नेपाली काग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।
प्रेस युनियनले आज बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता खाँणले कम्युनिष्ट शासन ल्याउन नेपाली जनताले भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने व्यवस्था रहेको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने पनि बताए ।
सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए । उनले भने, ‘संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।’
सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको बताए ।
काग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने पनि जानकारी गरे । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको पनि बताए । प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।