२८५९ औँ सोनाम ल्होछार काठमाडौँको टुँडिखेलमा मनाउने तयारी पूरा भएको छ । माघ ६, ७ र ८ गतेका लागि स्टेज सजावट, स्टल तयारी लगायत अन्य सजावटका कार्यहरू भइरहेका छन् ।
ल्होछार मूल समारोह समितिद्वारा आयोजित ल्होछार महोत्सवमा तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरूलाई स्टलमा राखिनेछ ।
तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू ताम्बा, बोन्पो तथा लामा गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरूद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फु सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरू हुनेछन् ।
घेदुङ लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै सोनाम ल्होछार पर्वलाई काठमाडौँको टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी मनाउँदै आइरहेको छ ।
यस वर्ष ल्होछारको दिन माघ ८ गते सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ। यस पटक मञ्जुश्री सम्वत अनुसार २८५९ औँ सोनाम ल्होछार हो।
प्रत्येक वर्ष १/१ वटा जनावर तथा जीवजन्तुको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदाइ गरी बिरालो वर्गलाई स्वागत गरिँदै छ। सोनाम ल्होछार यस वर्ष विक्रम संवत्अनुसार माघ ८ गते परेको छ।
यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिबिम्बित गर्छ। ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो।
ल्हो बाह्र वटा हुन्छन् अर्थात् तामाङ भाषामा ल्होखोर च्युङी पनि भनिन्छ। विभिन्न बाह्र वटा पशुपन्छीको नामबाट ल्होको नाम राखिएको हुन्छ। बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक/एक वटा ल्हो फेरिन्छ। यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोवा, ल्हो दोवा वा ल्होछार भनिन्छ।