कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने : मुख्यमन्त्री पौडेल

सैलुङअनलाइन संम्वाददाता
चितवन

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौं साधारणसभामा उनले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उनले किसानका समस्या धेरै रहेको बताए । उनले भने, ‘किसानको समस्या धेरै छन् कहिले प्रकृतिका कारणबाट, कहिले बीउबिजनका कारण बालि क्षति हुने गरेको छ । त्यसको समाधानका लागि सरकारले बाली बीमाका व्यवस्था गरेको छ ।’

व्यावसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उनले अब निर्वाहमुखी कृषिको भरमा पर्न नहुने सुझाव पनि दिए । प्रदेश सरकार बनेको लामो समय नभएको भन्दै उनले देखिने गरी काम गरिसक्न नपाएको जानकारी दिए ।

कार्यक्रममा पौडेलले किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन सुझाव दिएका थिए ।

सो अवसरमा केराखेतीको विकास र प्रवद्र्धनमा विशेष योगदान पुर्याएकोमा नेपाल टेलिभिजनका चितवन सम्वाददाता ईश्वर जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायत व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले चितवनमा करीब- ७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक एक अर्ब ५० करोडको रुपौयाँको केरा उत्पादन हुने गरेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासङ्घका सदस्य कल्याण जोशी, सङ्घका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया