नेकपाको एकता र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा हाम्रो भुमिका

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तुलनात्मक रूपले रक्षात्मक अवस्थामा धकेलिएको छ । तथापि यो प्रतिकुल परिस्थितिमा हामीले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रूपले आक्रामक स्तरमा पुर्‍याउने प्रयास गरेका छौँ । यो हाम्रा अग्रज, हामीले चलाएका वैचारिक सङ्घर्ष र बहसले सफल भएको हो । हामीले चलाएका वर्ग सङ्घर्ष र विभिन्न प्रकारका आन्दोलनको संश्लेषणको रूपमा यो आक्रामक उचाइ प्राप्त भएको हो ।

अहिले हामी प्रति मुख्यतः श्रमजीवी र संसारभरका कम्युनिष्टहरुको ठुलो सकारात्मक चासो छ । नेपालको नयाँ पहलकदमी, नयाँ परिस्थिति प्रति गहिरो गरी अवलोकन गरिरहेको अवस्था हो । भने अर्कोतिर, प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन, एकता र आक्रामक उचाइ के गरी कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका षडयन्त्रका तानावाना बुन्ने गरेका छन् । यसर्थ हाम्रो पार्टीको काँधमा एउटा ऐतिहासिक जिम्मेवारी छ । राष्ट्रिय एकतालाई सुद्धढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुद्धढ गर्ने, जनताको अपेक्षालाई सम्बोधन गर्ने, सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने र समाजवादको दिशातिर अगाडि बढ्ने मुख्य जिम्मेवारी छ । साथसाथै विश्व कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय श्रमजीवीहरूको आन्दोलन, र सम्पूर्ण जनताको अपेक्षालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय दायित्व पनि हाम्रो काँधमा त्यतिकै गहिरो छ ।

हामीले ७० वर्षको उत्सव मनाउँदै गर्दा, नेपालको कम्युनिस्ट पार्टी ७१ वर्षमा प्रवेश गर्दै गर्दा, नेपालको इतिहासको अनि हाम्रो आन्दोलनको उतारचढावहरूको गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनका तमाम अनुभवहरूको समीक्षा गर्ने र एउटा नयाँ संश्लेषण देशलाई र अन्तर्राष्ट्रिय जगतलाई दिने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । सबैले अनुभवलाई वैचारिक र राजनैतिक रूपले संश्लेषण गर्ने र ती अनुभवहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामको बारेमा पनि दुनियाँलाई जानकारी गराउने जिम्मेवारी हाम्रा सामु छ ।

केही वर्षदेखि हामीले जसरी काम गर्दै आएका छौँ, प्रारम्भमा मानिसहरूले हाम्रा काम, उद्देश्य, सङ्कल्प र प्रतिबद्धताप्रति जहिले पनि आशङ्का गर्ने गरे । हामी सफलताको सिँढी चढ्दै छौँ या छैनौँ भन्ने बारे विभिन्न खालका विभ्रमहरू पैदा गर्ने प्रयासहरू भए । यसको राष्ट्रिय आयाम र अन्तर्राष्ट्रिय आयाम पनि छ । यसले सामाजिक विकासको सन्दर्भमा, सामाजिक रूपान्तरणको सन्दर्भमा नयाँ सन्देश दिँदै छ भन्ने कुरामा आशङ्का व्यक्त गरियो । उचाइमा पुग्दैन भनेर आशङ्का गरियो । जब हामीले १२ बुँदे समझदारी मार्फत एउटा नयाँ आन्दोलन, अभियान थाल्यौँ त्यस्तै खालका विभ्रमहरू र त्यस्तै कसरतहरू हामीले देख्यौँ । तर अन्ततः हामी सफल भयौँ । हामीले जनयुद्ध र जनआन्दोलनलाई एक अर्काको पूरक बनाउँदै शान्ति सम्झौतासम्म त्यसलाई लैजाने र ठुलो युगान्तकारी राजनीतिक रूपान्तरणमा त्यसलाई बदल्ने महाअभियानमा हामी अन्ततः सफल भयौँ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल भइसकेपछि फेरि आशङ्काको स्थिति बन्यो । के विधान सभाबाट संविधान बन्ला त ? पहिलो संविधानसभा असफल भइसकेपछि देशभित्र र बाहिर एउटा बहस अगाडि आयो संविधानसभाबाट संविधान बन्छ त ? संविधानसभाबाट संविधान बन्न नदिनको निम्ति लोकतान्त्रिक विधि र प्रक्रियाबाट एउटा रूपान्तरणलाई सफल हुन नदिन कसरत भई नै राखे । पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभा, अपवाद नै भन्नुपर्छ एउटा देशमा एकै प्रक्रियामा तर त्यो पनि हामीले सम्भव तुल्यांयौं । अन्ततः संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो । संविधान घोषणा गरिसकेपछि पनि संविधान कार्यान्वयन होला त ? आवश्यक ऐन नियमहरूको व्यवस्था गरेर परिवर्तनलाई संस्थागत गर्ने गरी संविधान कार्यान्वयन होला त ? भन्ने प्रश्न फेरि हाम्रा अगाडि थियो । फेरि एउटा आशङ्का हामीले सामना गर्‍यौँ । निर्वाचन हुने प्रक्रियामा पनि यो निर्वाचनले देशमा निकास देला ? विकास निर्माणको एउटा नयाँ युगतिर देशलाई लैजान सक्ला ? के राजनीतिक अस्थिरता, अराजकता र अन्योलको लामो भुमरीबाट देश बाहिर निस्केला ? भन्ने प्रश्न खडा भइरहे । निर्वाचन भए पनि विगत ७० वर्षदेखिको अराजकता, अन्यौलता र आशङ्काको वातावरण कायमै रहने हो कि ? किनकि ००७ सालको परिवर्तन पछि ०१७ सालको अराजकतालाई नेपाली समाजले भोगी सकेको थियो ।

३० वर्षे पञ्चायती निरङ्कुशता नेपाली समाजले भोगी सकेको थियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका उतारचढावहरू र त्यसपछिका सङ्घर्ष र आन्दोलनका उपक्रमहरू पनि नेपाली समाजले भोगी सकेको थियो । संविधानसभाबाट संविधान बनिसकेपछि, तिनै तहको निर्वाचन सम्पन्न भइसकेपछि पनि के नेपालमा एउटा नयाँ युगको सूत्रपात हुन सक्ला त ? स्थायित्वको, विकासको, समृद्धिको, सुशासनको यो प्रश्न थियो ।

यो सबैले आत्मसाथ गर्नुपर्ने विषय हो । त्यो परिस्थितिमा हामीले दुइटा कम्युनिस्ट पार्टी, दुइटा धारा र दुइटा प्रयोगबाट एउटा नयाँ निष्कर्षतिर पुग्यौँ । हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने पहल लिनुपर्दछ, जतिसुकै अप्ठ्यारो, जटिल भए पनि नेपाल राष्ट्र, श्रमजीवी जनता र विश्वकम्युनिष्ट आन्दोलनको हितमा हामीले कदम चाल्नै पर्छ । हामीले कदम चालेनौ भने देशको निम्ति र समग्र कम्युनिस्ट आन्दोलनको निम्ति पनि दुर्भाग्य हुन सक्दछ । हाम्रा हजारौँ सहिदहरूले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरू, हाम्रा अग्रजहरूको जीवनभरिको त्याग, तपस्या र मेहनतबाट प्राप्त भएको उपलब्धिहरू धरापमा पर्न सक्दछ । ती खतरामा पर्न सक्दछ भन्ने निष्कर्षसहित हामीले पार्टी एकताको सङ्कल्प गर्‍यौँ । हामीले जब पार्टी एकता गर्नेसहित निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्र्यौं, त्यस बेला पनि आशङ्काहरू व्यक्त भए । यो एकता सम्भव हुँदैन । भइहाले पनि यो टिक्दैन अथवा यो देशमा कम्युनिष्टहरुको एकता भयो भने अधिनायकवाद, निरंकुशतातिर देश जाने खतरा हुन्छ । आदि इत्यादि थुप्रै आशङ्काहरू पैदा गर्ने कोसिस भए । त्यसको साथसाथै दुवै त्यति बेलाका पार्टी सङ्गठनहरू र पार्टीका नेतृत्वहरूलाई एकतामा जानबाट रोक्नको निम्ति अनगिन्ती आन्तरिक र बाह्य प्रयासहरू भए ।

मलाई लाग्छ, हामी सबै कमरेडहरूले त्यो कुरालाई बुझेका छौँ । हामी सबैले त्यसलाई कुनै न कुनै रूपमा आत्मसाथ गरेका छौँ । पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा म सम्पूर्ण कमरेडहरूलाई गहिरो गरी स्मरण गर्न अनुरोध गर्दछु । सानो मेहनत र सङ्कल्पले यो एकता भएको होइन । हामीले निर्वाचन सकिसकेपछि एकता रोक्न भएका धेरै किसिमका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयासहरू असफल बनायौँ । हामीले जे प्रतिबद्धता र सङ्कल्प व्यक्त गरेका थियौँ ती प्रतिबद्धताबाट हामी बिलकुल कतै नमोडी एकता गरायौँ ।

एकता प्रक्रिया ढिलाइ हुँदा, हामीलाई जहाँ भेटे पनि जसरी भेटे पनि कार्यकर्ता स्तरबाट प्रश्न गरेर प्रोत्साहित गर्नुभयो । हामीलाई दबाब पनि दिनुभयो र बाध्य पनि पार्नुभयो । तपाईँहरूको सहयोग विना पनि यो एकता प्रक्रियालाई टुङ्गो लाग्ने अवस्था थिएन ।

कमरेडहरू, कम्युनिस्ट आन्दोलन भनेको एउटा विचार, वर्गको आन्दोलन हो । वर्गको हित र स्वार्थलाई केन्द्रित गरेर वैज्ञानिक नियमलाई आत्मसाथ गरेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै परिवर्तनको प्रवाहमा अगाडि बढ्ने अभियान हो । गतिको अनन्त प्रवाहमा रहेको समाज, मानिसको चिन्तन, प्रकृतिको नियमलाई उद्घाटन गर्दै विकसित गरेर अगाडि बढ्ने प्रक्रिया हो । महान् लेनिनको जन्म जयन्तीको अवसरमा, पार्टी स्थापना भएको सन्दर्भमा, लेनिनको नेतृत्वमा भएको क्रान्ति र लेनिनले विचारमा गरेको विकास यहाँ सम्झन चाहेँ । मार्क्सवादको आधारभूत सिद्धान्तहरूको रक्षा गर्ने, त्यसलाई प्रयोगमा लैजान र प्रयोगका बिचबाट विकास गर्ने एउटा ऐतिहासिक उदाहरण क. लेनिनले प्रस्तुत गर्नुभएको थियो । हामी आज उहाँको पनि सम्झना गर्दैछौं ।

पार्टी एकता भयो भनेर बस्ने अवस्था छैन । हाम्रो अगाडि अझै धेरै कामहरू बाँकी छन् । हामी पछाडि फर्केर होइन अगाडि बढेर मार्क्सवाद र लेनिनवादको आधारभूत सिद्धान्तहरूमा टेकेर समाजवादतिरको यात्रा तर्फ अगाडि बढ्नु छ । हाम्रा अनुभवहरूको सार खिचेर समाजवादको आधार निर्माण गर्ने, रणनीतितिर अगाडि बढ्ने कुरा हामीले गरेका छौँ । यो आफैँमा एउटा युगान्तकारी कुरा हो । २१ औँ शताब्दीमा १९औँ र २० औँ शताब्दीका सबै सकारात्मक र नकारात्मक अनुभवहरूको आधारमा हामीले वैचारिक ढङ्गले नयाँ संश्लेषण गर्ने पहलकदमी लिनु पर्छ । अब, हिजोका बनी बनाउन सिद्धान्त, रणनीति र कार्यनीतिले काम दिनेवाला छैन । जबसम्म पार्टीले सामाजिक रूपान्तरणको अभियानलाई नयाँ र संश्लेषसित बिचारद्वारा संवृद्ध गर्ने आँट गर्दैन, नयाँ सिद्धान्त, रणनीति र कार्यनीतिबाट परिष्कृत गर्ने आँट गर्दैन तबसम्म गुणमा फड्को मार्ने भन्ने हुँदैन । नेतृत्वले जरुरी पर्दा निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्ने आँट नगर्दासम्म क्रान्ति र युगको नेतृत्व गर्न सक्दैन । कमरेडहरू, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जमर्को गरेका छौँ, ती हाम्रो गौरवशाली अनुभवहरूको सकारात्मक संश्लेषण पनि हो ।

