बौद्ध भेट्रान फुटबल क्लबद्वारा ‘चित्रकुमार स्मृति भेट्रान कप २०७९’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराकासाथ यही फागुन १४ देखि २० गतेसम्म बौद्ध टाउन प्लानिङ मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट २४ टिमले सहभागी जनाउन सकिने आयोजक संस्थाका अध्यक्ष विवेक लामाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार र द्वितीय ७५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै उत्कृष्ट किपरलाई नगद ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, खेलमा बढी गोल गर्नेलाई ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
संस्थाले प्रतियोगिता सम्पन्नका लागि उपसमितिहरू गठन गर्ने निर्णय गरेका छन् भने संयोजक र कार्य विभाजनका लागि अर्को बैठकले निर्णय गर्ने क्लबका अध्यक्ष लामाले जानकारी दिए ।
प्रतियोगिताको सहभागिता लागि आयोजक संस्थाका अध्यक्ष र कोषाध्यक्षसँग सम्पर्क गर्न सकिनेछ । यसै गरी सहभागी टिमले सम्पूर्ण खेलाडीको परिचय खुल्ने नागरिकता अनिवार्य गरिएको छ ।
यस्तै क्लबका संरक्षक दिलीप लामाले पहिलाका जस्तै गरी यो प्रतियोगिता पारदर्शिता र विवादरहित सफल बनाउनु पर्नेमा सबैलाई अनुरोध गरेका छन् ।
क्लबले यसअघि २०७५ चैत्रमा चित्रकुमार स्मृति भेट्रान कप पहिलो प्रतियोगिता आयोजना गरेका थिए ।