राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन र बाइसौँ वार्षिक साधारण सभाको तयारी पूरा भएको छ।
मङ्गलवार रिपोटर्स क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन प्रतिष्ठानले देश तथा विदेशमा छरिएर रहेका सबै लोक कलाकर्मीहरूको छाता संस्था बनाउने उद्देश्यले फागुन १२, १३ र १४ गते धादिङ जिल्लाको धादिङवेसीमा भव्य समारोह हुने तयारी पूरा भएको जानकारी दिइएको हो ।
महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेश स्तरीय समिति र ७२ जिल्ला स्तरीय समितिका जम्मा एक हजार प्रतिनिधिहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ।
सम्पूर्ण लोक कला क्षेत्रका कलाकर्मीको छाता सङ्गठन बनाउने उद्देश्यले २०५७ साल असोजमा लोकदोहोरी गायक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति हुँदै यस संस्थाको स्थापना भएको हो ।
यस संस्थाको सङ्गठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेका छन् ।
त्यसै गरी २३ हजार ३२२ साधारण सदस्यहरू, २ हजार ७७३ आजीवन सदस्यहरू र २६ मानार्थ सदस्यहरू संस्थामा आबद्ध रहेका छन् ।
अध्यक्षको चर्चामा को को?
महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदमा दाबी गर्नेहरूको पनि चर्चा हुने गर्दछन् । प्रतिष्ठानको अध्यक्षमा वर्तमान अध्यक्ष रमेश बिजी, वरिष्ठ उपाध्यक्ष रीता थापा र विष्णु खत्री चर्चामा छन् ।
वर्तमान अध्यक्ष रमेश बिजीका अनुसार उनी बाहिर जति चर्चा रहे पनि आफू भने दाबेदार नरहेको बताए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रीता थापा भने नेतृत्व आफू तयार रहेको बताइन् । संस्थाको विभिन्न पदमा रहेर आफूले लामो समय सेवा र अनुभव हासिल गरेकोले संस्थाको अबको नेतृत्व आफूले गर्ने बताइन् ।
यसै गरी उपाध्यक्ष विष्णु खत्रीले आफू अनिच्छा रहे पनि साथीहरूले आउनुपर्छ र ल्याउँछु भनेका छन् । तर उनले आफू प्रतिष्ठानको अध्यक्षमा नआउने तर नयाँ संस्था बनाउन लागेको खुलासा गरे ।