नेपाल टेलिकमले १९ औँ वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिए ।
जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ ।
उनले भने‚‘कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी विस्तार गरिरहेको छ । यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्याउने योजना अघि बढाइएको छ ।’
सात सय ३९ स्थानीय तहमा फोरजी वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।
फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रूपमा ई–सिम कार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।
डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ ।