तामाङ समुदायको ठुलो चाड सोनाम ल्होछार अवसरमा संयुक्त राज्य अमेरिकाको विभिन्न तीन स्थानमा फरक-फरक समयमा ल्होछार डम्फु साँझ आयोजना हुने भएका छन् । मञ्जुश्री २८५९ औँ सोनाम ल्होछार तावार ल्हो (बिरालो वर्ग) को अवसरमा तामाङ समाज अफ अमेरिकाले न्यूयोर्कमा, तामाङ समाज अफ पेन्सलभेनिया र तामाङ समूह अफ ल्यान्कास्टरले पेन्सलभेनियामा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
तामाङ समाज अफ अमेरिकाले न्यूयोर्कमा सन् २०२३ जनवरी २१ शनिवार डम्फु साँझको आयोजना गरेको छ । विभिन्न सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा नेपालबाट गायक विजय लामा, गायिका शशिकला मोक्तान जाने भएका छन् । त्यस्तै गायक सन्जोक योन्जन, जगदीश समाल, गोमा योन्जन, महादेव त्रिपाटी, सुमित्रा तामाङ, चुनु घिसिङ लगायतको प्रस्तुति रहने छन् । कार्यक्रम दिउँसो १ बजेदेखि राती २ बजेसम्म हुनेछ ।
तामाङ समाज अफ पेन्सलभेनियाले वासिङ्टन पेन्सलभेनियामा जनवरी २८ शनिवार ल्होछार पर्व मनाउने तयारी छ । कार्यक्रममा तामाङ संस्कृति प्रदर्शनी, साङ्गीतिक प्रस्तुति तथा डिजे प्रस्तुति समेत रहेको अध्यक्ष कविलाल घिसिङले जानकारी दिए । साङ्गीतिक प्रस्तुतिका लागि गायक सन्जोक योन्जन, केशव भण्डारी, डिजे कर्मालगायत नृत्य प्रस्तुतिहरू हुनेछन् । कार्यक्रम साँझ ५ बजेदेखि राती १ बजेसम्म हुनेछ ।
तामाङ समूह अफ ल्यान्कास्टरले फेब्रुअरी ४ शनिवार आयोजना गर्दै छ । मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक सन्जोक योन्जन, करण तामाङ, जेन्से योन्जन, नृत्यमा डम्बर भट्टराई र मेलिना मोक्तानको बेजोड प्रस्तुति रहने छन् ।
मञ्जुश्री २८५९औँ सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिनबाट नयाँ वर्ष सुरु हुन्छ । यो वर्ष वि.सं. २०७९ माघ ८ गते (सन् २०२३ जनवरी २२) शुक्ल प्रतिपदा रहेको छ । ल्छोछार पर्व माघ शुक्ल प्रतिपदाको अघिल्लो दिन पुरानो ल्हो (वर्ग) लाई बिदाइ र भोलिपल्ट नयाँ ल्हो (वर्ग) लाई स्वागत गर्दै तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गर्दछ । तामाङ समुदायले पूजापाठसँगै ठुलाबडाबाट टिका ग्रहण, मौलिक परिकार खाने, आफन्त भेटघाट गर्ने र रमाइलो गरी मनाउँदै आइरहेको छ । ल्होछारमा नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिले तीन दिन काठमाण्डौंको टुँडिखेलमा भव्य कार्यक्रम गरी मनाउने गर्दछ ।