मानव बेचबिखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपालिका-३ बस्ने ४४ वर्षीय रबी थापा मगर भन्ने लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् । उनीहरूमध्ये रविलाई काठमाडौँ महानगरपालिका-३ र डम्बरलाई काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित न्यू लक्ष्मी मार्ग गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरूद्वारा श्रम शोषण गरेको उजुरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ ।

उजुरीमा लेखिएको छ‚‘कुवेतमा रहेको रोयल रेस्टुरेन्टमा वेट्रेसको काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दीनार तलब हुने गरी लगाई दिने र सो रेस्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेस्टुरेन्टमा समेत पटाइदिन्छु भन्ने प्रलोभन देखाई गत मङ्सिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरू मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रम शोषण गरेको हो ।’

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले कुवेतमा रहेको नेपाली राजदूतावाससँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्धार गरी नेपाल ल्याएको हो ।

कुवेतमा बस्ने प्रतिवादीले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायतका सामाजिक सञ्जालहरू प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग अश्लील कुराकानी गरेको र कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान् लगायतका आफन्तलाई पटाइदिने धम्की दिने गरेको र विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजी खुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात् कोही कसैलाई उजुरी गर्दिन भन्ने ब्यहोराको कागज समेत गराएको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी गर्ने साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका