दशैंको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस काउन्टरमा टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर, धेरैजसो यात्रुको गुनासो टिकट पाउन नसकेको हुने गरेको छ ।
पछिल्लो समय अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकट बुकिङमा आकर्षण बढेको छ । लामोदुरीको बससेवाको अनलाइन टिकट बुकिङ सेवा बससेवा डटकमले दिँदै आएको छ ।
यात्रुलाई अनलाइन टिकट सेवा उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक बताउँछन् । तर, यातायात व्यवसायीले सिट संख्या कम दिँदा माग अनुसार सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको बससेवाका संस्थापक पिआर खनालको भनाइ छ ।
उनले अनलाइन टिकट काट्नेको संख्या बढ्दै गएको बताए । ‘अघिल्लो वर्षमा करीब ४ हजार यात्रुले अनलाइन टिकट काटेका थिए,’ खनालले भने, ‘यो वर्ष बुकिङ खुलेको चार दिनमै करीब ८ हजार जनाले टिकट काटिसकेको छ ।’
टिकट काट्ने दिन अझै बाँकी रहेको हुनाले यो वर्ष धेरै यात्रुले अनलाइनबाट टिकट काट्ने उनको अनुमान रहेको छ ।
बससेवाबाट मुलुकका विभिन्न गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । अहिले अन्यत्रका टिकट कम भएपनि बुटवल, भैरहवा, दाङ, पोखरा, बाग्लुङ, म्याग्दी, चितवन, सुर्खेत, रूकुम, जोमसोम, ओखलढुंगा, खोटाङ, नुवाकोट, रसुवा, जनकपुर लगायतका ठाउँका लागि भने पर्याप्त मात्रामा अनलाइनबाट टिकट काट्न सकिने संचालक पिआर खनालले बताएका छन् ।
पूर्वी तथा सुदूरपश्चिम लगायतका जिल्लाका टिकट भने अनलाइनमा कम उपलब्ध भएकाले पर्याप्त मात्रामा काट्न नसकिएको खनालको बताए । उनले भने, ‘अनलाइनमा सिट छोडेमा यात्रुले टिकट काट्न पाइने हो, पूर्वी नेपाल लगायतका केही जिल्लामा व्यवसायीहरूले सिट उपलब्ध नगराएका कारण अनलाइनबाट दिन मुस्किल भएको हो । तर, अहिले पनि धेरै क्षेत्रमा जानका लागि अनलाइनबाट टिकट काट्न सकिन्छ ।’
नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिने बससेवा डटकम एकमात्र सेवा प्रदायक भएको खनालको दाबी छ ।
यात्रुले बससेवा डटकम, इसेवा, आइएमर्ई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतबाट सहजै टिकट काट्न सक्नेछन् ।