मानव, प्रकृति र खुर्सानीसँगैको यात्रा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
266 Shares
काठमाडौं

झट्ट हेर्दा र सुन्दा खुर्सानी आम मानिसका लागि सामान्य लाग्न सक्छ । दैनिक रूपमा प्रत्येक घरको भान्सामा प्रयोग हुने खुर्सानीका रङ पनि सामान्य नै लाग्न सक्ला । तर त्यही खुर्सानीमा लुकेका हाम्रा आदिम संस्कृति, सभ्यता, इतिहास, रङमा मानव र प्रकृतिबिचको सम्बन्धहरू के–कति छन् त, तिनै पक्षलाई एक दशकभन्दा लामो समयदेखि बिम्बात्मक रूपमा अर्थ खोतल्दै छिन्, चित्रकार सरिता डङ्गोल ।

तिनै खुर्सानीका अर्थहरू बोकेका दुई दर्जन कलाकृतिहरू यति बेला ललितपुर पाटन कोबहालस्थित ‘नेवाछे’ आर्ट ग्यालरीमा प्रदर्शन छन् । मल्लकालीन भवनमा रहेको ग्यालरी कोरोना महामारीअघि देखि नै बन्द रहेको थियो । डङ्गोलको अग्रसरतामा नै स्थापना गरिएको ग्यालरी उनैको कला प्रदर्शनीसँगै पुनः सुचारु गरिएको हो । डङ्गोलको तीन दशकभन्दा लामो समयको कला यात्रामा झन्डै बिच बाटोमा ‘खुर्सानी’ उनको अगाडि विम्ब बनेर उभिइदियो । त्यसैमा उनले आफ्नो बाल्यकाल, आमासँग जोडिएका स्मरण, खानासँगै मिसिएको संस्कृति, इतिहास र पारिवारिक रुमलाई नजिकबाट देखिन् । ३१ वर्षको कला सिर्जनामा उनको सुरुवाती चरण प्रकृतिमा केन्द्रित थियो । रुखहरूमा नै उनले प्रकृति, मानवीय स्वरूप र संवेदनालाई नियाल्दै गइन् ।

दश वर्ष अघि कलामै स्नातकोत्तर गर्ने क्रममा भने उनले खुर्सानीलाई विम्ब बनाएर आफ्नो अर्को यात्रा तय गरिन् । ‘मलाई मेरो आमाले खानासँगै राखिदिनुभएको सानो खुर्सानी अझै सम्झना छ’, उनले भनिन्, ‘खाना वा कुनै वस्तुमा खुर्सानी राखेमा कसैको आँखा लाग्दैन भन्ने मान्यता अझै छ । खाँदा पनि मुख च्वास्स हुने बेग्लै खुर्सानीको स्वादले मलाई भित्रसम्म छोएको छ ।’  उनका अनुसार सांस्कृतिक, मानवीय एवं प्राकृतिक सबै कोणबाट खुर्सानीको परिभाषा र अर्थ लगाउन सकिन्छ । हरिया र राता खुर्सानीका रङ तथा आकारहरूमा अझ उनी त मानव रूपहरू र त्यसैमा बोलिरहेका प्राण भरिदिन्छिन् । ‘ किचेनमा खाना बनाइरहँदा पनि म खुर्सानीकै आकार र रङहरू हेरिबस्छु अनि तिनीहरूसँगै मनबाट कुरा गरिरहेको र तिनीहरू पनि मसँगै छन् भन्ने लाग्छ’, उनले खुर्सानीसँग जोडिएका आत्मीयताबारे जोडिन् । भान्सामा आइपुगेका खुर्सानीहरू पहिलो दिन राता र हरिया ताजा हुन्छन् । त्यसपछि क्रमशः तिनीहरूका रङ, आकारमा परिवर्तन हुँदै जान्छन्  अन्त्यमा चाउरिएर कुहिएर जान्छन् । खुर्सानीको यिनै चक्रलाई डङ्गोल मानिसको जीवन यात्रासँग तुलना गर्छिन् । उनले कुराकानीकै क्रममा थपिन्,‘मान्छेको लाइफ पनि त यही नै हो नि । सुरुमा जवान र राम्रो हुन्छ, पछि उमेर ढल्किँदै बुढो भएर मृत्यु हुन्छ ।’ मानव र खुसार्नीको जीवनलाई फेरि उनी रङ र कुचीको सहायताले क्यान भासमा उतार्छिन् र सन्तुष्टिको सास लिन्छिन् । त्यही विम्बमा हरिया रङहरू पोतेर पुन प्रकृतिको काखमा रमाउन पुग्छिन् । ‘सायद यही नै त होला कला र कलाकारको जीवनचक्र’, उनी मनमनै गम्छिन् ।

प्रदर्शनीमा प्रदर्शनरत डङ्गोलका चित्रहरूमा खुर्सानीसँगै खोकना र नेवारी सभ्यता तथा संस्कृतिका झलकहरू समेत अवलोकन गर्न सकिन्छ । अझ पछिल्लो समयमा उनका चित्रहरूमा खुर्सानीसँगै शाहकालीन समयका मुद्रा, मुकुन्डो र मौलिक संरचनाहरू इङ्गित छन् । महामारीको समयमा पनि मास्क र कोरोना भाइरसको रुमलाई खुर्सानीसँगै प्रतिबिम्बित गरेकी थिइन् । कलाकार भएपछि समकालीन समय र जुनसुकै भावले पनि छोएर त्यही विषय सिर्जनामा देखिने उनले बताइन् । प्रदर्शनीमै रहेको एउटा चित्रमा उनले तीन वटा लामो रातो खुर्सानीका चित्रहरूमा एउटा अलग्गै र दुई वटा सँगै देखाएकी छन् । अलग्गै रहेको आफू र सँगै रहेका दुई वटा भाइबहिनीका रूपमा चित्र कोर्दै जाँदा सिर्जना भएको उनको भनाई छ । उनले प्रस्ट्याइन्,‘मेरो भाइ र बहिनी मभन्दा टाढा बाहिर छन् । म यता एक्लो भएको महसुस भएर यस्तो चित्र बनेछ । पछि पो थाहा पाएँ ।’

लामो समयदेखि खुर्सानी नै विम्ब बनाए पनि प्रत्येक समय र अवस्था अनुसारका कलाकृतिहरू अलग–अलग रहेको उनको धारणा छ । समकालीन कलामा समय र पुस्ता अनुसार कलाकार पनि गतिशील भएर नै कला सिर्जना हुने उनको मत छ । स्रष्टाले भोगेको कुरा प्रत्यक्ष रूपमा सिर्जनामा देखिने उनकै कलाहरूमा पनि प्रस्ट देखिन्छ । समयको प्रभावसँगै उनका खुर्सानीका विम्बहरू भोलि गएर अर्कैमा मिसिन्छन् या परिवर्तित हुन्छन्, उनी आफैँलाई पनि थाहा छैन । यद्यपि प्रकृति, मानव, समाज र संस्कृतिकै सेरोफेरोमा आफ्नो सिर्जना जारी रहने कुरामा उनी विश्वस्त छिन् ।

डङ्गोलको यो १५ औँ एकल प्रदर्शनी हो । यसअघि उनले जापान, फ्रान्स, अस्ट्रेलिया लगायतका देशहरूमा आफ्नो कला प्रदर्शनी गरिसकेकी छन् । उनी हिमालयन कलेज अफ इन्जिनियरिङमा कला प्राध्यापनसँगै क्लासिक आर्ट ग्यालरीकी सञ्चालक पनि हुन् । उनले बालबालिका तथा फरक क्षमता भएकाहरूलाई पनि कलामार्फत सक्रियता बढाउने कार्य गरिहेकी छन् । उनको हालको कला प्रदर्शन भने फागुन २१ गतेसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका