काठमाडौँ महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका-३ बानियाँटार बस्ने रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-१० बस्ने विवेक श्रेष्ठ, काभ्रेपलान्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने राजेश तामाङ, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौँ गोङ्गबु बस्ने किशोर र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-१६ गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।
काठमाडौँ महानगरपालिका-१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घका यातायात व्यवसायीहरूले ट्राफिक कारबाहीको विषय लगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शन गरिएको थियो ।
विरोध प्रदर्शनमा प्रहरी वृत्त बालाजु, काठमाडौँबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा २ झ १४४ र बा१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गा मुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।