जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएको छ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएको हो ।

प्रधानमन्त्रीले भने, ‘जनताको धेरै ठुलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झन्डै ७० वर्ष लामो सङ्घर्ष गर्नुपर्‍यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्ताबेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा विमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमानदार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।’

‘संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरुरी छ । संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ” प्रधानमन्त्रीले भने, “संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।’

प्रधानमन्त्रीले भने, ‘निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी छ । पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्विकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आआफ्नो धारणा राखिएको थियो ।

तपाईको प्रतिक्रिया