ्घर्ष भन्यो, हिँड्यो । न खानाको टुङ्गो, न बस्नको । यता घरको बेहाल । त्यस्तै भएछस् तँ पनि । गरिखाने बाटो पनि खोज है ।’ हुन पनि म त्यस्तै भएर हिँडेछु । छोरो गरिखानेतिर नलागेर आन्दोलनतिर लागेपछि आमाको मन पोल्नु स्वाभाविकै थियो ।

विद्यार्थी न थियौँ उति बेला, हामी मुर्दावाद र जिन्दावादका नारा लगाएर थाक्दैन थियौँ । हामी नारा लगाउँदै प्लेकार्ड बोकेर कहिले सहरको यो गल्ली त, कहिले सहरको त्यो गल्ली चाहाथ्र्यौ । दिनभरि नारा, जुलुस र कोणसभा हुन्थ्यो । अनि हुन्थ्यो रातभरि पर्चा र पोष्टरिङ । न रात न दिन, खेती यही त थियो हाम्रो । अनि जोडियो, विद्यार्थी नेता भएर भोगेका विद्यार्थी कालका कथा व्यथाहरू, जेलनेल र यातनाका कथाहरू । कहिले भद्रगोल, सेन्ट्रल जेल त, कहिले हनुमान ढोका बसेका तिता मिठा संस्मरणहरू ।

२०४६ सालमा देशमा बहुदल आयो । पञ्चायतभन्दा बहुदल खुल्ला र स्वतन्त्र थियो । मान्छेहरू दलहरू खोल्न र आफ्नो विचार राख्न खुला थिए । तर माओवादी पार्टीले यतिमा मात्र चित्त बुझाएन, उन्नत जनतन्त्रको नारा दिएर ऊ अघि बढ्यो । मलाई के चाहियो र अब ? म त्यही क्रान्तिकारी झन्डा बोकेर लुरुलुरु पछि लागेँ । के थियो र जिन्दगी ? न कुनै स्वार्थ थियो, न जिन्दगी बनाउने कुनै सपना नै । बोकियो राजनीतिको भारी । थियो त मनमा ‘नयाँ नेपाल बनाउने सपना, समाज बदल्ने सपना ।’ पढेको थिएँ कानुन तर भएँ पत्रकार । २०५२ साल फागुनदेखि जनयुद्ध सुरु भयो । जनयुद्धको रन्को र समतामूलक समाज बनाउने सपनाले मलाई एकोहोरो पारिसकेको थियो । हाम्रो लागि मानवअधिकार, सामाजिक न्याय र उत्पीडित जनताको मुद्दा प्रधान बनिसकेको थियो ।

बेथिति, भ्रष्टाचार, अनियमितता र विभेद त झन् चुलियो । किन ? के कारणले फेरिएन  देश ? समाज ? हामी कहाँ चुक्यौँ ? हो, यो कृति सपना र सङ्घर्षत्यसैको खोजी हो र त्यसैको समीक्षा हो । आफ्नै जीवन, सपना र सङ्घर्षको समीक्षा ।

यही बेला, म २०५६ सालको सुरुतिर अध्ययनको क्रममा ६ महिनाको लागि बेलायत छिरेँ । त्यस बेला बेलायत (लन्डन) भनेको दुनियाँको लागि ‘सपनाको सहर’ थियो । तर म भने त्यहाँ अडिन सकिनँ । ‘भाग्यमा नअटाएको भन्छन्’ क्यारे ! भयो त्यस्तै । त्यहाँको विकास, शान, सौकत र सुख सुविधाले मलाई कतै छोएन । देश बदल्ने, नयाँ संसार बनाउने महाअभियानमा लागेको एक जना योद्धा न थिएँ । म कोर्स सक्ने बित्तिकै स्वदेश फर्किएँ । समय कति निर्मम रहेछ, जनयुद्धले मलाई त्यही बेला धेरै कुरा सिकायो । राज्यसत्ता कति निर्मम हुँदो रहेछ र राजनीति पनि कति निर्मम हुँदो रहेछ भन्ने त्यही बेला मात्र थाहा भयो । हाँसिहाँसी देशका लागि, समाज परिवर्तनका लागि साथीहरूले जीवन आहुति दिए । हजारौँ मित्रहरू जिन्दगीभर अपाहिज भएर बाँचे । त्यो कथा भन्न जति गौरवपूर्ण छ, त्यति नै दर्दनाक पनि छ । जसले जीवन कुर्वान् गरे तिनले त देशको लागि गरेका थिए नि । तर तिनले आज के पाए ? प्रश्न ठोकिइरहन्छ मनमा ।

