साउदी अरबमा आइतबार एक कार्यक्रमको आयोजना गरी नेपालको चौथो संविधान मनाएको छ । कार्यक्रम नेपाली दूतावास रियादले आयोजना गरेका हुन् ।
रियाद डिप्लोमेटिक क्वाटर मेरियत होटेलमा भएको कार्यक्रममा रियाद प्रान्तका उपगभर्नर प्रमुख अतिथिरहेका थिए ।
समारोहमा प्रमुख अतिथि र साउदीका लागि नेपाली राजदूत महेन्द्र सिंह राजपूतले संयुक्त रुपमा केक काटेर संविधान दिवसको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्र सिंह राजपूतले नेपाल र साउदीका मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै आपसी सहयोग र सहकार्यका उच्च प्रशंसा गरेका थिए । राजदूत राजपूतले साउदीमा रहेर नेपालका परिवर्तनहरुमा प्रत्येक्ष, अप्रत्यक्ष सहयोग पुर्याई आर्थिक विकास मार्फत “समृद्ध नेपाल, सुखी नेपाली बनाउने र नेपाललाई छिट्टै समुन्नत राष्ट्रका दाँजोमा पुर्याउने अभियानमा सबैका उत्तिकै भूमिका जरुरी रहेका बताए ।
‘नेपाल सरकारले घोषणा गरेका नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन साउदीमा रहेका नेपालीहरूसँग सहकार्य गरी धेरैभन्दा धेरै पर्यटन साउदीबाट नेपाल पठाउने योजना दूतावासले बनाएको छ,` राजदूत राजपूतले भने ।
समारोह स्थललाई भिजिट नेपाल २०२० सफल पार्नका लागि नेपाललाई चिनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने हेतुले अडियो क्लिप, पोस्टर, बुकलेट, भ्रमण वर्षका ब्यानर लगायतका सामग्रीहरुले सजाएका आयोजकले जनाए ।