नासा नेपालका मार्सलको तालिम तथा परीक्षा सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडौं

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको मार्सलिङको समीक्षाका साथ मार्सल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शनिवार ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स हलमा आयोजित सो कार्यक्रममा पहिले देखि नै नासाद्वारा आयोजित विभिन्न इभेन्टमा सहभागी भएका र आगामी दिनमा सहभागी हुने सम्भावित मार्सलहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा मार्सलको क्याटागोरी र उनीहरूका लागि आवश्यक शुल्कको समेत निर्धारण गरिएको छ । आगामी वर्ष गरिने विभिन्न इभेन्टको घोषणा गरिनुका साथै आगामी दुई वर्षका लागि मार्सल एन्ड भोलेन्टियर कमिसनको समेत घोषणा गरिएको छ ।

सो कमिसनमा आशीष लामिछाने, प्रमोद श्रेष्ठ ‘गुफी’, अमर ज्योति रञ्जित, विनोद तण्डुकार, राज प्रकाश नकर्मी, दयाराम न्यौपाने र मिङमा लामा रहेका छन् । आगामी वर्ष मार्सल एन्ड भोलेन्टियर डे मनाउनुका साथै अवार्ड समेत प्रदान गरिने छ ।

सो अवसरमा एफआईए र एफआईएम तथा नासा नेपालद्वारा आयोजित विभिन्न कार्यक्रम तथा यसमा मार्सलको भूमिका बारेमा नासा नेपालका उपाध्यक्ष सीताराम न्यौपाने र मार्सलको कार्य तथा दायित्व बारेमा सचिव सन्तोष न्यौपानेले प्रकाश पारेका थिए ।

अटो मोबाइल सम्बन्धी विभिन्न रेसिङ र अन्य इभेन्टमा सहयोगीको भूमिका खेल्ने मार्सलहरू भोलेन्टियर देखि एडभान्स मार्सलसम्म गरी चार क्याटागोरीको हुने छन् । उनीहरूको छनोटका लागि परीक्षा समेत लिइएको छ । सोही अवसरमा आगामी दुई वर्षका लागि एथ्लेट कमिसन समेत गठन गरिएको छ । उपेन्द्र प्याकुरेलको संयोजकत्वमा गठित सो कमिसनमा वर्षा बस्नेत, कृष्ण पौडेल, अमन चौधरी, कुन्दन श्रेष्ठ, प्रत्युष कुइँकेल र रोनी भारती रहेका छन् ।

एक्सप्लोर द ट्र्याक अन्तर्गत यसै महिना भारतको बैंग्लोरमा आयोजित कार्ट्स तथा मोटरसाइकल ट्रेनिङमा सहभागी तथा प्रतियोगितामा विजयीहरूलाई समेत सो अवसरमा शिल्ड तथा प्रमाणपत्र वितरण गरियो ।

सन् २०२२ को समापनको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले एफआईए तथा एफआईएमद्वारा आगामी दिनमा नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम बारेमा जानकारी प्रदान गरेका थिए । उनले आगामी वर्ष १०० गल्र्स इन मोटर साइक्लिङ, सी टु हिमालयज र एफवान इन स्कुल्सको सेकेन्ड अडिसनका साथै र्‍यालीक्रसको नेसनल च्याम्पियनसिप गरी चार वटा इभेन्टको आयोजना गरिने घोषणा गरे ।

कार्यक्रममा लाइफ कोच सुवास पौडेलले माइन्ड म्यानेजमेन्ट बारेमा उत्प्रेरणामूलक प्रस्तुति गरेका थिए ।

सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसालका साथै उपाध्यक्ष सीताराम न्यौपाने, महासचिव सुशील तण्डुकार, सचिवद्वय निरज खड्का र सन्तोष न्यौपानेका साथै विभिन्न राइडर तथा यस क्षेत्रमा चासो राख्ने विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका