निदाएको बेला सपनाहरू धेरैले देख्ने गर्छन् । ती सपनाहरू मध्ये धेरै सपना फगत सपना भएर आउँछन् र जान्छन् । त्यसको तथ्याङ्कमा कुनै हिसाबकिताब राखिँदैन । सायद त्यो सम्भव पनि नहोला । त्यसैले त मान्छेहरू निसंकोच सपनाहरू देख्ने गर्छन् । तर उठदैं–जागेको अवस्थामा जीवनको अध्याँरो कुनाबाट खिरिलो उज्यालो किरणसँगै देखिएको सपनाहरूले मानिसलाई जीवनभर ऊर्जाशील भएर बाँच्न प्रेरित गराउँछ । ती सपनाहरूको आड र भरोसामा जीवनका दैनिकीहरू सदैव सङ्घर्षशील र क्रियाशील भएर अघि बढ्ने गर्दछ । त्यसैले त ती सपनाहरूको लागि जीवन सङ्घर्षले तय गरेको दुरीहरूको असाध्यै माया लागेर आउँछ । तिनै माया लाग्दो सपनाहरू बोकेर जीवन सङ्घर्षमा लामो समय समर्पण गरेका अभियन्ता कुमार योन्जन तामाङको आत्मकथा हो सपना र सङ्घर्ष । पुस्तकलाई याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको हो । पुस्तकमा जम्मा तीस वटा मूल शीर्षकभित्र उपशीर्षकहरू रहेका छन् ।
नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको बोखिम पान्धारे आहाले गाउँमा जन्मिएका कुमार योन्जन तामाङ ग्रामीण परिवेशमा बुबाआमाको न्यानो काखमा लुटपिटिदैं पिसिरो पातको भाकासँगै उकालो ओरालो गर्दै हुर्किन्छ । पर्वते भाषाले उपनिवेश विस्तार गरिरहेको अवस्थामा विद्यालयमा मातृभाषा तामाङ बोल्दा ‘गाइखाने कुरा’ गर्यो भनेर साथीहरूले खिसिटयुरी गर्छ । जसको कारण मातृभाषाको स्वाद बिस्तारै जिब्रोबाट हराउँदै जान्छ । त्यससँगै बोलाउने आफ्नै नामहरू पनि पर्वते भाषामा स्थापित भएको सन्दर्भलाई पुस्तकको पहिलो शीर्षकमा सविस्तार चर्चा गरेका छन् । यसै शीर्षकको उपशीर्षकभित्र कुल र वंशको इतिबृतान्त, गाउँको सेरोफेरो, रमाइलो बाल्यकालसँग रवण गर्दै स्मरण गरेका छन् । घरको छैटौँ छोराको रूपमा ठूलोकान्छा, विद्यालय भर्ना भएपछि रामकुमार र प्रमाणपत्रमा कुमार योन्जन भएपछि यही कर्मको नामले आज लोकमा दरिएका छन् । कतिपय बितेका पलहरूलाई स्मृतिका पानाहरूबाट टाढा राख्न खोजिए पनि झनै गाढा बनेर नजिक आउने गर्छन् । अझ आफूसँगै साक्षी रहेका पलहरूले त सताउने नै गर्छन् । पुस्तकभित्र पनि आफूभन्दा आफूभन्दा मुनिको भाइको असामयिक निधनलाई फर्केर हेरेका छन् । क्षणिकको दम्भ, रिस, आवेग, बदलाको भावलाई नियन्त्रण गर्न नसक्दा हुने क्षतिको विवरण प्रस्तुत गरेका छन् । तत्कालीन समयको फेरोमा गाउँ पञ्चायतको उपप्रधान पन्चमा निर्वाचित हुनु चानचुने कुरा थिएन । तिनै राजनीतिक चेतको पृष्ठभूमिमा सन्तानहरू हुर्किए । ‘शिक्षा घाम हो, यसले अँध्यारोमा बाटो देखाउँछ’ जन्म दिने बुबाको यही प्रेरणादायी वाक्यांशलाई घरका पाँच भाइ छोराहरूले ऊर्जाको रूपमा लिए । आफ्नो कर्ममा निरन्तर सङ्घर्ष गरे । त्यसै गरी ममतामयी आमाको सन्तानप्रति त्याग र समर्पणलाई धरतीको रूपमा बुझे । सन्तानले अनुमोदन गरे । त्यसैको प्रतिफल बुबा दुर्गाबहादुर तामाङ र आमा गोपीमाया तामाङका सन्तानहरू आज आफ्नै नाम र कामले चिनिएका छन् । भोजपुरको टक्सार हाई स्कुलमा जीवनको पढाउने पहिलो जागिरे अनुभव बटुल्दै काठमाडौँ उतारेसँगै सपनाहरूसँग साक्षात्कार गर्ने सुरु गरे । महिला दाज्यूको सेपिलो छाया, ल क्याम्पसको परिसरभित्र आदर्श विचार र मान्यताका लागि राजनीति रङ्गहरूमा घुल्दै गए । ‘राता मान्छे बन्ने सपनाहरू’ तीव्र बन्दै गए । यी प्रसङ्गहरूलाई पुस्तकको फलामे ढोका पार गरेपछि र जब रङ्ग लाग्न थाल्यो शीर्षकमा वर्णन गरेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनलाई नेपालको राजनीतिक आन्दोलनको महत्त्वपूर्ण आन्दोलनको रूपमा लिने गरिन्छ । तिनै आन्दोलनले तय गरेको दुरी पनि हो २०४६ सालमा प्राप्त प्रजातन्त्र । तिनै दश वर्षको अवधिमा भए गरेका व्यक्तिगत र राजनीतिक उपलब्धिलाई पुस्तकमा मैले भेटेको पहिलो कम्युनिस्ट नेता, पहिलो जेल यात्रा, जेलभित्रको यातना, जुडो हलको शपथ, जेलमा विरोध गर्ने तरिका, अर्थ नबुझी नबुझी नारा आदि उपशीर्षकहरूमा चर्चा गरेका छन् ।
पंचायाती व्यवस्थाभित्रको सामन्ती राज्यसत्ता, बुहदलिय प्रजातन्त्र व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म आइपुग्दा राजनीतिक तथा सामाजिक अभियन्ताको जीवनले भोगेका घटना परिघटनाहरूको शृङ्खलाहरूको अभिलेख पनि हो । पुस्तकले समग्र तिनै व्यक्तिले देखेको, बुझेको र भोगेको राजनीति परिवर्तनकारी युगको चित्रलाई विगतबाट निकटमा ल्याएर बुझ्न मद्दत गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
२०४६ सालपछि योन्जन जनदेश साप्ताहिकको कार्यकारी सम्पदा बनेर काम गरे । २०५१ साल, चितवन जिल्ला, जेठ महिनाको दिनहरू, उखरमाउलो गर्मी, कुखुराको खोर, उन्माद एकोहोरो गन्ध, तीन सय बिस जना मानिसहरूको विशाल तर शान्त र संयम भीडमा सोह्र दिनसम्मको चलेको निरन्तर बहस तत्कालीन नेकपा माओवादीको पहिलो राष्ट्रिय सम्मेलन थियो । त्यसले तय गरेको राजनीतिक रणनीतिक कार्य योजनाभित्र जातीय स्वशासन, अग्राधिकार र आत्मनिर्णयका अधिकारलाई कडा रूपमा उठाए । त्यसैभित्र बहसमा कित्ताहरू विभाजित भए । आत्मनिर्णय अधिकार स्थगन भयो । यद्यपि त्यसैको आधारलाई