दोलखा र रामेछाप जिल्लाको सङ्मस्थल प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा निर्मित ‘शैलुङ ज्याङ्छयुब छ्योर्तेन (बोधि चैत्य) ’को भव्य समारोहबिच प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ ।
फागुन १७ गते बिहीबार प्रमुख अतिथि एवं लामा धर्मगुरु प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछेद्वारा धार्मिक विधि ह्राब्ने (शुद्धीकरण तथा प्राणप्रतिष्ठा) सम्पन्न गरी छ्योर्तेनको उद्घाटन गरिएको हो ।
समुन्द्री सतहदेखि ३१४५ मिटरको उचाइमा निर्मित छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा विशेष अतिथि टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको उपस्थिति रहेको थियो ।
यस्तै विशिष्ठ अतिथिहरूमा नेपाल बौद्ध महासङ्घका धर्म गुरु कमल भण्डारी, धर्म गुरु ङाक्पा पेमा राङडोल, लोपेन सोनाम र सर्वाजित गोङ्बाको उपस्थिति रहेका थिए ।
शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा सम्पन्न भएको हो । शुद्धीकरण तथा प्राण प्रतिष्ठा पछि छ्योर्तेन पूजा गर्न तथा दर्शनीय गरिएको थियो ।
छ्योर्तेनको उद्घाटन समारोहमा दोलखा र रामेछाप जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, लामा, ताम्बा, बोन्पोलगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।