धार्मिक एवं संस्कृतिले महत्त्वपूर्ण सैलुङ डाँडामा केही दिनअघि मोटरसाइकल पुर्याइएको भिडियो अहिले भाइरल भइरहेका छन् । महाभारत शृङ्खलाको उच्च पर्वत सैलुङ डाँडामा सवारीसाधन लैजानका लागि रोक लगाइएको छ । तर केही दिनअघि आन्तरिक पर्यटकका रूपमा सैलुङ पुगेका सिसन बानियाँको टिमले मोटरसाइकल पुर्याएर क्षेत्रलाई अपवित्र बनाएको छ ।
सैलुङ डाँडासम्म सवारीसाधनका लागि सडक बनेको छैन । सडक निर्माण गरेर त्यहाँ रहेका थुम्काहरू कुरूप बन्ने र धार्मिक हिसाबले त्यहाँ कुनै सवारीसाधनको लैजान नहुने त्यस क्षेत्रका स्थानीयहरूको भनाइ छ । त्यस अनुरूप नै शैलुङ‚ मेलुङ र दोरम्बा शैलुङ गाउँपालिकाले पवित्र स्थललाई कुरूप नबनाउने हिसाबले बाटो नबनाएको हो । दोलखा र रामेछाप दुवै जिल्लाको शिर हो, शैलुङ डाँडा । यी ३ गाउँपालिकालाई अँगालेर आफ्नो बृहत् प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ शैलुङ।
सैलुङ डाँडा पर्यटनका लागि अति महत्त्वपूर्ण स्थान हो । जसमा सैलुङ डाँडामा सवारीसाधन लगेर त्यस क्षेत्रको थुम्काहरू कुरूप बनाउनु नहुने त्यहाँका स्थानीयहरूले बताउँदै आइरहेका छन् ।
मानिसहरू सैलुङ घुम्न जानका लागि दोलखाबाट कालापानी र रामेछापबाट खोला खर्कसम्म सवारीसाधनका लागि सडक बनेको छ । त्यहाँबाट त्यस क्षेत्र घुम्नका लागि पैदल यात्रा गर्न सकिन्छ ।
केही दिन अघि सिसन बानियाँको युट्युबमा अपलोड भिडियोमा सैलुङ डाँडामा मोटरसाइकल पुर्याइएको छ । यो नै पहिलो पटक सवारीसाधन पुर्याइएको हो । यस अघिसम्म कसैले पुर्याउने र लैजाने आँटसमेत गरेका छैनन् । त्यहाँ सवारीसाधन पुर्याउने अनुमति कसले दियो ? त्यो प्रश्न उब्जिएको छ ।
स्थानीय तह सैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार त्यो पवित्र भूमि हो । त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले सवारीसाधन लैजाने‚ फोहोरजन्य पदार्थले कुरूप बनाउँदै लैजाने हो भने त्यसको अस्तित्व हराउँदै जाने बताए ।
समुद्र सतहदेखि ३१४५ मिटर उचाइमा रहेका सैलुङ पवित्र थलो हो । त्यसको स्थानलाई प्रचारप्रसार हिसाबले जे पायो त्यही गर्नु नहुने दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताए । उनका अनुसार त्यस डाँडामा कुनै पट्टिबाट सवारीसाधन पुर्याउने अथवा गाडी वा बाइक चढेर जाने छुट कसैलाई नभएको बताए । अध्यक्ष मोक्तानले भने‚‘त्यहाँ सवारीसाधन पुर्याइएको हो भने दोरम्बा शैलुङ‚ मेलुङ र शैलुङ गाउँपालिकाले छलफल गरेर आवश्यक नियमनका प्रक्रिया अगाडि बढाउनेछ ।’
यसै गरी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले सैलुङलाई प्रचारप्रसार गर्नुपर्छ तर त्यस क्षेत्रमा सवारीसाधन भने प्रतिबन्ध रहेको जानकारी दिए । उनले सडक नै नभएको स्थानमा सवारीसाधन लगेर मनपरी ढङ्गले प्रस्तुत भएको पाइएमा कानुनी कारबाहीको भागीदार हुने बताए ।
सिसन बानियाँको युट्युब च्यानलमा यो समाचार बनाएको तीन दिनअघि SAILUNG | Awesome Saturdays | Ride Vlog | शीर्षकमा अपलोड भिडियोमा रामेछाप पट्टीबाट पुगेको दृश्यहरू देखिन्छ । तर सैलुङ डाँडामा दोलखाको कालापानी पट्टीबाट मोटरसाइकल डाँडामा पुर्याइएको दृश्य देखिन्छ ।
प्रचारप्रसारको हिसाबले बनेको भिडियो राम्रो भए पनि सैलुङ डाँडामा उनीहरूले पहिलो पटक मोटरसाइकल पुर्याइएको हो ।
सैलुङका स्थानीयका अनुसार ने (चोखो डाँडा‚ जहाँ देवताहरू बस्छन्) मा कसैले अपवित्र कार्य गरेमा त्यहाँका देवताहरू रिसाउने र अपवित्र गर्नेलाई नराम्रो हुने समेत बताएका छन् ।