अहिले देशको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतीहरूको संश्लेषण गर्दै विचारलाई पनि विकसित गर्ने, राजनीतिक रणनीतिलाई पनि विकसित गर्ने र हाम्रो अभियानलाई पनि नयाँ सङ्कल्पका साथ अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी आएको छ । यो परिस्थितिमा अब पछाडि फर्केर हेर्न सम्भव छैन ।

तथापि यहाँ केही गलत प्रवृत्ति जहिले पनि बहसमा रहन्छन्, त्यसभित्र सङ्घर्षमा रहन्छन् । एउटा अन्तर्राष्ट्रिय परिवेशमा प्रयोग गरिएका कुरालाई महिमा बनाएर त्यसैमा रमाउने र आत्मरति गर्ने, कम्युनिस्ट आन्दोलन र राजनीतिलाई नयाँ गति दिने आँट बिलकुलै नगर्ने एउटा प्रवृत्ति संसारभर अनि नेपालमा पनि छ । हामी त्यसका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएका छौँ । र हामीले त्यसले पारेको अप्ठ्यारो अवस्थालाई पनि भोग्दै आएका छौँ । जसलाई हामीले जडसुत्रवादी या अल्गाववादी भने पनि हुन्छ । जनता एकातिर, इतिहास एकातिर, घटनाक्रम एकातिर तर आत्मगत र मनोगत ढङ्गले आफैँलाई महिमा मण्डित गरेर रहने प्रवृत्तिसँग हामीले सङ्घर्ष गर्दै आएका छौँ ।

आजको कम्युनिस्ट आन्दोलन, क्रान्ति र वर्गसंघर्षको आवश्यकतालाई वस्तुवादी तरिकाले मूल्याङ्कन गर्ने विश्लेषण गर्ने र त्यसमा टेकेर वैचारिक राजनीतिक विकास गर्ने चुनौतीलाई स्वीकार गर्न जरुरी छ । र अर्कोतिर, वर्गसंघर्षका आधारभूत सिद्धान्तहरू, मार्क्सवादका सार्वभौम स्थापित सिद्धान्तहरूलाई परित्याग गर्न खोज्ने प्रवृत्ति पनि छ । त्यसको वैज्ञानिक सारतत्वलाई इन्कार गर्ने । वर्ग समन्वय र वर्ग विरोधीसँग संत्सर्ग गर्ने र वर्गपक्षधरतालाई बिर्सिदैं जाने प्रवृत्ति झन् खतरनाक छ ।

हामी वर्गसहितको पार्टी हौँ । हामी निवर्गीय पार्टी होइनौ । जबसम्म समाजमा वर्गहरू रहन्छन् । वर्गसंघर्ष रहिराख्छ । त्यही वर्गसंघर्षको आवश्यकताले गर्दा वर्गका आ–आफ्ना पार्टी, दर्शन र सिद्धान्त रहिरहन्छ भन्ने कुरालाई बिर्सिएर सम्पूर्ण रूपले प्रतिक्रियावादी बुर्जुवा वर्गमा समर्पण गर्ने र अर्को एउटा आत्मसमर्पणवादी प्रवृत्ति छ । हामी यी दुवै प्रवृत्तिसँग सङ्घर्ष गर्दै आएका छौँ । र हाम्रा अग्रजहरूले जे गरे, उनीहरूबाट हामीले जे सिक्यौँ ती सबैको आधारमा हामीले त्यसको प्रयोग गर्ने कोसिस गरेका छौँ । यो पार्टी एकता त्यसैको प्रतिफल हो ।

यो पार्टी एकतामा हामीले व्यक्तिगत पद प्रतिष्ठा र गुटगत स्वार्थ हेरेको भए एकता सम्भव थिएन । किनकि प्रतिक्रियावादीहरुले र अवसरवादीहरूले जहिले पनि कम्युनिस्ट आन्दोलन भित्र बुर्जुवा र गुटगत सोचलाई प्रोत्साहित गर्ने गर्दछन् । कम्युनिस्ट पार्टी पनि वर्गको पार्टी होइन र अवसरवादहरूको झुन्ड हो भन्ने बनाउन चाहन्छन् । वैचारिक ढङ्गले दिग्भ्रमित पार्ने प्रयास हुन सक्छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनमा खास गरि ०४६ सालपछिको जनआन्दोलन वरिपरिबाट हामीले जे प्रयोग गर्‍यौँ, एकातिर क. मदन भण्डारीको नेतृत्वको शान्तिपूर्ण र प्रतिस्पर्धाको बहुदलीय जनवाद भने अर्कोतिर तत्कालीन माओवादीको नेतृत्वमा जनयुद्धको माध्यमबाट सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग समुदायमा अधिकार स्थापित गर्ने गरी । जसबाट एउटा नयाँ राजनीतिक जागरण ल्याउने र एउटा परिवर्तनको निमित्त तयारी गर्ने एउटा अभियान आयो । यी दुइटै अभियानका सकारात्मक योगहरू कारण अहिलेको अवस्था आएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र दुवैको सकारात्मक योगबाट सफल भएको हो । यी दुइटै धाराका नेताहरूले एक अर्काको महत्त्व र आवश्यकतालाई नबुझेको भए सायद, जनयुद्धमा हामी सम्पूर्ण रूपले विजय हुने थिएनौँ । अर्को पक्ष, बुर्जुवाहरूमाथि सम्पूर्ण रूपले विजय गर्न नसक्ने एउटा खतरा नेपालमा थियो । हामीले जडताका विरुद्ध र अनुभववादका विरुद्ध सङ्घर्ष नयाँ उचाइमा उठायौँ ।

यही सङ्घर्षहरूको बिचमा नै पार्टी एकता भयो । पार्टी एकता नेपाली जनताको विजय थियो । नेपालका सम्पूर्ण कम्युनिष्टहरुको विजय थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विजय थियो । यो विजयको रूपमा ल्याउनु पनि नेतृत्वको तानासाही र नोकरशाही विरुद्ध सङ्घर्ष गर्ने यथार्थलाई स्वीकार गर्ने सङ्कल्पले नै काम गरेको हो ।

एक वर्षमा हामीले जे जति गर्‍यौँ मलाई लाग्छ, आम कार्यकर्ताहरू पनि अझ धेरै गर्न पाएको भए हुन्थ्यो, भने जति भएन भन्ने चिन्ता छ । नेपाली जनताले दुईतिहाई बहुमतका साथ सरकार बनायो तर जुन गतिमा अगाडि जानुपर्ने थियो त्यता पुगेको छैन कि भन्ने लागेको छ । यद्यपि एकवर्ण पर्याप्त थिएन । झन्डै ६९/७० वर्षदेखि थुपारिएका विकृति र विसङ्गतिका थुप्रोहरूलाई पार लगाउने कुरा एक वर्षमा सम्भव हुने कुरा होइन । तर फेरि पनि, हामीले सन्तुष्टि लिएर हुँदैन । हाम्रा अपुगहरू, कमीहरू कहाँ रहे, त्यसको इमानदारीका साथ समीक्षा गर्ने र कमीहरूलाई सच्याउने सङ्कल्प गर्नु आवश्यक छ । जनअपेक्षा अनुसार अगाडि बढ्नको लागि अझ ठुला–ठुला अभियानहरू चलाउने एउटा परिवेशमा हामीहरू अगाडि बढ्नै पर्दछ ।

पार्टीलाई तानासाही र नोकरशाहीका विरुद्ध सङ्घर्ष गर्न सिकाउन, जनताका हितसँग एकाकार हुन सिकाउन, कम्युनिस्ट आन्दोलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूलाई संश्लेषसित रूपमा प्रशिक्षित गर्न जानु छ । अब ढिला गर्नुहुन्न । हामीले आगामी ८ महिना भित्र ७७ वटै जिल्ला र प्रवासका पनि सबै सम्मेलनहरू सकिसक्नु पर्छ । हामीले एक वर्ष भित्र महाधिवेशन गरिसक्नुपर्छ । र त्यो अभियान सम्मेलन सफल पार्ने अनि अधिवेशन र महाधिवेशन सफल पार्ने अवधि मात्रै हुनेछैन। एउटा महान् बहसको अवधि पनि हुनेछ । मार्क्सवादलाई विकसित गर्ने एउटा भट्टी जस्तो, भट्टीभित्र प्रवेश गर्ने महाबहस र महाविवादको अभियान पनि हुनेछ । त्यसले मार्क्सवादलाई समृद्ध बनाउनको एउटा भट्टीको काम गर्नेछ ।

महाधिवेशनसम्म जाँदा हामीले जुन संश्लेषण गर्नेछौँ त्यो संश्लेषणले हामीलाई दशकौँ सम्म दिशा निर्देश गर्नेछ । एउटा राजनैतिक दस्ताबेज, एउटा नयाँ राजनैतिक दिशा र त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालबाट पनि एउटा नयाँ वैचारिक दिशा दिनेछ ।

जसरी पार्टी एकता तमाम अवसरवाद र प्रतिक्रियावादको षडयन्त्रहरूलाई परास्त गर्दै नेतृत्वले प्रदर्शन गरेको तमाम कार्यकर्ता र जनताले प्रदर्शन गरेको आकाङ्क्षा र पहलकदमी थियो । अहिले पार्टी एकता गरेको पनि त्यसैको परिणाम हो ।

अब हामीले विचार, राजनैतिक रणनीति र कार्यनीतिलाई विकसित गर्ने र नेपाललाई समाजवादतिर लिएर जाने सङ्कल्प गर्नै पर्दछ । जसरी संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ, त्यसमा कम्युनिष्टहरुले ठिक ढङ्गले विश्लेषण संश्लेषण गरी वैज्ञानिक समाजवाद तिरको यात्रामा लाग्नुपर्छ । हामी सबैले सङ्कल्प गर्ने पर्दछ । विगतका विकृति, विसङ्गतिबाट शिक्षा लिएर हामी सबैले एक पटक आफैँभित्रको फोहोर मैला सफा गर्ने अभियानको रूपमा अगाडि बढाउनु पर्दछ । आउँदो जिल्ला अधिवेशन, महाधिवेशनलाई त्यसैमा प्रयोग गर्नुपर्दछ । मैँले पार्टी एकताको सङ्कल्प गर्दै गर्दा गत असोज १७ मा भनेको थिएँ, हामीभित्र पनि धेरै फोहोर मैला जम्मा भएको छ । यो फोहोर मैला सफा नगरी हामी अगाडि जान सम्भव छैन । यो फोहोर मैला आम कार्यकर्ता र जनताको सहयोग विना, उनीहरूलाई भरोसा नदिलाई, उनीहरू भित्रको ऊर्जाको सहयोग नल्याई सम्भव छैन ।

यसको लागि हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति चाहिएको छ । नयाँ जोससहितका नयाँ पिँढी, अनि पुराना अनुभवसहितका साथीहरूको सम्मिश्रणबाट एउटा सांस्कृतिक आन्दोलन चल्नुपर्छ । त्यो आन्दोलन भ्रष्टाचारका, ढिलासुस्ती, बेइमानी अनि जालझेल विरुद्ध हुनुपर्दछ । हाम्रो आउँदो महाधिवेशन सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने एउटा सङ्कल्पको रूपमा लिन पनि जरुरी छ । मलाई विश्वास छ, त्यसो गर्‍यौँ भने मात्रै हामीले मार्क्सवाद, लेनिन र कम्युनिस्ट आन्दोलनको भविष्यप्रति हाम्रा सहिद बेपत्ता योद्धा र अग्रजहरू प्रति इमानदार भएको ठहरिने छ ।

(नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गो लागेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसको सन्दर्भमा प्रज्ञा भवनमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनको सम्पादित रूपमा यहाँ प्रस्तुत गरिएको छ ।)

खबरडबलीबाट

तपाईको प्रतिक्रिया

पत्रपत्रिका