भक्तपुर क्षेत्र नं. २ का सङ्घीय सांसद दुर्लभ थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताएका छन् ।
बाल तथा युवा सरोकार नेपालले हालै आयोजित गरेको एसिड आक्रमण तथा अशक्तताका बाबजुद सक्षम बालबालिकाहरूको सम्मानमा सांसद थापाले समाजलाई रूपान्तरण गर्न सके मात्र हिंसाका घटना अन्त्य हुने र समाजमा अशक्तलाई हेर्ने नजर परिवर्तन हुने बताएका हुन् ।
थापाले राज्यले कानुन बनाएर समाजमा एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
‘कानुन मार्फत समाजमा हुने हिंसाका घटनालाई नियन्त्रण गर्नुपर्छ’, थापाले भने,‘साथै अशक्त सबैलाई सक्षम र सबल बनाउने अभियानका साथ ऐन कानुन‚ नीति नियम बनाउन पहल गर्छु ।’
हाम्रो जस्तो सामाजिक परिवेशमा एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूले जसरी समाजमा सङ्घर्ष गरिरहेको छ, त्यो अत्यन्त बहादुरीपूर्ण र साहसी कार्य भएकोले सबैले उनीहरूप्रति सम्मान राख्नुपर्ने सांसद थापाले धारणा राखे ।
कार्यक्रम एसिड आक्रमणमा परेकी जेनी खड्काले एसिड आक्रमणमा परेकाहरू पीडित नभएको धारणा राख्दै उनीहरू पनि यही समाजमा सक्षम सरह जीवनयापन गरिरहेको बताइन् । उनले सार्वजनिक रूपमा एसिड आक्रमणमा परेकाहरूलाई हेर्ने नजर परिवर्तन हुनुपर्नेमा जोड दिँदै समाजमा दया मायाको भावले गरिने व्यवहारले उनीहरूमा मनोवैज्ञानिक असर पर्ने गरेको बताइन् ।
एसिड आक्रमणकारीलाई मानवीय संवेदनाहीन आततायी मानिसको संज्ञा दिँदै संस्थाका अध्यक्ष प्रमोद पौडेलले भने‚ ‘उच्च शिक्षा हासिल गर्नुका साथै समाजमा केही गरेर देखाउने अठोटका साथ सङ्घर्षरत एसिड आक्रमणमा परेका र शारीरिक रूपमा अशक्तहरूलाई प्रेरणाको स्रोतको रूपमा सम्मान गरिएको हो।’
यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्य विनायक नगरपालिका वडा नं. ५ का स्थानीय समाजसेवी राजेश तज लगायतले सुन्दरतालाई बाहिरी आवरणले होइन भित्री आवरणले मापन गर्नुपर्छ भन्ने उदाहरण एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्त भएकाहरूले दिएको चर्चा गरेका थिए ।