बेथितिको प्रचण्ड सरकार


राजनीतिमा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि कतिसम्म गिर्नुपर्छ, त्यो प्रचण्डबाट बाँकी सत्ता स्वार्थीहरूले सिकुन् । छेपारोले भन्दा चाँडो रङ फेर्ने प्रचण्ड जस्ता गद्दारका हस्तीहरुले नै राजनीतिलाई दूषित बनाउने हो । मुलुक र जनताका मूलभूत समस्याहरू जस्ताको तस्तै रहनेछन् । जनताले धोका र अस्थिर सरकार बाहेक अन्य केही पाउनेवाला छैन । हिजोको त्याग र तपस्याबाट ल्याइएको व्यवस्था आज काम न काजको बनाउँदैछन् । यसरी व्यवस्था नै अर्थहीन बनाउँदै जाने हो भने शहिदको बलिदान किन सम्झनु पर्‍यो ? अब प्रचण्ड जस्ताहरूले मुलुक र जनताप्रति गरेका वाचामा जबाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने नैतिकताको पर्खालहरू भत्किदैछ । अबको पुस्ताले थितिलाई बेथिति बनाउँदा राजनीतिमा एकपछि अर्को गर्दै व्यक्तिगत सफलता प्राप्त गरिदोरहेछ भन्ने मान्यता स्थापित हुने भो । जसले जति बढी स्वार्थी मितेरी साइनो गाँस्दै गयो, उसले उति धेरै राजनीतिक छलाङ मार्न सकिन्छ भन्ने भाष्यको निर्माण हुँदै छ । यहाँ सत्ताको निम्ति नैतिकता र जनताको मन जित्नु नपर्ने भो ।

बस !! जति धेरै धोकाधडीको खेलमा जसरी प्रचण्ड उत्कृष्ट देखिए, उसको राजनीतिक भविष्य उज्ज्वल हुने भो । अब जनतालाई मानी राख्नु परेन । चुनावको बेला सांसद बन्न भोटको खरिद पैसाले गर्दै राज्यको निर्णायक तहमा पुगेपछि जनजीविकाको मुद्दाहरूलाई स्थापित गर्ने चेष्टा कसैले गर्छ भने अब उसको राजनीतिक भविष्य छैन । यहाँ त धोकेबाजहरूको मात्र रजगज हुने भो । तैपनि, उसले कम्युनिस्ट हुँ भन्न छाड्दैन । परिवर्तनको संवाहक मै हुँ भन्न छाड्दैन । जनताको नजरमा गिरेतापनि सत्ता अवसरवादीहरूको नजरमा स्याबासी पाएकै छ । एकले फ्याँके पनि अर्काले उसको हात थमाएकै छ । मुलुकले निकास नपाएर के भो त, आफ्नो विकास भएकै छ ।

जनताले विरोध गरेर के भो त, पदका निम्ति लुछाचुँडी गर्नेहरूले काँध फेरे भए पनि बोकेकै छन् । त्यसैले यस्ता लाजनीतिमा जनताले, जनताको निम्ति, जनतालाई नै भन्ने लोकतन्त्रको अचुक विश्वव्यापी मन्त्रमा प्रचण्डको छेपारे राजनीति मौलाएकै छ । यो भन्दा ठुलो राजनीतिक सफलता जनयुद्धको जगमा अरू के नै पो हुनसक्छ र !! जनतालाई सुलीमा चढाउँदै जनतालाई नै धम्क्याउँदै पदासीन हुने प्रचण्डको नौलो निरङ्कुश तानाशाही शैलीको जति बखान गर्दै जान्छ, उसको अवसरवादी राजनीतिक भविष्य सुनौलो छ भन्ने सन्देश प्रस्ट हुन्छ ।

हिजोका तानाशाहहरुलाई जनमतको आवश्यकता हुँदैनथ्यो तर आज त्यो आवश्यकता भएको छ । त्यो पनि समाज विकास गर्न हैन । आफ्नो विकास गर्न मात्र हो । यसरी प्रजातन्त्र हुँदै गणतन्त्र र सङ्घीय व्यवस्थासम्म पुग्दा जनताले धोका बाहेक विकास र समाज निर्माणको लक्षण कहिकतै देख्न पाएन । अर्थतन्त्र डामाडोल, जनता महँगी र बेथितिले ग्रस्त, विदेशीको नाङ्गो हस्तक्षेप, बेरोजगारले सामाजिक जीवन आक्रान्त आदि इत्यादि प्रचण्ड सरकारका दुई महिने उपलब्धिहरू हुन् ।

प्रचण्डले सोच्दो होला मैले राम्रै काम गरे भनेर तर व्यवहारमा एकपछि अर्को गर्दै माओवादीलाई लोपोन्मुख अवस्थातिर धकेल्दैछ । नेकपा एमालेको जगमा सरकार निर्माण भयो । तर अस्थायी प्रधानमन्त्री पदबाहेक माओवादीले अरू स्थायी संवैधानिक पदहरू जस्तै सभामुख उपसभामुख गुमाउँदै गए । अहिले फेरी काँग्रेस नेतृत्वको दलहरूसँग सत्ता समीकरण गर्दै छ । यसमा पनि राष्ट्रपति र उपराष्ट्रपति आफ्नो दलको लागि होइन, अरूकै निम्ति पहल गरिदिँदैछ । यसरी एकपछि अर्को अस्थायी सम्बन्धहरूमा बाँधिँदै जाँदा अन्त्यमा माओवादीहरू नांगेझार हुँदै छ । भन्दो होस एमाले, राप्रपा र रास्वपालाई मैले साइजमा राखे भनेर तर वास्तवमा प्रचण्ड र प्रचण्ड नेतृत्वको माओवादी कहिल्यै नफर्किने गरी साइज घटेको हिसाबकिताब यिनले कहिले बुझ्ने होला रु यस्ताले हिजो जनयुद्ध गरेछ भन्दा अब जनताले जोक्स सम्झने छ । परिवर्तनको नेतृत्व गरेछ भन्दा सामाजिक बौलाहा कहलिनेछ ।

हिजो समाजमा झैझगडा हुँदा तेरो घरमा काँग्रेस पसी जाओस् भन्थे अब प्रचण्डको हैजा लागि जाओस् भन्ने बेला आयो । माओवादी उदाएको यति छोटो समयमै यति धेरै बदनामको भारी बोक्नु पर्ला भनेर न जनताले सोचेका थिए न त स्वयम् प्रचण्ड नेतृत्वको माओवादीहरूले हिसाबै गरेका थिए ।

स्मरण रहोस् !! धोकाको परिणाम धोका नै हुन्छ । यसको हेक्का आजैदेखि प्रचण्डले बुझी राखे हुन्छ । दुई दिनको रमझमले जिन्दगीभरको राजनीतिक रोटी पाक्दैन । अरूलाई एम्बुसमा पार्ने प्रचण्ड जस्ता गद्दारहरूलाई पनि समयले एक दिन एम्बुसमा पार्ने नै छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका