नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिको श्रीवृद्धिका लागि लामो समयदेखि लागिपरेको नई प्रकाशनले तीन कृति लोकार्पण गरेको छ ।
बिहीबार बानेश्वरस्थित वानीरा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँ, मोदनाथ प्रश्रित लगायतकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’, वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईँको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईँबाट लिखित ‘मोदनाथ प्रश्रित : भुईँदेखि शिखरसम्म’ नामक जीवनी कृतिहरूको लोकार्पण गरे ।
‘नइ र मेरो शताब्दी’ नामक कृतिका सम्पादन जोशीका जेठा छोरा अणुराज जोशीले गरेका हुन् । उक्त कृति आफ्ना बुबाको अन्तिम रचना भएको उनले बताए । वानीरा फाउन्डेसन भवनमा सम्पन्न भएको कार्यक्रममा इन्जिनियर शङ्कर गिरी र फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले संस्था र सिर्जनाबारे आ–आºना धारणा राखेका थिए ।
नेपाली साहित्यका अग्रज विश्व नारी रत्न स्रष्टा वानीरा गिरीको स्मृतिमा गत वैशाखमा फाउन्डेसन स्थापना गरिएको हो । इन्जिनियर गिरीले आफ्नी दिवङ्गत श्रीमती वानीराप्रतिको प्रेमलाई अजर–अमर बनाउन उनका नाममा घर, जमिन र अक्षय कोष गरी झन्डै साँढे पाँच करोड रुपैयाँ“ राशिको फाउन्डेसन निर्माण गरेका हुन् । फाउन्डेसनको भवन अगाडि दिवङ्गत गिरीको पूर्ण कदको ढलोटको सालिक समेत स्थापना गरिएको छ । फाउन्डेसनमा गिरीका कृति र जीवनकालभरि प्रयोग गरिएको सामग्रीहरू समेत सङ्कलन गरी सङ्ग्रहालयका रूपमा राखिएका छन् । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको सङ्ग्रहालय ‘वानीरा फाउन्डेसन’ नै पहिलो मानिन्छ । पूर्व कुलपति काइँलाले फाउन्डेसनमा रहेको गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरे पश्चात् कार्यक्रम शुभारम्भ गरिएको थियो ।