मेगा बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम पोखरेल नियुक्त

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

मेगा बैङ्क नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम पोखरेल नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागु हुने गरी पोखरेललाई बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो ।

विगत २७ वर्षदेखि नेपालको बैङ्किङ सेवामा समर्पित पोखरेल मेगा बैङ्कको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् । बैङ्क सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल वैशाख १ गतेबाट पूर्व सञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैङ्कको दर्ता, लाइसेन्स लिने तथा बैङ्कका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै बैङ्कमा सेवा प्रारम्भ गरेका पोखरेल मेगा बैङ्कको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेका हुन् । उनी स्थापनाकालदेखि नै बैङ्कको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रूपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल मेगा बैङ्कमा आबद्ध हुनुअघि प्रुडेन्शियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।

यसै गरी मेगा बैंकबाट स्वैच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैङ्क सञ्चालक समितिले धन्यवाद दिएको छ । उनको सम्मानस्वरुप आयोजना गरिएको बिदाइ कार्यक्रममा मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरूले मेगा बैङ्कमा १३ वर्ष भन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई यस बैङ्कको उन्नति, प्रगति तथा श्रीवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिनुका साथै उनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया