एउटै नदीमा धेरै हाईड्रो-जोखिमको खेती

वासुदेव न्यौपाने संचारकर्मी
56 Shares
काठमाडौं

आधा दशक अघिसम्म नेपाल अन्धकारमय थियो। तर विगत केही वर्षदेखि नेपालले आफूलाई चाहिने बिजुली मात्र उत्पादन गरेको छैन, बरु निर्यात गर्ने बिजुली समेत उत्पादन गर्दै आएको छ। तर गर्मीमा भने नेपालले भारतबाट बिजुली आयात गर्दै आएको छ, किनकि नेपालका नदीनालामा सुख्खा याममा जलप्रवाह कम हुन्छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालले भारतलाई २०७९ सालको असार मसान्तदेखि भदौ मसान्तसम्म रु ७ अर्ब १९ करोडको विद्युत् निर्यात गरेको छ। लोडसेडिङ अन्त्य भएको सुरुका ३ वर्षमा प्राधिकरणले ६५३ मेगावाट विद्युत् आयात गरेको भए पनि हाल सुख्खा याममा हुने आयात समेत घट्दै गइरहेको प्राधिकरणका निर्देशक कुलमान घिसिङले सार्वजनिक रूपमा बताउने गरिएको छ ।

नेपालका सम्पूर्ण नदीनालालाई कोसी, गण्डकी, कर्णाली र महाकाली गरी चार वटा बृहत् जलाधार क्षेत्रमा विभाजन गरिएको छ। यी सबै बृहत् जलाधार क्षेत्रका कतिपय नदीनालाबाट बिजुली उत्पादन भएर प्रयोगमा आइरहेको छ, भने कतिपयमा विद्युत् गृहहरू निर्माणकै क्रममा रहेका छन् ।

अध्ययनका अनुसार नेपालमा प्राविधिक रूपमा निर्माण गर्न सकिने विद्युत् गृहहरूबाट ४५,६०० मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ, भने देशका ४ मुख्य बृहत् जलाधार मध्ये गण्डकी बृहत् जलाधार क्षेत्रमा मात्र करिब ६ हजार ६ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको छ ।

गण्डकी बृहत् जलाधारभित्र पर्ने मर्स्याङ्दी जलाधार क्षेत्र देशभरिमा सबैभन्दा धेरै विद्युत् उत्पादन गृह भएका जलाधार क्षेत्र मध्ये एक पर्दछ। विद्युत् विकास विभागको २०२० को तथ्याङ्कअनुसार मर्स्याङ्दी नदी र यसका सहायक नदीहरूमा आठ वटा विभिन्न क्षमताका विद्युत् गृहहरूको सञ्चालनमा छन् भने १७ वटा विद्युत् गृहले निर्माणका स्वीकृति लिएका छन्। त्यसै गरी पाँच वटा विद्युत् गृह निर्माणका लागि अनुमति माग गर्दै आवेदन प्राप्त भएको छ। १३ वटा विद्युत् गृहको निर्माणको लागि सर्भे लाइसेन्स जारी गरिएको छ, भने पाँच वटा विद्युत् गृह नेपाल सरकारको योजना बैङ्कमा रहेका छन्।

जम्मा ४ हजार ७४ वर्ग किमि क्षेत्रफल भएको मर्स्याङ्दी जलाधार क्षेत्रले देशको कुल विद्युत् उत्पादनमा हाल १७ प्रतिशतको योगदान गरिरहेको छ। निर्माण अनुमोदित प्राप्त , सर्भे का चरणमा रहेका, नेपाल सरकारसँग योजना बैङ्क मा भएको सबै योजनाहरू निर्माण भए भने मर्स्याङ्दी जलाधार क्षेत्रले मात्र देशको कुल विद्युत् उत्पादनमा ५.५ प्रतिशत योगदान गर्नेछ । देशको कुल भूभाग मध्ये २.२४ प्रतिशत मात्र भूभाग ओगट्ने मर्स्याङ्दी जलाधार क्षेत्रले देशभरिको विद्युत् उत्पादनको ५.५ प्रतिशत योगदान दिएको अवस्थामा यसले आर्थिक समृद्धिमा मात्र टेवा गर्ने छैन, थुप्रै जोखिमहरू समेत साथसाथै लिएर आउनेछ।

सन २०१७ मा जारी भएको जलवायु परिवर्तन र जलविद्युतसम्बन्धी एक अनुसन्धान (Adaptation to climate change in the hydroelectricity sector in Nepal) ले नेपालका मर्स्याङ्दी जस्ता जलाधारहरूमा निर्माण हुने हाइड्रोपावरहरूले ४ वटा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने जनाएको छ,  सुखमायामा झन् कम जलप्रवाह, अत्यधिक वर्षा, गेग्रेनको मात्र बढ्नु, हिमताल विस्फोटन तथा पहिरो सिर्जित तालबाट हुने बाढी ।

सुक्खा मौसम (डिसेम्बर-मार्च), प्रि-मनसुन (अप्रिल-मे) र मनसुन पछि (अक्टोबर-नोभेम्बर)का अवधिहरूमा जलप्रवाहमा हुने कमीले परियोजनाहरू प्रतिकूल रूपमा प्रभावित हुन्छन्। मौसमी भिन्नता बाहेक, कम प्रवाहको अन्तर-वार्षिक भिन्नता पनि महत्त्वपूर्ण छ किनकि यसले विद्युत् उत्पादनको निरन्तरता र विश्वसनीयतालाई असर गर्छ ।

चरम वर्षा (Extreme Rainfall) र मनसुन प्रवाह भविष्यमा बढ्ने अनुमान गरिएको छ। नदीमा उही समयमा हुने प्रवाहमा आधारित आयोजनाहरू उच्च जोखिममा हुन्छन्। झन् ३,००० वर्ग कि.मि. भन्दा कम जलाधार क्षेत्र भएका नदीहरूमा त यसको नकारात्मक प्रभाव झन् धेरै हुन्छ ।

मर्स्याङ्दी जस्ता नदी प्रणालीहरूमा तलछट भार (Sediment Load) र सांद्रता (Concentrations) पहिले नै बढी छ। मानव निर्मित हस्तक्षेपहरू र जलाधारको क्षयसँगै भविष्यमा जलवायु परिवर्तनका कारण थप तीव्र वर्षाले तलछट (sediment) समस्याहरू बढ्ने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनसँगै हिमताल विस्फोटन तथा पहिरो सिर्जित तालबाट हुने बाढीको संख्यामा समेत वृद्धि हुने आकलन गरिएको छ । एउटा नदीको पानी जल विद्युत् उत्पादनलाई मात्र प्रयोग हुन्छ भन्ने हुँदैन। एउटै नदीमा धेरै विद्युत् उत्पादन गृह बन्दा त्यसले जलस्रोतको विनियोजन लाई सर्वाधिक असर गर्छ । सिँचाइका कुलोहरू प्रभावित हुनु , पारिस्थीकिय प्रणाली उथलपुथल हुनु , खानेपानीको स्रोत प्रभावित हुनु, धार्मिक तथा सांस्कृतिक चालचलनहरूमा प्रभाव पर्नु आदी एउटा विद्युत् गृह निर्माणसँग सिर्जना हुने चुनौतीहरू हुन् ।

मर्स्याङ्दी जलाधार क्षेत्रमा नै पर्ने चेपे खोलामा निर्माण भइरहेको चम्पावती हाइड्रो र राईनासटार सिँचाइ प्रणालीबाट सिँचाइ गरिरहेका किसानहरू बिचको विवादले उग्ररुप लिएको खबर बाहिर आइरहेको छ । यो घटनाले जलस्रोतको बाँडफाँड अर्को ठुलो समस्याको रूपमा आउने सङ्केत गरिरहेको छ ।

आइएनएस-स्वतन्त्र समाचार

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका