नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नवगठित प्राज्ञ सभाले ललितकलाको सिर्जनासँगै कला लेखन तथा कला पत्रकारितालाई प्रभावकारी बनाउन सुरुवाती समयमै अभिमुखीकरण कार्यक्रममा जोड दिने भएको छ ।
बिहीबार नक्सालस्थित प्रतिष्ठानमा कुलपति, सदस्यसचिव, प्राज्ञ सभा परिषद् लगायत कला लेखक तथा कला पत्रकारहरूबिच गरिएको अन्तरक्रिया कार्यक्रममा नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकास र विस्तारका लागि सर्वप्रथम अभिमुखीकरण कार्यक्रमकै लागि प्रतिष्ठान लागिपरेको बताए ।
‘कुन काम कसरी अगाडि बढाउने भनेर हामीले सुरुमा प्रि स्टडी गर्न जरुरी छ’, उनले भने,‘सुरुमै प्रतिष्ठानको कार्य योजना, आन्तरिक प्रशासनमा अध्ययन गरेर अभिमुखीकरण कार्यक्रम गर्ने हामीले सोचेका छौँ । त्यसैको लागि हामी तपाईंहरुसँग छलफलमा जोडिएका हौँ ।’
प्रतिष्ठानले तत्काल नै राष्ट्रिय ललितकला प्रदर्शनी, त्यसका लागि संरचना, योजना बनिरहेको उनले सुनाए । अहिलेको अवस्थालाई भर्खरै र्याल ढोका खोलिएको मात्र सङ्केत गर्दै उनले आगामी दिनमा कार्यक्रम, योजना र निर्माणमा चर्चा तथा समीक्षा जारी रहने जानकारी दिए ।
सहभागी कला लेखक तथा पत्रकारहरूले ललितकला पत्रकारिता र लेखनको अवस्था निकै सुस्त रहेको सुनाए । मूलधारका मिडियामा ललितकला समाचारले प्राथमिकता नपाइरहेको हालको अवस्थामा कला पत्रकारलाई कला बिटमा पेसालाई निरन्तरता दिन कठिनाइ रहेको गुनासो गरे । यी सबै समस्याको सम्बोधन गर्दै प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काºले (थुम्केली) ले ललितकला लेखन विस्तारका लागि प्रतिष्ठानले कलाका समाचार अर्काइभ, लेखन वृद्धि तथा लेखन अनुसन्धानमा सहजीकरण र समन्वय गर्ने बताए । उनका अनुसार प्रतिष्ठानले अब कलाको जर्नल समेत प्रकाशित गर्ने भएको छ ।
प्रतिष्ठानले यस पटकको राष्ट्रिय ललितकला प्रदर्शनी भने २०८० साल जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ । प्रतिष्ठानले हरेक वर्ष वैशाख २ गते प्रदर्शनी गर्दै आए पनि यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर कार्यक्रम तय गरेको हो ।