दोलखाको सदरमुकाम चरिकोटमा दोलखा महोत्सव सुरु भएको छ । महोत्सव उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार : समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ सदरमुकाम टुँडिखेलमा महोत्सव भएको हो ।
चेम्बर अफ कमर्स दोलखाद्वारा आयोजित महोत्सव टुँडिखेलमा फागुन २७ गतेसम्म चल्नेछ ।
२०७६ सालयता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काइ आर्थिक चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको कमर्स दोलखा उपाध्यक्ष रुद्र बुढाथोकीले बताए ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिनेछ ।
महोत्सवमा अपर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंचडी प्रतियोगिता पनि हुने आयोजक पक्षले जनाएको छ ।
उद्घाटन समारोहमा पूर्व मन्त्री‚ सांसद‚ नगरपालिका तथा पालिकाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।