२०६० देखि ०७३÷०७४ सालसम्म म आफ्नै समाजको सामाजिक आन्दोलनमा बाँधिएँ । समाज बदल्ने र समाजमा रहेका फोहर, कुडाकर्कटहरू सफाचट पार्ने सपना त थियो नि । अहा ! बे–लगाम हिँडियो । घुमियो देशको कुना कुनासम्म । सुनियो, देखियो, तिनले भोगेका अँध्यारो समाज र कहालीलाग्दो जिन्दगीको कथा । आफ्नै जात ढाँटेर बाँच्नका लागि बेजात हुनु परेको कथा । आफ्नै समाजले भोगेको थिचिएका र मेटिएका भाषा, संस्कृति र सभ्यताको कथा । यही समाजमा ‘मासिन्या’ जाति भएर बाँच्नु परेको कथा । अनि आफ्नै समाजमा फैलिएको गरिबी, अशिक्षा, अन्धविश्वास र त्यसले जिन्दगीभरि दिएको दुःखको कथा । अनि त मलाई के चाहियो र ? मेरो मनले थाम्नै सकेन यो व्यथा । अनि म होमिएँ, समाजको पुरातन संरचना बदल्ने र उसको मेटिएको भाषा, संस्कृति र सभ्यतालाई पुनर्स्थापित गर्ने सङ्घर्षमा । अनि थपे, राज्यद्वारा हेपिएका, थिचिएका र अपमानित भएर बाँच्नु परेका उत्पीडित जाति, समुदायहरूको पहिचानको सङ्घर्षको कथा ।

जिन्दगी भोगाइका यी अनगिन्ती कथाहरूले मलाई झन् विद्रोही बनायो । थाहा भयो, जिन्दगीमा जीवन देख्नु, भोग्नु र बुझ्नु फरक फरक कुरा रहेछन् । जिन्दगीका यी नै सङ्घर्षका कथा व्यथाहरू भोग्दै २०६३ मा म देशको अन्तरिम संविधान बनाउने ठाउँमा पुगेँ । देशको संविधान बनाउने कुरा, देश बदल्ने कुरा थियो । अनि त्यही संविधानले पहिलो पटक लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको बीजारोपण ग¥यो । धर्मनिरपेक्षता र समानुपातिक समावेशी राज्य संरचनाको कल्पना त्यही संविधानले बाँड्यो । त्यसले पहिलो पटक ‘सब नागरिक समान छन्, अव कोही राजा र कोही रैति हुने छैनन् । यो देश हामी सबैको साझा घर हो’ भन्ने सन्देश दियो । आदिवासी जनजाति, महिला, मधेसी र दलितलगायतका उत्पीडित वर्ग र समुदायका मान्छेहरू ठुलो लर्को लाएर इतिहासमै पहिलोचोटी संविधानसभामा प्रवेश गरे । देशको कानुन बनाउने ठाउँमा पुगे । यो इतिहासको ठुलो परिघटना थियो । लाग्यो, देशमा ठुलै परिवर्तन भयो । यो बिचमा थुप्रै अवसरहरूले मलाई चुम्न आए तर पद र पैसाको पछि दौडन आउँदै आएन । म कानुनको विद्यार्थी थिएँ, पछि न्यायालयहरूमा तानिएँ पनि । त्यसको पनि राम्रै अनुभव गरियो ।

जिन्दगीको घर कसैको पनि बनिबनाउ हुँदैन रहेछ । समयले जसो जसो जुरायो, त्यसै त्यसै स्वाहा भने जस्तो हिँडियो । तर मनले नमानेको गलत बाटोमा कहिल्यै हिँडिएन । यो मेरो विशेषता हो या दम्भ ? मलाई थाहा छैन । अनुभव त हो, जिन्दगीमा धेरै कुरा भोगियो । हिँड्दाहिँड्दै जिन्दगीको ६ दशक बितिसकेछ, कपाल फुलेको र समय बगेको पत्तै भएन । अनि पो लेख्न बसियो ‘सपना र सङ्घर्ष’ का कथाहरू । जीवनले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा लाग्दा भोगेका, देखेका र अनुभूत गरेका अनगिन्ती सङ्घर्षका कथाहरू । आत्मकथा लेख्नु भनेको आफै पोखिनु हो । म पोखिएँ आफैले देखेको समाज, सपना र भोगेका जिन्दगीका कथाहरूसँग । यो जीवनको त्यही कथा हो, जसले देशमा थुप्रै उथलपुथल र परिवर्तनहरू देख्यो र भोग्यो । २०३६ देखि ०६२÷०६३ सालसम्मको युगान्तकारी उथलपुथलहरू र २०७२ सालको प्रलयकारी भूकम्प हुँदै संसारै लकडाउन गराउने कोरोनाको महाव्याधि पनि भोग्यो ।

जसले जनताको जीवनमा कागजमै भए पनि ठुलो परिवर्तन ल्यायो र जीवनमै तरङ्ग ल्यायो । म जस्ता हजारौँ लाखौँले ‘नयाँ नेपाल’ बनाउने र समाजमा अग्रगामी परिवर्तन ल्याउने सपना देखेका थिए । त्यसका लागि बर्षौंबर्ष सडकमा प्रहरीको लाठी खाँदै रगत र पसिना बगाएका थिए र हजारौँले जीवन बलिदान समेत गरेका थिए । अतः यो कथा म जस्ता हजारौँ, लाखौँको सपना र सङ्घर्षको कथा हो । तर अहिले … ? ‘भयो त सपना पूरा ? भयो त देशमा परिवर्तन ? भयो त समाजमा रूपान्तरण ? बन्यो त नयाँ नेपाल ? बसायौँ त देशमा नयाँ थिति, पद्धति ? भयो त श्रमजीवी र उत्पीडित जनताको जीवनमा सुधार ? रोकियो त देशमा बेथिति, भ्रष्टाचार अनि अनियमितता ? आदि धेरै धेरै प्रश्नहरू उठेका छन् । अहँ, केही फेरिएन । केवल व्यवस्था फेरियो, संविधानका शब्दहरू फेरिए तर व्यवहारमा अरू केही फेरिएन । देखियो, हाम्रो नेतृत्वको सोच चिन्तनमा कतै फेरबदल आएनछ । बेथिति, भ्रष्टाचार, अनियमितता र विभेद त झन् चुलियो । किन ? के कारणले फेरिएन  देश ? समाज ? हामी कहाँ चुक्यौँ ? हो, यो कृति ‘सपना र सङ्घर्ष’ त्यसैको खोजी हो र त्यसैको समीक्षा हो । आफ्नै जीवन, सपना र सङ्घर्षको समीक्षा ।

त्यो कथा, जो भुल्न पटक्कै सजिलो छैन । आज कठघरामा छ मेरा सपनाहरू । एक दिन फुत्त उड्ने तरखरमा छटपटाइरहेको सुगा जस्तो । म दाबी गर्दिन कि यो सबैका लागि मिठो हुन्छ । यसले कसैलाई पोल्ला र कसैलाई न्यानो पनि होला । राम्रो नराम्रो भन्ने पनि आ–आफ्नो हेर्ने आँखाकै कुरा त हो । यो त मेरो अनुभव र अनुभूतिको कुरा न हो ।

हरेक मान्छे आफ्नो जीवनमा एउटा इतिहास बनाएर जान्छ । आफू अनुसारको इतिहास हुन्छ । चाहे त्यो सडक छाप होस् या महलका महाराजा । फरक यति हो, कसैको इतिहास अरूले लेखिदिन्छ, कसैको आफैले लेख्नुपर्छ । तर हरेक मान्छे एक दिन कहानी बन्नै पर्छ र ऊ आफ्नो कहानी छोडेर जान्छ । हिन्दी फिल्ममा एउटा गीत छ ‘आदमी मुसाफिर है, आता है जाता है । आतेजाते रस्तेमे यादें छोड जाते है ।।’ यही त हो जिन्दगी ।

‘जीवनमा सुखको त कथा नै के हुन्छ र ? सुखले त मान्छेलाई सपना देख्नै बिर्साइदिन्छ । जब सपना देख्नै छोडिन्छ नि, सम्झनुस् सकियो जिन्दगी ।’ त्यसैले ‘सपना’ जिन्दगी हाँक्ने शक्ति हो । त्यो हरदम देख्नुपर्छ र त्यसैले मान्छेलाई एक दिन गन्तव्यमा पुर्‍याउँछ । त्यसैले त यी शब्दहरू अन्योन्याश्रित रूपमा जोडिएका छन् । जीवन छ, सपना छ र नै सङ्घर्ष छ । अन्तमा, समीक्षक मित्र जीवनजीको यो पङ्क्ति गज्जब लाग्यो ‘पत्थरमा ठक्कर खाने डरले खोलो नबग्ने हो भने समुन्द्र कसरी बन्थ्यो होला र ?’ समाजमा रहेको घोर अँध्यारो चिरेर एक दिन ‘घामजुन’ चुम्ने या ‘समतामूलक’ समाज बनाउने सपना हो यो । यात्रा जारी छ । हो, यसैको खोजी हो, ‘सपना र सङ्घर्ष ।’ एक जना भुँईमान्छेको कथा ।

धन्यवाद । 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका