रङ्गमञ्चमार्फत बालबालिकाको सर्वाङ्गीण विकास र सिकाइलाई मध्यनजर गर्दै शैली थिएटरले गरेको ९ दिने राष्ट्रिय बाल नाटक महोत्सवलाई यही सोमबार समापन गरियो । महोत्सवमा दुई दर्जन नाटक मञ्चन गरिएकोमा रङ्गकर्मी पुष्पराज अवस्थीको लेखन तथा निर्देशन रहेको ‘छोरीको मुण्डामा फोली’ नाटक सर्वोकृष्ट ठहरियो । निस्ट स्कुल भक्तपुरका विद्यार्थीहरूको अभिनय रहेको नाटकमा मूलतः सुदूरपश्चिमको देउकी प्रथा र यसमा देवीलाई चढाइने बालिकाको पीडादायी अवस्थालाई चित्रण गर्ने जमर्को गरिएको छ ।
नाटकको विषयवस्तु र बाल कलाकारहरूको अभिनयलाई नियाल्दै गर्दै नाट्य प्रस्तुतिको पाटो प्रशंसायोग्य देखिन्छ । झन्डै ३८ मिनेटको नाटक अवधिमा सुदूरको देउकी प्रथा, त्यसैमा पिल्सिरहेका निम्न वर्ग तथा सामाजिक असुरक्षामा बाँचिरहेकी एउटी बालिकाको पीडा र विद्रोहको पक्षलाई पनि प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु पक्कै पनि कमजोर सिर्जना हुँदै होइन । यद्यपि नाटकका दृश्यहरू हेर्दै गर्दा मनमा प्रश्न उठ्छ, ‘बालबालिकाले अभिनय गर्दैमा बाल नाटक हुन्छ र ?’
नाटकमा प्रत्यक्ष छुवाइलाई र आक्रमणको दृश्यलाई प्रत्यक्ष रूपमा देखाइएको त छैन । तर जतिखेर उनीमाथि आक्रमण भएर उनको चिच्चावट सुनिन्छ, दर्शकदीर्घामा रहेका स्कुले बालबालिकाहरूको जोडदार तालीको गडगडाहटले हल नै गुञ्जायमान हुन्छ । ‘दर्शकका रूपमा सहभागी बालबालिकालाई कुन पक्षले छोयो त ?
यही प्रश्नको जवाफस्वरुप बालबालिकाकै विषयमा नाट्य तथा लेखनमा लामो समयदेखि लागिरहेका रङ्गकर्मी केदार श्रेष्ठ भन्छन्, ‘कुनै पनि नाटकमा बालबालिकाहरू खेल्दैमा त्यो बाल नाटक पक्कै हुन सक्दैन । बाल नाटक हुनलाई बालबालिकाको मनोविज्ञान र उनीहरूलाई लक्षित गरी सिकाइलाई समेत सघाउ पुग्ने विषयवस्तु चाहिँ हुनुपर्छ ।’ श्रेष्ठका अनुसार बालबालिकाहरूको अभिनय रहेको कतिपय नाटकहरू बाल मनोविज्ञान केन्द्रित पनि हुन्छन् । कतिपय भने ठुला उमेर समूहका कलाकारहरूले अभिनय गरेका नाटकहरू पनि बाल नाटक भित्र पर्छन् । रङ्गमञ्चकै दौडानलाई नियाल्दा आरोहण गुरुकुलले नर्वेली रङ्गकर्मी मोर्टन क्रोगले निर्देशन गरेको ‘ताराबाजी लै लै’ मा झन्डै देश दशकअघि सरिता गिरी, सौगात मल्ल, राजन खतिवडा लगायतका रङ्गकर्मीहरू बालबालिकाकै रूपमा अभिनय गरेका थिए । थापागाउँस्थित गुरुकुलको पुनरागमनपछि रङ्गकर्मी सुनिल पोखरेलको समन्वयमा ठुलो उमेर समूहका कलाकारहरूको अभिनयमा गत वर्ष नाटक पुनः मञ्चन गरिएको थियो । रङ्गकर्मी श्रेष्ठ भने गत भाद्र महिनामा टेकुस्थित कौसी थिएटरमा रङ्गकर्मी आकाङ्क्षा कार्कीको परिकल्पना तथा निर्देशनमा मञ्चन गरिएको नाटकलाई पनि बाल नाटकको वर्गमा राख्न सकिने मत राख्छन् । जहाँ बालबालिकाको लागि होस् या परिवारको लागि सिकाइसँगै रमाइलोपना समावेश हुन्छ भने बाल नाटकका रूपमा परिभाषित गर्न सकिने उनले सुनाए । उनले जोडे,‘बाल नाटकलाई यामिली प्लेको रूपमा हेर्न सकिन्छ । दर्शक नै बालबालिका भएपछि त्यसमा सेन्सेटिभ कुरालाई एकदमै ध्यान दिन जरुरी हुन्छ ।’
अवस्थीको नाटकमा देउकीका रूपमा देवीलाई चढाएपछि बालिकाको एक्लै भएको समयमा उनको बलात्कार हुन्छ । नाटकमा प्रत्यक्ष छुवाइलाई र आक्रमणको दृश्यलाई प्रत्यक्ष रूपमा देखाइएको त छैन । तर जतिखेर उनीमाथि आक्रमण भएर उनको चिच्चावट सुनिन्छ, दर्शकदीर्घामा रहेका स्कुले बालबालिकाहरूको जोडदार तालीको गडगडाहटले हल नै गुञ्जायमान हुन्छ । ‘दर्शकका रूपमा सहभागी बालबालिकालाई कुन पक्षले छोयो त ?’ नाटकमाथि प्रश्न चिन्ह खडा हुन्छ । देउकी प्रथा पुरानै भए पनि सुदूरपश्चिममा अझै पनि यो भित्रभित्रै जारी रहेको आफ्नो अनुसन्धानबाट पत्ता लागेपछि नाटकको फर्ममा ल्याइएको अवस्थीको भनाई छ । ‘यो नाटक बालबालिका र उनीहरूमाथि भइरहेको हिंसामा केन्द्रित भएकोले बाल नाटकका रूपमा ल्याएँ’, उनले भने,‘बाल मनोविज्ञानको दायरालाई हेर्दै नाटकको दृश्यमा सकेसम्म हिंसाको कुरा चाहिँ प्रत्यक्ष देखाइएको छैन ।’ बालबालिकाहरूमाथि भएको हिंसाको यथार्थ रूपलाई बाहिर ल्याइएकोले उनले यसलाई बाल नाटककै लहरमा राखेका छन् ।
बालबालिकाहरू भनेको भावनात्मक रूपमा पनि संवेदनशील हुन्छन् । उनीहरूलाई खेली–खेली सकारात्मक र जिम्मेवारी बनाउने विषयवस्तुहरू बाल नाटकमा आउनुपर्ने नाटक विधामै विद्यावारिधि गरेकी र महोत्सवमा निर्णायक मण्डलमा रहेकी कान्छी महर्जनको बुझाई छ । बालबालिकाको भोगाई र उनीहरूलाई सरोकार राख्ने बाल नाटकको विषयमा गम्भीर रूपमा छलफल गर्नुपर्ने टड्कारो आवश्यकता उनले महसुस गरेकी छन् । महोत्सवमा बाल नाटकहरू प्रतिस्पर्धामा उत्रिएको समयमा निर्णायक मण्डलबाट प्रस्तुति र विषयवस्तुको मापदण्डलाई आधार मानेर छनोट गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । महोत्सव अगावै नाटकको विषयवस्तु र प्रस्तुतिमा आयोजक टोली नै सतर्क हुनुपर्ने उनको भनाई छ ।
नाट्यकर्मी महासङ्घ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा सोमबारदेखि सुरु गरिएको अर्को ‘राष्ट्रिय बाल नाटक मेला– २०७९’ को दोस्रो दिन मङ्गलवार मनोज तामाङको लेखन तथा निर्देशनमा नाटक ‘प्रश्नवाचक’ मञ्चन भयो । जुन नाटक शैलीको महोत्सवमा पनि मञ्चन गरिएको थियो । काठमाडौँस्थित वृहस्पति विद्यासदनका विद्यार्थीहरूको अभिनय रहेको नाटकमा प्रविधिले एक्लो बनाएको दुनियाँ र भर्चुअल संसारमा रमाउँदै गरेको अहिलेको पुस्तालाई देखाइएको छ । नाटकमा बाल कलाकार नै भए पनि बाबु, आमा, शिक्षक जस्ता अनेक पात्रहरू छन् । जसमा शिक्षाको नाममा परिवार र विद्यालयले बालबालिकालाई दिइएको मानसिक तनावलाई निकै गहन रूपमा समावेश गरिएको छ । त्यही तनाव र एक्लोपनामा भर्चुअल संसारमा रमाएको बालकको अवस्था नाटकमा चित्रण छन् । भर्चुअल दुनियाँलाई देखाउन नाटकमा प्रयुक्त प्रकाश, पात्रहरूको चिच्चावटले बालबालिका मात्र होइन वयस्क मानिसहरूको मुटुको धड्कन बढ्छ । किशोरावस्थामा भर्खरै प्रवेश गरेका र त्यसभन्दा कम उमेर समूहका बालबालिकालाई प्रविधि तथा यसको नकारात्मक प्रभावबारे बुझाउन खोज्नु कति उपयुक्त हो भन्ने कुरा नाटकको दृश्यहरू हेर्दा सोचनीय बनाउँछ ।
बाल नाटकको क्षेत्रमा पम्किन थिएटर, स्कुल थिएटर, मञ्जरी जस्ता संस्थामार्फत सरोज अर्याल, टङ्क चौलागाई, सुरेश चन्द लगायतका रङ्गकर्मीहरूले संस्थागत रूपमा नै काम थालनी गरेका थिए । पम्किन जस्ता संस्थाहरू अहिले नरहे पनि केही संस्थाहरू अझै छन् । रङ्गकर्मी श्रेष्ठ जस्ता व्यक्तिहरू लागि परेका छन् । र पनि बाल विकास र उनीहरूको बाल मनोविज्ञानलाई उच्च मूल्याङ्कन गर्दै कमै बाल नाटकहरू सिर्जना भएको श्रेष्ठको मत छ । श्रेष्ठका अनुसार बालबालिकाको उमेर समूह अनुसार नाटकको वर्ग छुटाइदिए अझै राम्रो हुन सक्छ । रमाइलोपना र यथार्थतालाई बाल मनोविज्ञानलाई नकारात्मक असर नपर्ने गरी नाटक प्रस्तुत गर्ने विषयमा वृहत् रूपमा छलफल र मूल्याङ्कन नभएको उनले स्विकारे । ‘हाम्रोमा बाल नाटकको सङ्ख्या र महोत्सवहरू देखिए पनि अझै प्रोफेसनल नै भएर अगाडि बढेको छैन’, उनले भने । उनकै भनाइ जस्तै अर्का रङ्गकर्मी रामबाबु रेग्मी समकालीन विषय र बालबालिकाको पीडालाई सजिलो ढङ्गले बुझाउने तौरतरिका स्थापित नभएको धारणा राख्छन् । उनी पनि शैलीको महोत्सवमा निर्णायककै भूमिकामा थिए । उनको धारणा छ,‘बालबालिकालाई हिंसा र मनोविज्ञानलाई दबाब पार्ने कुरा देखाउनै हुन्न । उनीहरूलाई रमाइलो गरी नाटकमा खेल्दाखेल्दै वा हेर्दाहेर्दै सिक्ने, बुझ्ने विषयवस्तुमा ध्यान दिन जरुरी छ ।’ यसमा नाटकको पहिलो स्क्रिप्ट, प्रयुक्त प्रप्स, आवाज, प्रकाश सबैमा संवेदनशील भएर लाग्नुपर्ने उनको तर्क छ ।
त्यसो त बालबालिकाको क्षेत्रमा उनीहरूको मनोविज्ञानलाई बुझेर लेखिएका सिर्जनाहरू निकै न्यून छन् । भएकाहरू पनि परम्परागत ढङ्गमा बालबालिकालाई आज्ञाकारी बनाउने र आदेशात्मक खालका बढी भेटिन्छन् । यस्तो माहोलमा बाल नाटकहरू कमै लेखिने नाट्यकर्मी महासङ्घका अध्यक्ष राजेन्द्र रिमाल सुनाउँछन् । लेखिएका विषयवस्तुमा बालबालिकाको संवेदनालाई मध्यनजर गर्दै खुट्याउन निकै चुनौती रहेको उनको अनुभव छ । यसै क्षेत्रमा लागिपरेपछि कामलाई निरन्तरता दिने र गुणात्मक पक्षमा लाग्न झनै कठिन रहेको उनले बताए । उनका अनुसार महोत्सवमा मुस्किलले एक दर्जन नाटक सङ्कलन र प्रस्तुतिका लागि पनि निकै धौधौको अवस्था रहेको छ । यसमा रंगकर्मीहरुलाई आर्थिकदेखि प्राविधिक तथा स्टेजका लागि स्थान अभावसम्मका चुनौती रहेको रङ्गकर्मीहरू गुनासो गर्छन् । ६० कै दशकमा बाल नाट्य क्षेत्रका लागि संस्थागत रूपमा कामको थालनी भए पनि यिनै समस्याहरूकै कारण बाल नाटक भनेको ‘यो हो’ भनेर निश्चित मापदण्ड निक्र्यौल छैनन् । कतिपय रङ्गकर्मीहरूमा बालबालिकाको विषयभन्दा उनीहरूको अभिनय हुँदैमा बाल नाटक हो भन्ने भ्रम स्पष्ट देखिन्छ । यताको पाटोतिर भने बाल नाट्य क्षेत्रमा लागेका रङ्गकर्मीहरूले अब सोच्नैपर्ने अवस्था आएको श्रेष्ठको बुझाई छ । उनले भने,‘बाल नाटक भनेको बालबालिकाकै विषय हो या उनीहरुले अभिनय गर्ने नाटक हुन् । यो नै भनेर भन्न सक्ने अवस्था छैन’ उनले भने ।