तामाङ समुदायका पहिलो गायक चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा ‘एला लागिरि’ नयाँ तामाङ प्रेम गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।
मङ्गलवार लेकाली ढिँडो तथा थकाली भान्छा घर एन्ड सेकुवा कर्नर महालक्ष्मी ललितपुरमा पत्रकार सम्मेलन गरी भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ गायक चन्द्रकुमार मोक्तानले आफ्नो गायन यात्रा स्मरण गर्दै २०४२ सालमा आफूले तामाङ गीति एल्बम निकालेको र त्यो नै तामाङ समुदायको पहिलो गीति एल्बम भएको जानकारी दिए । उनले त्यसताका तामाङ गीतले राम्रो बजार लिएकोले फेरि तामाङ गीत रेकर्ड गरी एल्बम निकालेको र सो एल्बम पनि दोस्रो तामाङ एल्बमको रूपमा दर्ता भएको थियो । उनले भने, ‘त्यस बेला तामाङ गायकहरूको कमी थियो तर आजभोलि थुप्रै राम्रा तामाङ गायक गायिकाहरूको आगमन भएको छ । तामाङ गीतसङ्गीतलाई अगाडि बढाउनु निकै खुसीको कुरा हो ।’
नयाँ पुस्ताका कलाकारहरूको तामाङ गीतसङ्गीतमा निकै महत्त्व रहने बताउँदै अब ती कलाकारहरूबाट तामाङ गीतसङ्गीत बचाउनेमा आफू ढुक्क रहेको बताए । अझै तामाङ गीतमा विकृति नल्याउन शब्द रचनामा विशेष ध्यान पुर्याउनुपर्ने सुझाव दिँदै सम्पूर्ण म्युजिक भिडियो टिमलाई वरिष्ठ गायक मोक्तानले बधाई तथा शुभकामना दिएका थिए ।
यस्तै शुभकामना दिने क्रममा विशेष अतिथि तामाङ कलाकार सङ्घका पूर्व अध्यक्ष तथा गायक सञ्जीव वाइबाले सङ्गीत क्षेत्र एउटा प्रतिस्पर्धाको दुनियाँ रहेको बताए । यस तामाङ गीतको म्युजिक भिडियोले धेरै भन्दा धेरै श्रोताको मन जित्न सफल रहोस् भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
काभ्रेको धुलिखेल र ललितपुरमा छायाङ्कन गरिएको उक्त तामाङ गीत म्युजिक भिडियोमा कलाकार गायिका सुमिना लो र युवा गायक रमित लामा स्याङ्तानको स्वर रहेको छ । यस्तै शब्द विष्णु ग्लान तामाङको रहेको छ भने सङ्गीत निमा दोङले दिएका छन्।
चौधरी गीतबाट गायन यात्रामा लागेकी गायिका सुमिना लोले हालसम्म १३० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । तामाङ गीत सङ्गीत जगतमा सफल कलाकारको रूपमा परिचित सुमिना एक व्यस्त कलाकार पनि हुन् ।
म्युजिक भिडियोमा मोडलिङ गीत रचनाकार विष्णु ग्लान स्वयंले गरेका छन् भने उनलाई रोशनी श्रेष्ठले साथ दिएकी छन् । यस्तै म्युजिक भिडियो निर्देशन अजय स्याङ्तान र छायाङ्कन विक्रम मोक्तानबाट भएको जानकारी आयोजकले दिएका छन् ।