दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका- २ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका- ९ निवासी २६ वर्षीय हिम साङ्वो गौचन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार उनीहरुलाई मङ्गलबार बेलुका ७ बजे भरतपुर महानगरपालिका–१ पुलचोक नजिकबाट पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरुको साथबाट बाघको दाँतसहितको छाला तीन थान र ना २४ प २५०९ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको छ ।
उनीहरुले उक्त छाला बाग्लुङ ढोरपाटन नगरपालिका- ९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद बाघको छाला र पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको उनले जानकारी दिए ।
सङ्कटापन्न र लोपोन्मुख बन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनैपनि किसिमको निकासी पैठारी कसूरमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र सङ्कटापन्न बन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार कारवाही हुनेछ । यसअन्तर्गत ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको कोइरालाले जानकारी दिए ।