रसुवामा पनि फागुन ७ गते प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिकाको पाँच वटै स्थानीय तहमा कार्यक्रम गर्न अनुरोध गर्दै फागुन ६, ७, ८ गते जिल्लास्थित सरकारी कार्यालय एव सङ्घसंस्था शैक्षिक प्रतिष्ठान तथा निकायहरूमा राष्ट्रिय झन्डा फहराई सरसफाइ गरी दीप प्रज्वलन गरी मनाउन प्रजिअ अधिकारीले अनुरोध गरेका छन् ।
यस्तै लामटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले संयुक्त रूपमा उपयुक्त ठाउँहरूमा वृक्षारोपण गरी धुन्चेस्थित मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरूमा फागुन ७ गते सरसफाइ गरिने बताइएको छ ।
यो दिवसलाई देशमा सम्भावनाका सबै ढोका खोलिएको दिनको रूपमा लिँदै राष्ट्रिय प्रजातन्त्र दिवस भनिएको हो ।