टेकेर अखिल नेपाल जनजाति सङ्घ स्थापना गरियो । त्यसको महासचिवको जिम्मेवारी सम्हाले । ‘आफ्नो लागि लागि आफै बोल्नु पर्छ’ भन्ने चेतले जातियताको विषयलाई प्रवेश गराए । जनयुद्धले बिस्तारै उचाइ लिदैं गयो । तर जातीय मुक्ति मोर्चाहरूलाई जन वर्गीय सङ्गठनको रूपमा बुझ्ने र गैर जातीय इन्चार्ज तोक्ने पार्टीको माथिल्लो नीतिमा चित्त बुझाउन अवस्थामा थिएन । पुरै पार्टी युद्धको महत्त्वपूर्ण अवस्थामा रहेकोले यी कुराहरू बाहिर आउने अवस्थामा पनि थिएन । यसले जातिवादी भएको आरोप बिस्तारै पार्टीभित्र फैलाउन थालियो । फलस्वरूप सक्रिय भूमिकाबाट पाखा लगाउँदै लगे ।
कानुनी पृष्ठभूमि भएको कारण पार्टीले कानुन, न्याय र मानवअधिकारको भूमिकामा योग्य ठानियो । त्यसैको आवरणमा चर्को मानवअधिकारकर्मीको रूपमा सतहमा देखिए । तर त्यसको तथ्याङ्क प्रशासनले राख्दै गरेको तथ्यलाई कहिल्यै कम नजर अन्दाज गरेन । पार्टीभित्र अन्तर्द्वन्द्व र विरोध कायमै रहे पनि आफ्नो भूमिकाबाट किञ्चित विचलित भएन । सङ्कटकालको अवधिमा जनअधिकार सरोकार अभियानको हैसियतबाट मानवअधिकारको पर्यवेक्षण टोलीमा मिसिएर युद्धग्रस्त जिल्लाहरूको भ्रमण निस्किए । जाजरकोट जिल्ला प्रहरी कार्यालय परिसरमा ‘बरु कि मुक्ति, कि मृत्यु हाम्रो बाटो हो’ भन्ने कमरेड लक्ष्मी शर्माको भाषणबाट उच्च ऊर्जाशील भई रहे । २०५८ सालको मङ्सिरमा सङ्कटकाल सुरु भएपछि मानवअधिकारको बिल्लाले काम गर्न छोड्यो । यस अघि इन्टर्नसिप कोर्षको लागि बेलायतमा बिताएका महत्त्वपूर्ण क्षणलाई पुस्तकमा वर्णन गरेका छन् । वर्णनको क्रममा फर्केर आउँदा पार्टीमा भूमिका विहीन बनाएकोमा गहिरो चित्त दुखाएका छन् । कसिलो सुरक्षाका कारण नेतृत्वलाई भेटेर आफ्नो कुरा राख्न सजिलो थिएन । आफू स्वयम कुनै पनि बेला गिरफ्तारीमा पर्न सक्ने हुनाले कहिले आसाम, कहिले दिल्ली त कहिले आफ्नै घरमा रहेर सङ्कटकाल निकै सकसपूर्ण तरिकाले बिताएको दिनहरूलाई पुस्तकको हरफहरूमा गनेका छन् । तर यो अवधिलाई पूर्ण रूपमा आफ्नो जाती, वंशको सांस्कृतिक तथा सामाजिक पक्षको अध्ययनको अवसरको रूपमा भरिपूर्ण प्रयोग गरे ।
राजनीतिक घटना क्रम र जनयुद्ध उत्कर्षमा चलिरहेको अवस्थामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गरेर राजा ज्ञानेन्द्र सक्षम बन्ने कोसिस गरे । राजनीतिक दल एकातिर परम्परागत शक्ति अर्कोतिर विभाजित भए । १९ दिनसम्म अभूतपूर्व जनआन्दोलन भयो । देशमा संसद् पुनर्स्थापना भयो । २०६३ सालमा अन्तरिम संविधान जारी भयो । संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा परम्परागत शक्ति रूपको २०५ वर्षभन्दा बढी आयु रहेको राजसंस्थालाई सधैँका लागि बिदा गर्यो । त्यस लगायत संविधान निर्माणको क्रममा पहिचान सहितको संङ्घीयता निर्माणको लागि पहिचानवादी र पुरातनवादी शक्तिहरू बिच भएको सङ्घर्ष र कसरतको फेरस्तितलाई अघि सारेका छन् । त्यसमा पनि अझ नेवा: ताम्सालिङ प्रदेश सङ्घर्षको कथालाई पिँधबाटै उठाएका छन् । अन्तरिम संविधान २०६३ को मस्यौदा समितिका सदस्य भएर भूमिका निर्वाह गर्दै गर्दा पार्टीको सक्रिय राजनीतिक भूमिकाबाट बिस्तारै सामाजिक अभियन्तामा रूपान्तरण हुँदै गए । नेपालको आदिवासी जनजाति आन्दोलनको केन्द्र विन्दुमा रहेर नेतृत्व गरे । यस अवधिमा उनले आदिवासी जनजाति आन्दोलनलाई रेसारेसाबाट केलाउँदै त्यसभित्रका बेथिति, प्रकृति—प्रवृत्तिलाई राम्रैसँग खुट्ट्याए । यस विषयमा नेपालको रैथाने आन्दोलनको शीर्षकमा सविस्तार चर्चा गरेका छन् । नेपाल तामाङ घेदुङको २०६४ को महाअधिवेशनमा महासचिव हुँदै २०६८ को सातौँ महाअधिवेशनबाट अध्यक्ष बने । तामाङ समाजको सांस्कृतिक पुनर्जागरणलाई थप उचाइ प्रदान गरे । त्यसै गरी नेपाल सरकारको प्रशासकीय अदालतको न्यायाधीशको रूपमा २०६९—२०७५ सेवा गरे ।
मान्छेले नै किन निर्माण गर्छ कथा ? किनभने ऊ सपना देख्ने सामर्थ्य राख्छ । (जोगाथान गोस्वल) सपना देख्ने सामर्थ्य थिएन भने मान्छेहरूसँग कथाहरू हुने थिएनन् । हो, तिनै सपनाहरूले बनाएको कथाभित्रको सङ्घर्षका कथाहरू हुन् अभियन्ता कुमार योन्जन तामाङको प्रेरक जीवनकथा सपना र सङ्घर्ष । कथाभित्र आफू जन्मेको, हुर्केको माटोप्रति बेस्सरी प्रेम भेटिन्छ । पहाडी जीवनभित्रको सांस्कृतिक चाड लुतो फाल्ने सङ्क्रान्ति र प्यारो ढुङ्गे डाँडोलाई अझै बिर्सन सकेका छैनन् । नेपालभर भोजपुरको शान र पहिचानसँग जोडिएको भोजपुरे टक्सारको बाँडाहरूको करुवा बनाउने सीप र खुकुरी बनाउन सिपालु शिल्पी सिनेकार्मी र गजे कामीको योगदानलाई ग्रामीण परिवेशबाट स्मरण गरेका छन् । जीवनको पहिलो कमाई आमाको हातमा थमाउँदा आमा खुशी भएको क्षणलाई आज पर्यन्त ताजा राखेका छन् । समाज परिवर्तनका लागि विद्रोहका आगोका लप्काहरू पुस्तकभरि यत्रतत्र छरिएका भेटिन्छ । प्रगतिशील नाराहरू लगाएर कतै थाकेका छैनन् । महँगीको नारा त्यति बेला पनि लाग्दथ्यो अहिले पनि लाग्छ । फरक यति त्यति बेला डराएर लाग्दथ्यो अहिले बौलाएर लाग्छ । (पृ.