पहिचानको कुरा !

काठमाडौं

शाब्दिक पक्ष

पहिचान नेपाली भनिएको भाषाको नाम शब्द हो । नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएअनुसार यसको अर्थ (१) चिनाजानी, परिचय, प्रत्यभिज्ञान । (२) कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम, पारख साथै (३) जाँचबुझ हुन्छ । त्यसो त हिन्दी भाषामा पनि पहिचान शब्दको प्रयोग देखिन्छ । विषयगत प्रसङ्गमा पहिचानको अर्थ चिनारी हो । चिनारी शब्द चिह्न-आरीको संयोगबाट बनेको उल्लेखित शब्दकोशमा दाबी गरिएको छ ।

पहिचानलाई प्रत्यभिज्ञान पनि भन्न सकिँदो रहेछ । यसलाई प्रत्यभिज्ञा पनि भनिएको देखिन्छ । प्रत्यभिज्ञा संस्कृत भाषाको नाम शब्द होस जसको अर्थ (१) पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान साथै (२) चिनापर्ची, चिनारी, परिचय हो । उल्लेखित शब्दकोशले प्रत्यभिज्ञा र प्रत्यभिज्ञानको अर्थ एउटै लगाएको छ ।

यस प्रकार पहिचानलाई प्रत्यभिज्ञा वा प्रत्यभिज्ञान पनि भन्न सकिने भयो । त्यसो त पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान भन्न सकिन्छ । यसले के स्पष्ट पार्दछ भने, पहिचानसँग पहिलेका कुरा वा प्रसङ्ग अर्थात् इतिहास जोडिएको हुनुपर्ने रहेछ । त्यस्तै गरी अहिले अर्थात् वर्तमानमा पनि ती पहिचान गरिएका आधारका विद्यमानता कायम रहेको हुनुपर्दछ: जसको आधारमा सम्बन्धित पक्षको ऐतिहासिकतासँग जोडिन सकियोस् । विगतमा देखिएको आधारमा अहिले चिन्न सकियोस् ।

त्यसो हो भने, विगतमा देखिएको वा रहेको पहिचानको आधार समाप्त पारिएको हुनु भएन । यदि समाप्त पारिएको रहेछ भने अहिले देखिएको वा भेटिएको अवस्थाको स्वरूपबाट विगतसँग जोडिन नसकिने हुन्छ । फलस्वरूप अहिलेको अवस्थालाई हेरेर विगतको ज्ञान वा प्रत्यभिज्ञान गर्न नसकिने हुन्छ । त्यसो हुने बित्तिकै उसको पुरानो पहिचान समाप्त हुनपुग्छ । पुरानो पहिचान समाप्त हुनु भनेको इतिहासदेखि छुट्टिनु हो । इतिहास बिनाको वर्तमान प्राणबिनाको देह समान हुन्छ ।

पहिचानको समानान्तर अङ्ग्रेजी शब्द आइडेन्टिटी भनिएको छ । यहीनेर तामाङ भाषामा यसको लागि कुनै शब्द छ कि छैन भन्ने एउटा नयाँ जिज्ञासा हुन्छ । अङ्ग्रेजीको आइडेन्टिटी तथा नेपाली भनिएको भाषाको पहिचानलाई तामाङमा ङोसेक्ब भन्ने गरिएको छ । यसको अर्थ पनि चिन्नु भन्ने हुन्छ । चिन्नुको लागि त्यसअघि देखिएको हुनुपर्दछ । सोही आधारमा आज भेटिँदा चिन्न सकिएको हुन्छ । पहिलो पटक भेटिएर चिन्न सम्भव हुँदैन । परिचय वा चिनजान गरिसकिएपछि अर्थात् अञ्जना व्यक्तिसँग एकै क्षणअघि परिचय गरिएपछि चिन्न थालिन्छ ।

यस्तै गरी कोही कसैले पठाएका व्यक्तिले भेट्न आएका अवस्थामा सुनेको नाम र हुलियाको आधारमा पनि नयाँ व्यक्तिले फलानाले भनेको व्यक्ति म नै हुँ भनेर चिनाएपछि बल्ल चिन्न थालिन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको चिनारी मस्तिष्कमा भण्डार हुन्छ । चिन्ने क्रममा नै मानौँ टेलिभिजनमा देखिएको वा प्रत्यक्ष दृश्य संवाद वा आवाज सुनिएको व्यक्तिसँग पछि भेटिँदा पनि चिन्न सकिन्छ । यस प्रकार कुनै पनि व्यक्तिलाई चिन्नको लागि अघिबाटै कुनै न कुनै आधारमा चिनिएको हुनुपर्ने रहेछ भन्ने स्पष्ट हुन्छ ।

समाज बनाउँदै नेपाल लगायत विश्व जगत्लाई परिवर्तनको संवाहक बनेर देखाउने चाहना, क्षमता र ज्ञान हुनेले त आफू लगायत समुदाय अनि दुनियाँको भाइरसले ग्रस्त हार्डडिस्क जस्तो दिमागको फर्म्याट गर्न सक्नुपर्छ । त्यसपछि राष्ट्रगत रूपमा आ-आफ्ना मौलिक सफ्टवेयरलाई सही साथै विधिपूर्वक इन्स्टल गर्न सक्नुपर्छ ।

पहिचानको आवश्यकता

जो जसले माने वा नमाने तापनि नेपाल पहिचानको मुद्दामा रहेको छ । त्यसो त विश्व जगतमा पहिचानको मुद्दा नभएको स्थान छैन । यदि पहिचानको मुद्दा नभएको भए मान्छे केवल मान्छे हुने थियौं । देशी विदेशी, नश्ल नश्लीय, जाति, राष्ट्र भन्नुपर्ने थिएन । त्यसो त यो र त्यो धर्म भनेर पनि भनिरहनु अनि मानिरहनुपर्ने थिएन । विवाह गर्न मिल्ने वा नमिल्ने साइनो भनेर केलाउनुपर्ने थिएन । त्यो बाटोमा लागेको भए मान्छेलाई पनि बेग्लै प्रजातिको पशु अन्तर्गत राख्नुपर्ने हुन्थ्यो तर स्मरणीय तथ्य, मान्छे पशु होइन ।

त्यसैले मान्छेलाई नैतिकता आवश्यक परेको हो । नैतिकवान् बनाउनको लागि नियमका आवश्यकता खट्किएको हो । नियमको लागि देश(देशावरता, जाति, नश्ल, समुदाय वा राष्ट्रियता साथै विवाह गर्न मिल्ने र नमिल्ने साइनोसहितको व्यवस्था आवश्यक महसुस गरिएको हो । सोही क्रममा गाउँ बस्ती, एकै राष्ट्रको लागि पनि ह्रुइरथर र क्लान व्यवस्था स्थापित गर्नुपरेको हो । भौगोलिक आधारमा समेत फरक फरक व्यवस्था बाँध्नुपरेको हो । यहाँ फरक भूगोलमा फरक नश्ल वा समुदायका मान्छे मात्रै नभएर एउटै समुदायभित्र पनि फरक फरक आधारमा फरक भएका मान्छे वा पहिचान रहेका छन् ।

यसबाट के स्पष्ट हुन्छ भने, मान्छेलाई नैतिकवान् बनाउन, अधिकारको उपयोग गर्न, सामाजिक उत्तरदायित्व वहन गराउनको निमित्त पहिचान आवश्यक परेको हो । मान्छेलाई मान्छेको रूपमा चिनेर काम, कर्तव्य र अधिकार तोक्न नसकिएको खण्डमा न्याय व्यवस्था स्थापित हुँदैन । अन्यायले मान्छेलाई मान्छे बनाउँदैन । स्वत्वको प्रसङ्ग बिना पहिचान बन्दैन । पहिचानबिना काम, कर्तव्य र अधिकार तोक्न सकिँदैन । यसैले पहिचान पहिलो आवश्यकता भएको हो ।

पहिचानका आधार

पहिचानको पनि आफ्नै निश्चित आधारहरू छन् । माथि गरिएका चर्चाहरूबाट पनि धेरै विषयहरू स्पष्ट भइसकेको हुनुपर्दछ । यस प्रकार पहिलो आधार इतिहास रहेछ । इतिहास अन्तर्गत आदिम भूमि, भाषिक सांस्कृतिक रीतिथिति, परम्परा तथा नश्लीयता पर्दछन् । यिनै विगतलाई मस्तिष्कमा स्थापित गरिइसकेपछि मात्रै अहिलेको अवस्था वा परिवेशसँग दाँजेर हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा अहिलेको अवस्थितिले विगतको झल्को दिन्छ वा सोही आधारमा चिनाउँछ भने उसको पहिचान हुन्छ ।

यस प्रकार पहिचानको आधार स्पष्ट हुन्छ । यसैलाई तामाङ भाषामा भन्नुपर्दा, तामाङको कैरन: केस, ठुङ्स र बप्सस धार्मिक आस्थासहितका ग्योइठिम लठिम, क्योनठिम, केठिम, शोठिम, शिठिम, ह्रुइठिम, रिमठिम, ह्युलठिम, थुमठिम, छ्योइठिम साथै ठिगर नै पहिचानको आधार हुन् । यी आधारहरू गुमाइसकेका वा गुमाउने हो भने पहिचान समाप्त हुनेछ । पहिचान समाप्त पार्ने हो भने तामाङ भन्नु र ताम्सालिङको कुरा गर्नु बेकारको बकबक मात्रै हुनेछ ।

नेपालमा प्रचलित भनिएको संविधानले पनि हरेक राष्ट्र (समुदाय) लाई सामाजिक, सांस्कृतिक साथै धार्मिक अभ्यासको लागि स्वतन्त्रता दिएको छ । यही आधारमा चोहोव्यवस्थाको अभ्यास थाल्नु नै पहिचान स्थापित गर्ने अबको एक मात्र मौलिक साथै सम्यक् बाटो हो ।

पहिचान के होइन ?

पहिचान के हो भनेर चिन्नको लागि के होइन भनेर पनि चिन्न आवश्यक पर्दछ । अब तामाङको पहिचान के होइन भनेर नै हेरौँ । तामाङ मङ्गोल नश्ल इतर राष्ट्र होइन । यसको अर्थ हाल अस्तित्वमा रहेको मङ्गोल देशबाट आएका वा त्यहाँको बासिन्दा भन्न खोजिएको होइन । यो त केवल विश्व साहित्यमा मानवसभ्यताहरूलाई विभक्त गर्ने क्रममा जुराएका नाम मात्रै हो ।

यस प्रकार तामाङ भनेको आर्य तथा काला पनि होइन । गोरा, चुच्चोनाकधारी, ठूलाआँखावाला, काला छाला भएका पनि होइन । तामाङ केसरठुङ्सर बप्ससँग नजोडिएका वा असम्बन्धित पनि होइन ।

धार्मिक रूपमा हिन्दु, ख्रिश्चियन र मुस्लिम पनि होइन । शुद्ध बौद्ध मार्गी मात्रै पनि होइन । तामाङ बुद्धिजम् यतिखेर तामाङलाई चिनाउने धार्मिक पक्ष बनेको देखिन्छ ।

तामाङको आफ्नै ठिगर रहेको छ । यो पूर्वधार्मिक, पूर्वराजनीतिक साथै पूर्वदेशीय अर्थात् सबैभन्दा पुरानो समाजमध्ये ताम्सालिङको पहिलो बासिन्दा हो । त्यसैले तामाङ भनेको कुनै राजनीतिक पार्टीमा लागेका वा त्यस्ता पार्टीका सदस्यता लिनु वा त्यस्ता व्यवस्थामा पस्नु, फस्नु, बस्नु अनि त्यसैका लागि घुँडा धस्नु पनि तामाङको पहिचान होइन । राजनीति र राज्यसत्तालाई नै पहिलो प्राथमिकतामा राख्नुस् राजनीतिलाई विकल्पविहीन साथै नीतिहरूका राजा मान्नु साथै राजनीति नगरेको कारण तामाङ पछि परेको निष्कर्ष निकाल्नु पनि तामाङको पहिचान हुन सक्तैन ।

तामाङ व्यवस्थाको बारेमा अज्ञात रहनुस् तामाङ समाज राजनीतिबाट नभएर रिमठिम (सामाजिक सांस्कृतिक) लगायतका पक्षबाट सञ्चालित रहेको तथ्यबाट अनभिज्ञ रहनु एवंरीतले तामाङमा शासन तथा प्रशासन प्रणाली नभई सञ्चालनको व्यवस्था भएको : शासक र शासित नभएको समाज भने नचिन्नु पनि तामाङ पहिचानको छनक पटक्कै होइन । नागरिकताको अवधारणा विपरीत सदस्यताप्रणालीमा आधारित हुनु नै तामाङ समाज भन्ने भुल्दै विगतमा तामाङ पुर्खा मारिएका भूमि खोसिएका साथै अझैसम्म फिर्ता नदिएका पक्षलाई नजरअन्दाज गर्ने वा लतार्ने कार्य पनि तामाङ पहिचानको आधार होइन ।

भाषिक रूपमा तामाङ भाषालाई दुत्कार्दै अङ्ग्रेजी लगायतका उपनिवेशकारी भाषाका पछि लाग्ने ह्रुइरी बप्प ह्रुइगी फो:ललाई कुरीति भन्नेस लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू र लामालाई ढुङ्गे युगतिर फर्काउने कारिन्दा भनी आरोप लगाउने, तामाङ पोसाकलाई बेवास्ता गर्ने वा घृणा गर्ने जन्मदेखि मृत्युसम्म गरिनुपर्ने रिमठिमलाई परित्याग गर्ने प्रत्येक महिनामा तामाङको कुनै न कुनै पर्व पर्छन् भन्ने जानकारी नराख्ने र त्यसका बारेमा गरिएका अनुसन्धान साथै विमर्शदेखि तर्सिएर कोलाकोला भन्दै रुनेस तामाङलाई पछौटे जाति मात्रै भन्नेस तामाङको केही छैन भन्दै हिँड्नेले पनि तामाङ पहिचानको आधार पूरा गर्न सक्तैनन् । त्यस कारण यस्ता हर्कताका मतियारहरू तामाङ होइनन् ।

को को हुन् तामाङ ?

ह्रुइगी फो:ल (दिमला घरघरको देउता) मान्ने ह्रुइ व्यवस्थामा आधारित लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू, लम(लामा) र ह्युल्बामा विश्वास गर्ने तामाङ ठिगरको आधारमा समाज सञ्चालन गर्ने भाषा, रिमठिम, पोसाकमा गर्व गर्ने नागरिकताको सट्टा सदस्यतामा विश्वास गर्ने बोम्बो, तम्बा, चोहो र लामा जस्ता गेन्दुन(संस्था)मा आबद्ध रहने अणुवांशिक रूपमा विशुद्ध रहेका जन्मदेखि मृत्युसम्म पनि तामाङ ठिगरलाई अवलम्बन गर्ने घामलाई अमा(आमा), जूनलाई (अगु वा अङी/अनी वा मम्) मान्ने, धर्तीलाई सप्चीलमो (धरामा तारदेवी) मान्ने गाउँ बस्तीलाई फह्युल (पितृ भूमि मान्ने)स प्राकृतिक संसाधनहरूलाई शक्तिका रूपमा मान्ने हरेक प्राणीलाई मानिसका सहकर्मी ठान्ने; ताम्सालिङको लागि खोर्वालिङ, जम्बुलिङ साथै थर्पेलिङ लगायतका खगोलीय ज्ञानलाई मौलिक मान्ने ज्ञानले युक्तहरू नै तामाङ हुन् ।

यसरी प्रस्तुत गरिँदा कतिपयलाई म चाहिँ तामाङमा पर्दो रहेछु कि रहेनछु भन्ने लाग्न सक्छ । स्मरणीय तथ्य चाहिँ यी सारा दाबी मेरो आफ्नै व्यक्तिगत होइनन् । यिनीहरू त समुदायमा भेटिएका हुनाले यहाँ प्रस्तुत गरेको मात्रै हुँ । यही आधारमा फलानाले यस्तो भन्यो भनेर नरुनु होला । यी त प्रस्तोताले खोज्ने क्रममा पहिचान गरेको आधारहरू हुन् तर प्रस्तोता आफैले बनाएको चाहिँ होइन ।

पहिचान प्राप्तिको बाटो ?

पहिचान प्राप्तिको बाटोमा तामाङ लगायतका विश्वभरि आबाद भूमि पुत्रहरू प्रायः अलमलमा देखिन्छन् । अमेरिकन देशहरूलाई हेर्ने हो भने धेरै अघि बढिसकेका पनि पाइन्छन् । नेपाली तामाङ नेता भनिएकाहरू यो मुद्दामा सबैभन्दा गए गुज्रिएका पुङ्माङ भन्दा फरक पर्दैन । तिनीहरू कुनै दलका सदस्यता हुनुलाई नै तामाङ हुनु भनी ठान्छन् । तामाङत्त्वलाई परित्याग गर्दै व्यवस्था परिवर्तनको नारा लगाउँछन् । मन्दिर र गुठीका नाममा तामाङका केस, ठुङ्स र बप्सहरू खोसिएका र अझैसम्म फिर्ता नपाएका घामजस्तो तथ्यलाई पनि देख्न सक्तैनन् ।

पहिचान प्राप्तिको बाटोकै प्रसङ्गमा के भन्न सकिन्छ भने, यसको लागि तामाङपन पहिलो आवश्यकता हो । पहिचान मागेर प्राप्त गर्ने वा तामाङ भन्न छोडेर सबै हामी नेपाली मात्रै भनेर बन्ने वा प्राप्त हुने विषय होइन । कसैले मन लाग्यो भनेर दिँदैमा दिइने र नदिइँदैमा नदिइने साथै खोस्दैमा खोसिइने चिज पनि होइन । यो त घामजस्तै स्वभावतः सिद्ध प्रसङ्ग हो । यो त आफैले स्थापित गर्ने विषय हो । अन्यसँग अनुमति मागेर वा खोजेर वा रोएर पाइने चिज होइन । आफैले अध्ययन गर्दै मौलिक स्वरूप प्राप्त गर्ने अनि दैनिकीमा अभ्यास गर्ने हो ।

प्रस्तोताले धेरैअघिदेखि तामाङ समाज राजनीतिमा आधारित होइन भन्दै लेख्दै र बोल्दै आएको छ । त्यस्तै गरी तामाङ ठिगरअन्तर्गत रिमठिममा आधारित रहेको पनि खुलासा गरेको छ किनकि माथि नै उल्लेख गरिएअनुसार नै पनि तामाङ समाज भनेको पूर्वधार्मिक साथै पूर्वराजनीतिक आदिम सभ्यताले युक्त वा सुशोभित समाज हो । प्राकृतिकतामा आधारित राष्ट्र हो । यी सारा विषयलाई नेपाली भनिएको भाषामा सामाजिक, सांस्कृतिक साथै धार्मिक पक्षको रूपमा भन्ने गरिन्छन् । नेपालमा प्रचलित भनिएको संविधानले पनि हरेक राष्ट्र (समुदाय) लाई सामाजिक, सांस्कृतिक साथै धार्मिक अभ्यासको लागि स्वतन्त्रता दिएको छ । यही आधारमा चोहोव्यवस्थाको अभ्यास थाल्नु नै पहिचान स्थापित गर्ने अबको एक मात्र मौलिक साथै सम्यक् बाटो हो ।

थाल्नुपर्ने पक्ष

तामाङ समाजले ढिलो नगरी मौलिकताको खोजी गर्ने वा गरिएका खोजीका निष्कर्षहरूलाई स्थापित गराउँदै जान सक्नुपर्छ । आफूलाई हिन्दु, ख्रिश्चियन, मुस्लिम राजनीति, विश्वव्यापीकरण साथै विकासका नाम वा बहानामा तामाङ पहिचान र आधार समाप्त गर्ने समाप्तिकरणलाई रोक्न सक्नुपर्छ । मिसिनरी धार्मिक आन्दोलन वा विस्तार वा उपनिवेशवादका विरुद्ध पहाडजस्तै उभिन सक्नुपर्छ । भाषिक क्षयीकरण, साहित्यिक संहार, तामाङ मौलिकता विपरीत निर्धारित पूर्ववत् हाइपोथेसिस सहितका इटिक रिसर्चहरूलाई इन्कार गर्न सक्नुपर्छ । पुस्ताहरूबिचका खाडल पुर्ने साथै मौलिकतामा आधारित सामाजिकीकरण प्रक्रियामा नयाँपुस्तालाई संलग्न गर्न सक्नुपर्छ । देशी विदेशी राज्यसत्ताहरूले स्थापित गराएका तामाङ (आदिवासी राष्ट्र) विरोधी भाष्यहरूका उन्मूलन गर्नुपर्छ ।

यी साराका लागि सबैभन्दा पहिलो आफ्नो दिमागलाई डिकोलोनाइज (अ-औपनिवेशीकरण) गर्न सक्नुपर्छ । म-हामी को हुँ (हौँ) भन्ने प्रश्न गर्दै सही उत्तरलाई भेट्टाउनुपर्छ । त्यस्तै गरी म(हामी) को होइन(होइनौँ) भन्ने बारेमा स्पष्ट हुन सक्नुपर्छ । त्यसपछि झर्रोवादी आन्दोलन चलाउनुपर्छ । पुराना भनिएका रिमठिममा भएका वैज्ञानिक वा विज्ञानसम्मत पक्षका खोजी गर्दै भविष्यसम्म हुने नयाँ प्रविधिको खोजी गरिनुपर्छ । तामाङ मगन्ते होइन; आफै कमाएर, आफैले जमाए, आफ्नो पितृ भूमिमा तामाङ ठिगरको अभ्यास गर्न सक्ने महान् राष्ट्र हो भनेर चिनाउन सक्नुपर्छ ।

नेपालमा हुँदै आएका र भविष्यमा हुने चुनावद्वारा केही लछारपाटो लाग्नेछैन । चुनावमा स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवार भएर हुने केही छैन । स्वतन्त्र; भनेको बाह्य तथा आन्तरिक हरेक प्रकारका उपनिवेशवादबाट हुने हो । नेतृत्वमा पुग्नु वा गर्नु भनेको तामाङ ठिगरका ज्ञाता तथा अभ्यासी हुनु हो । तामाङ ठिगर नबुझीकन वा लत्त्याउँदै पार्टीका सदस्यता वा पार्टीहरूले टिकट नदिएको रिसमा वा पार्टीहरू मन नपरेको आधारमा यही व्यवस्थाभित्र प्रवेश गर्न खोज्नु भनेको मुस्किलले आफै मात्र बन्न खोज्नु हो ।

आफ्नो समाज बनाउँदै नेपाल लगायत विश्व जगत्लाई परिवर्तनको संवाहक बनेर देखाउने चाहना, क्षमता र ज्ञान हुनेले त आफू लगायत समुदाय अनि दुनियाँको भाइरसले ग्रस्त हार्डडिस्क जस्तो दिमागको फर्म्याट गर्न सक्नुपर्छ । त्यसपछि राष्ट्रगत रूपमा आ-आफ्ना मौलिक सफ्टवेयरलाई सही साथै विधिपूर्वक इन्स्टल गर्न सक्नुपर्छ । यो प्रस्तुतिको अन्त्यमा यति मात्रै भन्छु, आँटी छोरालाई बाघले खाँदैन । असम्भव र नसकिने भन्ने केही छैन । शुभ कार्यको लागि हर क्षण शुभ हुन्छन् ।

त्यसैले नेपालमा रहेका सम्पूर्ण राष्ट्र (समुदाय) का ठिगर (विधि शास्त्र) को बारेमा जानकारी राखौँ । आपसी भाइचाराको नाता जोडौँ । फुटेर होइन; जुटेर अघि बढौँ । नयाँ विश्वको लागि युनिभर्सलाई समाप्त पार्दै प्लुरिभर्सको अवधारणालाई स्थापित गराऔँ । विश्वमा रहेका सम्पूर्ण राष्ट्रहरूका स्वशासनको निमित्त विश्व उपनिवेशबाट मुक्तिको लागि आन्दोलन थालौँ । चुनाव आयो; तेरो र मेरो पार्टी वा म त छुट्टै बस्छु भनेर यही व्यवस्थाको मुख ताक्दै समय खेर नफालौँ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका