बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रद्वारा मनिच्यूडमा छेथार गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन
42 Shares
काठमाडाैं

बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रको आयोजनामा यही फागुन २३ गते मनिच्यूडस्थित क्षेत्रमा छेथार गर्ने भएको छ । यसअघि पनि केन्द्रको अगुवाइमा विभिन्न स्थानहरूमा छेथार गरिएका थिए ।

छेथार के हो र यसको महत्त्व

छेथारलाई प्राणधान अर्थात् जीवनदानको रूपमा लिने गरिन्छ । कुनै पनि पशुपङ्क्षीलाई छेथार गरिएमा भिक्षुले शील पालना गरे जति मात्रामा पुण्य लाभ हुन्छ भनी विभिन्न शास्त्रहरूमा उल्लेख गरिएका छन् । एउटा खसी, बोका वा बाख्रा जस्तो कुनै पनि एक प्राणीलाई छेथार गरी स्वतन्त्र छाडिएमा पनि सात पल्टसम्म दुर्गतिमा पतन हुनबाट मुक्ति मिल्नेछ भनी उल्लेख गरिएका पाइन्छन् ।

यस्तै गरी अज्ञानतावश एक सय जना व्यक्ति वा एक सय घोडाको हत्या गरेको व्यक्तिले एक पल्ट मात्रै छेथार गरेछ भने पनि उक्त महापापको भारबाट मुक्ति पाउने विश्वास रहेको छ । कसैले जीवनमा १३ पटकसम्म छेथार गरेमा १० औँ हजार कल्पसम्मका पापहरू समेत शोधन भएर जानेछन् । त्यसै गरी कुनै व्यक्तिको आयु समाप्त भई मृत्यु निश्चित भएको छ भने पनि उसको नाममा १३ पटकसम्म छेथार गरिएमा उक्त व्यक्तिको आयु कम्तीमा ३ वर्ष लम्बिन्छ भनिएको छ ।
छेथार गर्नलाई कुनै निश्चित समय नतोकिए पनि आफूलाई अनुकूल हुने कुनै समयमा गर्न सकिन्छ । तथापि अष्टमी, दशमी, पूर्णिमा र औँसी तिथिमा छेथार गरिए अत्यधिक लाभ हुनेछ । उल्लेखित तिथिहरूमा छेथार गरिए अन्य दिनका तुलनामा लाखौँ गुणा धेरै लाभ हुन्छ भनिएको छ ।

छेथार कुनै निश्चित पशुपङ्क्षीलाई मात्र गर्नुपर्छ भनी किटान गरिएको छैन तर कुनै प्रयोजनका लागि मारिने अन्तिम अवस्थामा रहेका प्राणीलाई खरिद गरी छेथार गरिएमा अपार पुण्य मिल्ने उल्लेख गरिएका पाइन्छन् । छेथार गर्दा लामा गुरुद्वारा आयु सूत्र र आयु धारणीमन्त्र आदिको पाठ गर्नुपर्दछ । त्यसरी स्वतन्त्र छोडिएका पशुङ्पक्षीलाई कसैले हत्या गरेर मासुको रूपमा खाएमा एक सय व्यक्तिका हत्या गरे बराबर पापको भागीदार बन्नुपर्ने र अनेकौँ प्रकारका दोषहरू समेत लाग्ने बताइएका छन् ।

मनिच्यूड

मनिच्यूड नामक यो स्थान काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिका वडा नं। ८ साथै नुवाकोट र सिन्धुपाल्चोकको सीमानामा अवस्थित रहेको छ । यो स्थान धार्मिक तथा सांस्कृतिक महत्त्वको साथै जैविक विविधता र जीवजन्तुहरूका लागि उपयुक्त रहेको छ । यो स्थल बोधिसत्त्व राजा मनिच्यूडसँग सम्बन्धित एक महत्त्वपूर्ण बौद्ध ने ९तीर्थस्थल० पनि हो ।
लेखक वसन्त महर्जनको अनुसार गौतम बुद्ध आफ्नै एक पूर्वजन्ममा बोधिसत्त्व मनिच्यूड हुनुहुन्थ्यो । उहाँले यसै स्थानमा बोधिचर्या गर्ने क्रममा आफ्नो शिरमा रहेका मणि दान गर्नुभएको थियो । लेखक महर्जनको अनुसार बोधिसत्त्व पहिलो साकेत देशको राजकुमार हुनुहुन्थ्यो । उहाँ गर्भमा छँदा नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढेको थियो । शिरमा सूर्यको किरण समान मणिसहित बोधिसत्त्वको जन्म भएको थियो ।

कुनै पनि रोगीहरूलाई बोधिसत्त्वको शिरमा रहेको उक्त मणिको जल पिलाउँदा रोग निको भएका साथै दृष्टिविहीनलाई मणि छुवाइदिँदाखेरि दृष्टि प्राप्त गरेका थिए । युवावस्थासँगै बोधिसत्त्व राजा हुनुभएको थियो । उहाँ दान धर्ममा अभिरुचि राख्ने राजा हुनुभएकोले जसले जे माग्योस त्यही दिनको लागि एक विशाल दानशाला नै बनाउनुभएको थियो । उक्त दानशाला सम्यक् सम्बोधि लाभको लागि बनाएको थियो ।

बोधिसत्त्व राजाको दान गर्ने कार्य देखेपछि इन्द्रलाई समेत असह्य भयो । त्यसपछि इन्द्रले राक्षसको भेष गरी मांसाहारी भोजन माग्न आइपुगे । बोधिसत्त्व राजाले आफ्नै गर्दन रेट्न तरबार उठाउनुभएको मात्र के थियोस त्यसबेला पृथ्वी नै कम्पित भयो । त्यसपछि बोधिसत्त्व राजा साधनाका लागि अन्यत्र लाग्नुभयो ।

त्यसपछि राज्यमा दुर्भिक्षको मार पर्‍यो । रोगव्याधीहरुले सताउन थाल्यो । बोधिसत्त्वको शिरमा रहेको मणि छुवाएको पानी छर्किदा शुभ हुने निष्कर्षमा भद्र भलादमीहरू पुगे । त्यसपछि बोधिसत्त्व कता जानुभएछ भनी खोजी गर्ने क्रममा हालको साँखुस्थित माथि डाँडामा साधनारत रहनुभएको सूचना प्राप्त गरे ।

यस स्थानमा आई भेटेपछि साकेत राज्यमा फैलिएको महामारी निको पार्न आफ्नो मणि दिन बोधिसत्त्व तयार हुनुभयो । त्यसपछि आफ्नो शिर करौँतीले रेट्न लगाउनुभई मणि निकालेर दहका चोपल्नुभयो । त्यसरी बोधिसत्त्वले आफ्नै हातले मणिदान गर्नुहुँदा पुन: पृथ्वीमा कम्पन आयो । त्यतिखेर देवताहरू अवतरित भई विभिन्न प्रकारका फूल चढाउँदै पूजा गरे । यसरी बोधिसत्त्व राजाले आफ्नो शिरको मणि दान गर्नुहुँदै दानपारमिता पूरा गर्नुभएको हुनाले नै यो स्थान अहिलेसम्म पनि बौद्ध धर्मालम्बीहरुका लागि पवित्र तीर्थस्थलको रूपमा परिचित रहेको छ ।

तपाईको प्रतिक्रिया