१०४) यस अर्थमा कथाहरूले समयको दुरीलाई नापेका छन् । जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गीय, उत्पीडनको मुद्दालाई युद्धभित्र र बाहिर दरोसँग उठाएका छन् । राजनीतिभित्र हुने छलकपट त्यसले ल्याउने विचलनलाई राम्ररी बुझेका छन् । भनिन्छ, हरेक परिवर्तनमा आस हुन्छ । ती आसहरूलाई आत्मसात् गरेका छन् । आफ्नो समाजको सिङ्गो सांस्कृतिक सम्पदालाई चिनाउन सफल भएका छन् । आदिबासी जनजाति आन्दोलनलाई नजिकबाट बुझेका योन्जनले जातीय संस्थाहरू दलीय राजनीति कित्तामा विभाजित भएको स्वीकारेका छन् । बर्नाड साले भने झैँ ‘नचाहिने ठाउँमा देखाइने बहादुरीलाई मूर्खता’ को संज्ञा दिएका छन् । जनजाति आन्दोलनभित्रको गुटउपगुटको चिरफार छन् । आगामी दिनमा जातीय आन्दोलनको निर्मम ढङ्गले समीक्षा गर्न जरुरी ठान्दै त्यसको लागि सुरुबाटै सुरु गर्नु पर्ने ठम्याइलाई अघि सारेका छन् । त्यति मात्र होइन अविकासको मूल कारण रहेको नेपालको वर्णव्यवस्था र त्यसले उत्पादन गरेको ब्राह्मणवादी चिन्तनको विरोध गरेका छन् ।
हरेकको जीवनका आफ्नै भोगाइहरू हुन्छन् । ती भोगाइहरूले आफ्नै साँधहरू निर्माण गरेका हुन्छन् । ती साँधहरूबाट जीवन कथालाई कति लेख्ने नलेख्ने त्यो नितान्त वैयक्तिक विषयहरू हुन् । यस अर्थमा आत्मकथा आत्मपरिक्षण पनि हो । कथाहरू लेख्दा कत्तिको इमानदारिता भयो भएन । त्यो झनै निजी विषय हो । किनभने लेखिएका कथाहरूको हिसाब माग्ने कुरा पनि रहँदैन । कथाहरूमा योन्जन वैचारिक दुबिधामा देखिन्छ । बुद्ध र माक्सलाई सँगै जोडिएर बुझ्ने कोसिस गरेका छन् । जसले गर्दा कथाहरूमा राजनीति चरित्रलाई बलियोसँग समाउन सकिएको छैन । घरपरिवारका कुरा निकै दोहोरिएका छन् । पुस्तक पढ्दै गर्दा क्रमबद्धको अभाव खट्किन्छ । गुनासाहरुका खात छन् ।
समग्रमा प्रस्तुत आत्मकथा सीमान्तकृत वर्गको आत्म पहिचानको लागि एक सङ्घर्षशील अभियन्ताको कथा हो । सामाजिक न्याय र राजनीतिक अधिकारको लागि अभाव र दबाबको बिचमा बसेर लड्न सक्ने निर्भीक योद्धाको कथा पनि हो । सादगी, सरल, र मितव्ययी जीवनको कथा पनि हो । कथाभित्र त्याग र समर्पणका आयामहरू प्रशस्त पाउन सकिन्छ । त्यति मात्र होइन पंचायाती व्यवस्थाभित्रको सामन्ती राज्यसत्ता, बुहदलिय प्रजातन्त्र व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म आइपुग्दा राजनीतिक तथा सामाजिक अभियन्ताको जीवनले भोगेका घटना परिघटनाहरूको शृङ्खलाहरूको अभिलेख पनि हो । पुस्तकले समग्र तिनै व्यक्तिले देखेको, बुझेको र भोगेको राजनीति परिवर्तनकारी युगको चित्रलाई विगतबाट निकटमा ल्याएर बुझ्न मद्दत गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।