रसुवा जिल्लाको उत्तरगया गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ ।
बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा उत्तरगया पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । देशभरिका अन्य छ रसुवा जिल्लाको ५ वटै पालिकामध्ये उत्तरगया उत्कृष्ट भएको हो ।
आयोगले दिएको जानकारीअनुसार रसुवाको कालिका गाउँपालिकाले ५४ दशमलव ६० प्रतिशत अङ्क प्राप्तगरि रसुवा जिल्ला भरिमा दोस्रो भएको छ ।गोसाईंकुण्ड गाउँपालिकाले ५३ दशमलव ७२,अंक प्राप्त गरी तेस्रो स्थान ल्याएको आमाछोदिङमोले ४७ प्रतिशत र नौकुण्ड गाउँ पालिकाले ४५ दशमलव ५७ प्रतिशत अङ्क पाएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ सभामा बजेट पेस गर्नुपर्छ । त्यसो भए नभएकालाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्नुपर्छ । गरे नगरेको विषय अर्को सूचक हो ।
स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे/नगरेकालाई समेत सूचक मानिएको छ । आगामी आव २०८०/८१ को आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्याङ्कनको आधार मानिएको छ ।
यी कार्यलाई आधार बनाएर पालिकाले कार्य सम्पादन गर्ने गरेको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले बताए ।
उनका अनुसार विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्याङ्कनको आधार बनाउने गरेको छ ।
लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या, गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्या समेतलाई मूल्याङ्कनको आधार बनाएको उनको दाबी रहेको छ ।
उनले पालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैको संयुक्त प्रयासबाट कार्य सम्पादन उत्कृष्ट बनाउन सकिएको बताए । ‘अन्य सूचकमा पनि अङ्क भारमा धेरै काम गर्ने बाँकी रहेको छ’‚ उनले भने ।